काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको माग उठेको छ ।
बैठकमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमाथि आइतबारदेखि जारी छलफलमा बोल्ने अधिकांश नेताहरुले सरकारको काम प्रभावकारी नभएको आरोप लगाएका छन् ।
बुधबारको बैठकमा स्थायी कमिटी सदस्य रघुजी पन्तले मन्त्रिपरिषद् पुनर्गठनको माग गरेका छन् । सरकार जन अपेक्षाअनुसार गतिशील नभएको भन्दै प्रधानमन्त्रीले बोलेका र निर्णय गरेका कतिपय विषय पुनर्मूल्यांकन गर्नुपर्ने बेला भएको बताएका छन् ।
‘सरकारका कतिपय मन्त्रीहरु विवादित र काममा सक्षम नदेखिएकाले उनीहरुलाई हटाएर मन्त्रिपरिषद पुनर्गठन गर्नु पर्ने पन्तको सुझाव छ । नेता पन्तले बैठकमा भने, आफ्नो मन्त्रिपरिषदका सदस्यले के कस्ता काम गरेका छन् त्यसको मूल्यांकन गर्ने र फेर बदल गर्ने प्रधानमन्त्रीको अधिकार भएको उनले बताएका छन् ।
बैठकका आफ्नो धारण राख्ने क्रममा नेता पन्तले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहत तान्ने, ठूला ठेक्कापट्टा आफैं दिने जस्ता काम नगर्न सुझाव दिएका छन् । राष्ट्रिय अनुसन्धानलाई हटाएर गृह मन्त्रालयलाई काम गर्न समस्या हुने भन्दै उनले प्रधानमन्त्रीले मन्त्रीहरुलाई सक्रिय बनाउने हो, उत्तरदायी बनाउउने पर्ने बताए । उनले सबैथोक आफूमा थुपारेर कार्यबोझ बढाउन नहुने सुझाव समेत दिएका छन् ।
नेता पन्तले प्रधानमन्त्री पार्टी अध्यक्ष पनि बन्नु हुँदैन भनेर आएको प्रस्तावको भने विरोध गरे । प्रधानमन्त्रीलाई कमजोर पार्ने काम गर्न नहुने भन्दै उनले भनेका छन् । प्रधानमन्त्रीले आफ्नो कमजोरी सच्याउनुपर्छ र गुटबाट माथि उठ्नुपर्छ ।
प्रतिक्रिया