मेलमिलाप नीतिको सान्दर्भिकता

सात वर्षको भारत प्रवासपछि १६ पुस ०३३ सालमा स्वदेश फर्कंदै गर्दा दूरदर्शी राजनेता बिपी कोइराला विरुद्धका सातवटा संगीन मुद्दाहरू अदालतमा विचाराधीन थिए । सातमध्ये जुनसुकै मुद्दा हार्दा पनि तत्कालीन कानुनअनुसार बिपीमाथि फाँसी हुनसक्थ्यो । प्रवासमा बसेर आफ्नो जीवन सुरक्षा गर्नुभन्दा फाँसीको सम्भावनालाई आफूले रोज्नुको कारणबारे बिपीले प्रेस विज्ञप्ति निकालेर सार्वजनिक गरे । स्वदेश प्रस्थान गर्नुभन्दा केही घण्टाअघि बिपीले सार्वजनिक गरेको उक्त प्रेस विज्ञप्तिलाई नेपाली कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलापको सिद्धान्तका रूपमा अंगिकार गर्दै आएको छ । पुस १६ गतेको दिनलाई विगत ४३ वर्षदेखि नेपाली कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको रूपमा मनाउँदै आएको छ । त्यही सिलसिलामा नेपाली कांग्रेसले गत सोमबार पनि देशका ७७ ओटै जिल्लामा आफ्ना केन्द्रीय नेताहरूलाई पठाएर धुमधामका साथ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनायो ।

‘राजनीतिक दल तथा शक्तिका आ–आफ्ना लक्ष्य हुन्छन् तर राष्ट्रियतालाई बलियो बनाउनु सबैको साझा लक्ष्य हुनुपर्छ’ भन्ने मान्यताका साथ त्यतिवेला बिपी कोइराला स्वदेश फर्किएका थिए । विश्वका अन्य देशमा यो मान्यता प्रयोगमा आइसकेको थियो । छिमेकी राष्ट्र भारतमा समेत जापानी आक्रमण भएको वेला स्वतन्त्रता सेनानीहरूले आफ्ना गतिविधि रोकेका थिए । त्यसैगरी, अर्को छिमेकी राष्ट्र चीनमा पनि जापानको आक्रमण हुँदै गर्दा कोमिन्ताङ पार्टीले निरंकुश राजतन्त्रलाई साथ दिएको थियो । निरंकुश राजतन्त्रको पतनपछि कोमिन्ताङ पार्टीको सरकारले जापानी आक्रमणको प्रतिकार गर्न कम्युनिस्ट पार्टीका जनमुक्ति सेनाको साथ लिएको थियो । राष्ट्रियता संकटमा पर्दा सबै शक्ति एकजुट भएर प्रतिकार गर्नुपर्छ भन्ने सिद्धान्त विश्वमा नया“ होइन । तर, नेपालका सन्दर्भमा भने बिपी कोइराला नै यो सिद्धान्तका प्रतिपादक तथा प्रयोगकर्ता हुन् ।

तर, नेपाली कांग्रेसबाहेक अन्य सबैजसो पार्टी तथा दलहरूले बिपी कोइरालालाई राष्ट्रिय एकता तथा मेलमिलाप नीतिको प्रवद्र्धकका रूपमा स्वीकार गरेका छैनन् । नेपालको राष्ट्रियता सा“च्चै खतरामा परेका कारण बिपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्केका हुन् या आफ्नो पार्टीले अघि बढाएको सशस्त्र संघर्ष हारमा परिणत हुन लागेपछि सुरक्षित अवतरण गर्न खोजेका हुन्, अथवा आत्मसमर्पण गरेका हुन् ? भन्ने विषयमा नेपाली कांग्रेस इतरका दलहरूमा बहस जारी छ । व्याख्या पनि आ–आफ्नै किसिमको छ । तर, बिपी कोइरालाले अत्यन्त सही निर्णय लिएका रहेछन् भन्ने कुरामा चाँही डा. बाबुराम भट्टराईले नेतृत्व गरेको जनशक्ति पार्टीबाहेक कुनै पनि दलको विमति देखि“दैन । डा. भट्टराईले भने बिपी कोइरालाको यो कदमले राजतन्त्रको आयु लम्बिएको विश्लेषण गर्ने गरेका छन् । डा. भट्टराईको यो तर्कलाई बिपी कोइरालाका पछिल्ला लेखहरूले पनि पुष्टि गर्छ । बिपीले भनेका छन्, ‘हामी राजतन्त्र फाल्न सहयोग गर्छौं, तपाईं छिटै राष्ट्रपति बन्नु हुनेछ भनेर कतैबाट प्रस्ताव आएको थियो तर राजतन्त्रसँगै राष्ट्रियता फालिने संकेत देखेपछि उनीहरूको प्रस्ताव अस्वीकार गर्दै स्वदेश फर्किएको हुँ ।’ त्यतिवेला विश्वमा अमेरिका र सोभियत संघ एक आपसमा प्रतिस्पर्धी महाशक्ति थिए । विश्वका अन्य शक्ति राष्ट्रहरू एकथरी अमेरिकी ध्रुवमा थिए, अर्काथरी सोभियतसंघको ध्रुवमा थिए । भारतले सोभियत संघको आडमा सिक्किमलाई विलय गराएको थियो भने पाकिस्तानलाई टुक्र्याएको थियो । पाकिस्तानको छिमेकी मुलुक अफगानिस्तानमा सोभियत संघको हस्तक्षेपका लागि भारतले रातो कार्पेट बिछ्याइरहेको थियो । सोभियत संघको सहयोगमा भारतले कुनै छिमेकी निल्दै गर्दा मुकदर्शक भएर बस्न अर्को महाशक्ति राष्ट्र अमेरिका बाध्य थियो । नेपालमा भारतमार्फत सोभियत कम्युनिस्ट गतिवधि तथा संगठन बलियो हुँदै गएको थियो । यो परिस्थितिमा भारतमा बसेर संघर्ष गर्दा राजालाई घुँडा टेकाउन सकिए पनि राष्ट्रियता बचाउन नसकिने निष्कर्षमा बिपी पुगेका हुन् । बिपीले त्यतिवेलाको परिस्थितमा अघि सारेको राष्ट्रिय एकता तथा मेलमिलापको नीति कति दूरदर्शीपूर्ण रहेछ भन्ने कुरा यतिवेला पुष्टि हुँदै गएको छ । जनआन्दोलन ०६२–६३ को सफलतापछि अन्तरिम संविधानको घोषणा भएको भोलिपल्ट एक्कासि मधेसी आन्दोलन चर्कियो । ‘एक मधेस एक प्रदेश’को माग स्वीकार गर्न तत्कालीन सरकार तथा राजनीतिक दलहरू बाध्य भए । यो माग भारतको इसारामा आएको भन्दै भारतसँग नै वार्ता गरेर सुल्झाउने तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सार्वजनिक रूपमै बताएका थिए । संविधानसभाद्वारा संविधान लेख्ने क्रममा भारतबाट के–कस्ता शर्त अघि सारियो र ती शर्त नमानेबापत नेपालमाथि के सम्म गरियो ? भन्ने कुरा सबै छर्लंग नै छन् । यदि, यतिवेला शितयुद्ध ताकाको जस्तै अन्तर्राष्ट्रिय समीकरण कायम रहेको भए नेपालको राष्ट्रियता रहन्थ्यो होला ? यो प्रश्नको उत्तर कल्पना गरेर मात्रै बिपी कोइरालाले अघि सारेको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिबारे विश्लेषण गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया