काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनक्रान्तिका शहीदको सपना पूरा गराउन आफ्नो पार्टी प्रयासरत रहेको बताएका छन् । थारू भाषाको पत्रिका मुक्तिक गर मुक्तिको बाटो को आज आयोजित कार्यक्रममा विमोचन गर्दै उनले शहीद बेपत्ता तथा घाइते योद्धाको सपना पूरा गराउन आफूले कोही कसैसँग पनि सम्झौता गर्न नसक्ने बताए ।
नेपालको समग्र परिवर्तनका लागि शहीदले बगाएको रगत र देखेको सपना केही पूरा भए पनि केही पूरा नभएकाले त्यसलाई पूर्णता दिनु परिवर्तनकारी शक्तिको दायित्व भएको दाहालले उल्लेख गरे । नेपालको संविधानले उत्पीडित जाति तथा समुदायका लागि अधिकार दिए पनि वास्तविक रुपमा ती अधिकार कार्यान्वयनको तहमा समेत पुग्न नसकेको उनको भनाइ छ ।
आफूले विगतमा पनि उत्पीडित जाति र समुदायको पक्षमा लडेको र संविधानमा उनीहरुको अधिकार स्थाािपत गर्न लागिपरेको भन्दै केही बाँकी रहेका विषयलाई संविधान संशोधनमार्फत पूरा गर्न सकिने अवस्था रहेको अध्यक्ष दाहालको भनाइ छ ।
जनयुद्धको समयमा सबैभन्दा बढी त्याग र बलिदान थारू समुदायले गरेको स्मरण गर्दै उनले सो समुदायको अधिकारको पक्षमा अहिले पनि आफू र आफ्नो पार्टी रहेको बताए । थारू समुदायका अगुवा एवं शहीद जोखन चौधरीले सम्पादन गर्नुभएको उक्त पत्रिका विगतमा बन्द भए पनि हाल पुनः प्रकाशन शुरु गरिएको उपलक्ष्यमा आज विमोचन गरिएको हो ।
प्रतिक्रिया