बार्सिलोना विजयी

एजेन्सी, इस्पान्योल । कप्तान लियोनेल मेस्सीको उत्कृष्ट प्रदर्शनसँगै स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोनाले इस्पान्योललाई ४–० को फराकिलो गोलअन्तरले पराजित गरेको छ । मेसीले दुई गोल गर्दा लुइस स्वारेज र औसमान डेम्बेलेले समान एक९एक गोल थपे ।

मेस्सीले दुवै गोल फ्रिकिकमा गरेका थिए । इस्पान्योलको मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनाले खेलको १७औं मिनेटमा कप्तान लियोनेल मेस्सीको गोलबाट खेलमा अग्रता बनाएको थियो । २६औं मिनेटमा डेम्बेलेले मेस्सीको पासलाई गोलमा परिणत गर्दै बार्सिलोनालाई खेलमा २–० को अग्रता दिलाए ।

४५औं मिनेटमा लुइस स्वारेजले गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमै ३–० को आरामदायी अग्रता बनायो । उनले डेम्बेलेको पासलाई सदुपयोग गरेका थिए । ६५औं मिनेटमा मेस्सीले टिमका लागि चौथो तथा व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४–० को फराकिलो जित दिलाए । जितपछि बार्सिलोना १५ खेलबाट ३१ अंक जोडेर लिगको शीर्ष स्थानमा यथावत रहेको छ । स्पान्योल २१ अंकसहित नवौं स्थानमा छ ।

शनिबार राति नै भएको अर्को खेलमा सेभिल्ला भ्यालेन्सियासँग १–१ गोलको बराबरीमा रोकिएको थियो । सेभिल्लाले खेलमा अग्रता बनाएपनि त्यसलाई अन्तिम मिनेटमा बचाउन नसक्दा १–१ गोलको बराबरीमा रोकिन पुगेको हो ।

सेभिल्लाका पाब्लो साराबियाले गोल गर्दा भ्यालेन्सियाका मौकटार डिदावेले इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा बराबरी गोल फर्काएका थिए । बराबरीपछि सेभिल्ला २८ अंकसहित तालिको दोस्रो तथा १८ अंकसहति भ्यालेन्सिया १३औं स्थानमा छ ।

प्रतिक्रिया