धरौटी सकिँदा बिमानस्थल बन्द

पर्वत । देश संघीय संरचनामा गएसँगै बिकासको स्तर बढाउन २६ वर्षदेखि बन्द भएको बागलुङको बिमानस्थल केही महिना सञ्चालनमा आएर पुनः बन्द हुन पुगेको छ ।

बागलुङ नगरपालिकाले विमानस्थलमा जहाज उडाउन नेपाल एयरलाइन्स र तारा एयरमा बुझाएको धरौटी रकम सकिएपछि दुवै कम्पनीले सेवा स्थगित गरेका छन् । गत चैतदेखि पुनः सञ्चालनमा आएको हवाइ सेवा अहिले बन्द भएको छ ।

उडानका क्रममा अपुग भएका यात्रुको भाडा नगरपालिकाले नै बेहोर्ने गरी दुई वटा वायु सेवा कम्पनीसँग नगरपालिकाले सम्झौता गरेको थियो । सम्झौता अनुसार नगरपालिकाले यात्रुको भाडा धरौटीका लागि नेपाल एयरलाइन्सलाई अग्रिम रूपमा १० लाख रुपैयाँ बुझाएको थियो । तर, प्रत्येक उडानमा कोटाअनुसार यात्रु नपुग्दा सम्झौताअनुसार अपुग यात्रीको भाडा धरौटी रकमबाट कटाउँदा अहिले ४८ हजार रुपैयाँ मात्र बाँकी रहेको छ ।

नेपाल एयरलाइन्सले बाँकी रहेको धरौटी रकमले जहाज उडान गर्न नसकिने र नयाँ सम्झौता गरे मात्र उडान भर्ने सक्ने बताएपछि गत असोजदेखि उडान रोकेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । यस्तै, अर्को एयरलाइन्स तारा एयरले भने गत साउनदेखि नै उडान भर्न छाडेको छ ।

बलेवा विमानस्थल मध्यपहाडी लोकमार्गको मालढुंगाबाट सात किलोमिटरको कच्ची सडक दुरीमा रहेको छ । २०१६ सालदेखि तीन वर्ष लगाएर स्थानीयको प्रयासमा विमानस्थल निर्माण भएको थियो । विमानस्थल १ हजार १ सय मिटर लामो छ । ०१८ सालदेखि नियमित सञ्चालनमा आएको विमानस्थल ०४८ सालमा पोखरा–बागलुङ राजमार्ग बनेपछि बन्द भएको थियो ।

प्रतिक्रिया