सिएमसीले मेलम्ची छाड्यो

काठमाडौं । टाट पल्टिएको घोषणा गरेको इटालियन ठेकदार कम्पनी सिएमसीले निर्माणाधीन मेलम्ची खानेपानी आयोजना छाडेको स्वघोषणा गरेको छ । कम्पनीले मेलम्ची खानेपानी आयोजना र विकास समितिलाई पत्र लेखे पनि त्यो बुझ्न इन्कार गरेका छन् ।

मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना सुरुङमार्ग निर्माणमा संलग्न ठेकेदारको राहदानी नियन्त्रणमा लिएपछि आयोजनाको भित्र विवाद सतहमा आएको छ । मेलम्ची खानेपानी विकास समितिले सिएमसीको अढाई अर्ब रुपैयाँ धरौटी रोक्का राख्न स्टयान्डर्ड चार्टर बैंकमा पत्रचारसमेत गरेको छ ।

सिएमसीका प्रोजेक्ट म्यानेजर क्रिस्चियानो ग्रेचोसहित आठ कर्मचारी भाग्ने क्रममा आइतबार राति काठमाडौंको ठमेलबाट समातिएका थिए । उनीहरू समातिएसँगै विकास समिति र खानेपानी मन्त्रालयले उसको धरौटी रोक्का राख्न अग्रसरता देखाएका हुन् ।

प्रधानमन्त्री कार्यालयले टाट पल्टिएको कम्पनीमाथि कारबाही कानुनसम्मत हो या होइन भन्नेबारे जानकारी लिइरहेको बताएको छ । सिएमसी कम्पनी आफैंले केही समयअघि टाट पल्टिएको सूचना सार्वजनिक गरेको जानकारीमा आएपछि त्यसबारे सरकारले खोजीनीति सुरु गरेको थियो ।

इटालीस्थित अदालतले सिएमसीलाई साधारण प्रशासनिक काम मात्र गर्न आदेश दिएको छ । केही समयअघि सिएमसीले एक अर्ब भुक्तानी आदेश मागेको थियो । तर, मेलम्ची विकास बोर्डले ३६ करोड रूपैयाँ भुक्तानी दिने निर्णय गरेको थियो ।

कम रकम भुक्तानी आदेशपछि सो कम्पनीले ठेक्का सम्झौता रद्ध गर्न विकास समितिलाई पत्राचार गरेको थियो । सिएमसी भाग्न खोजेपछि मेलम्ची खानेपानीको थप काम कसरी अगाडि बढाउनेबारे पनि अन्योल छाएको छ ।

मेलम्चीको अपुरो काम कसरी पूरा गर्नेबारे परामर्श भइरहेको खानेपानी मन्त्रालयले जानकारी दिएको छ । ठेक्का सम्झौता रद्द भए पनि कानुनतः नयाँ ठेक्का आह्वान गर्नुपर्ने हुन्छ । मेलम्चीको बाँकी काम पूरा गर्न नेपाली सेनालाई जिम्मा दिने मनस्थितिमा खानेपानी मन्त्रालय पुगेको स्रोतले दाबी गरेको छ । तथापि, यसबारे मन्त्रालय निष्कर्षमा पुगिसकेको छैन ।

सिएमसी इटालीको प्रसिद्ध निर्माण कम्पनी हो । सय वर्षभन्दा अगाडि स्थापित यो कम्पनीले मुख्यतः यातायात, खानेपानी तथा सिँचाइ, बन्दरगाह, रेल्वेजस्ता भौतिक पूर्वाधार र परियोजनाहरूमा काम गर्दै आएको छ । सन् २०१७ मा यो कम्पनीको वार्षिक आय करिब १५ अर्ब डलर थियो ।

योमध्ये ७५ प्रतिशत आय कम्पनीले विदेशमा काम गरेर आर्जन गरेको थियो । सन् १९७५ देखि इटालीबाहेक विदेशी मुलुकहरूमा समेत यो कम्पनीले काम गर्दै आएको हो । यसमा ६ हजार ९ सय कामदार छन् ।

मेलम्चीको सुरूङ ढलान एक किलोमिटर बाँकी छ । कंक्रिट लाइनिङको काम ९ सय ६० मिटर बाँकी छ । इन्टेकको काम पनि पूरा भएको छैन । हाइड्रो मेकानिकल गेट बन्द गर्ने काम भइसकेको छैन । यी सबै काम सम्पन्न गर्न झण्डै चैतसम्म लाग्ने खानेपानी मन्त्रालयले जनाएको छ ।

मुख्य ठेकेदार नै भागेपछि अब मेलम्चीको योजना फेरि अनिश्चित भएको छ । चिनियाँ कम्पनीले समयमा काम गर्न नसकेको भन्दै सरकारले इटालियन कम्पनी सिएमसीलाई जिम्मा लगाएको थियो ।

यता, सिएमसीले तनहुँ जलविद्युत् आयोजनाको पनि ठेक्का लिएको थियो । सो ठेक्का उसले २० अर्ब ६४ करोड ५२ लाखमा पाएको छ । १४० मेगावाटको तनहुँ हाइड्रोपावर गत असोज १५ मा सिएमसीसँग सम्झौता भएको हो । तनहुँ हाइड्रोपावर लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक प्रदीपकुमार थिके र सिएमसीका तर्फबाट आधिकारिक प्रतिनिधि साल्भाडोर कास्कियरले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

सिएमसी मेलम्चीबाट भागेसँगै तनहुँ जलविद्युत् आयोजनाको सम्झौता के हुने भन्ने अन्यौल छाएको छ । यस्तै ६८ मेगावाटको सोलु–दूधकोसी जलविद्युत् आयोजनामा सिएमसीले इन्जिनियरिङ, खरिद र निर्माणको जिम्मा लिएको थियो । निजी क्षेत्रबाट निर्माण गर्न लागिएको आयोजनामा सिएमसीले ८ अर्बको ठेक्का पाएको थियो । अबको ३ वर्षभत्र निर्माण सक्ने लक्ष्य रहे पनि यो आयोजनासमेत अन्योलमा परेको छ ।

८ कर्मचारी प्रक्राउ

क्रिसमस डे मनाउने बहानामा कार्यक्षेत्र छाडेर काठमाडौं आएका ८ जना विदेशी कर्मचारी समातिएका छन् । आयोजना निर्माणको ठेक्का लिएको इटालियन कम्पनी सिएमसीका कर्मचारीहरू भाग्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिइएको हो । आइतबार राति ठमेलको एक रेस्टुरेन्टबाट नियन्त्रणमा लिएर खानेपानी मन्त्रालयको जिम्मा लगाएको छ ।

‘उनीहरू ठमेल एरियामा हुनसक्ने भन्दै निगरानी गरिदिन मन्त्रालयबाट खबर आएपछि लोकेट गरिदिएका हौं’ महानगरीय प्रहरी वृत्त, दरबारमार्गका प्रमुख डिएसपी दानबहादुर मल्लले भने, ‘हामीले मन्त्रालयकै जिम्मा लगाएका छौँ ।’

यसअघि एक जना कर्मचारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागमनले रोकेपछि अन्य कर्मचारी भाग्ने सूचना उनले दिएका थिए । सोही सूचनाका आधारमा प्रहरीले अन्यलाई पनि प्रक्राउ गरेको हो । कम्पनीको स्थिति नाजुक बन्दै गएपछि आफूहरू स्वदेश भाग्न खोजेको पक्राउ परेकाहरूले समेत स्वीकार गरिसकेको प्रहरीको दाबी छ ।

प्रतिक्रिया