‘ए’ डिभिजन लिगः एपीएफ र थ्री–स्टारको सहज जित

काठमाडौं । रूपबहादुर लामाको दुई गोलमा नेपाल एपिएफ क्लबले पल्सर सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत सरस्वती युवा क्लबलाई ३–० ले पराजित गरेको छ । एपीएफले एकतर्फी दबाब बनाएको खेलमा अग्रता लिन भने १८ औं मिनेटसम्म कुर्नु परेको थियो । श्याम नेपालीको कर्नरमा रूपबहादुर लामाले गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए ।
त्यसअघि खेलको पाँचौँ मिनेटमा श्याम नेपालीले अवसरको सदुपयोग गर्न सकेनन् । नवौं मिनेटमा फरवार्ड युवराज खड्काको हेडरले पोस्टको दिशा लिन सकेन । २१ औं मिनेटमा सरस्वतीका रमेश तामाङको फ्रिकिक प्रहारलाई एपिएफका गोलरक्षकले पन्च गरेर बचाए ।

एपीएफका लागि ३० औं मिनेटमा युवराज खड्काको हेडर पोस्टमा लाग्यो । श्याम नेपालीको क्रसमा खड्काको हेडरले गोलरक्षकलाई बिट गरेपनि पोस्ट बाधक बनेको थियो । पहिलो हाफको दुई मिनेट समय बाँकी रहँदा युवराजले अग्रता दोब्बर पारे । उनले एकल प्रयासमा पेनाल्टी क्षेत्र नजिकैबाट गोल गरेका थिए । पहिलो हाफमा एपीएफ २–० ले अगाडी रहयो ।

दोस्रो हाफमा सरस्वतीले खेलमा फर्कने संकेत दियो । सरस्वतीले ५५ औं मिनेटमा खेलमा फर्कने अवसर पाएपनि सदुपयोग गर्न सकेन । मनीष थापाले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार पोस्टमा लागेर फर्केपछि गोलरक्षकले बचाउ गरे । ६९ औं मिनेटमा फेरी सरस्वती अभागी सावित भयो । भिक्टरको प्रहार पोस्टमा लागेर फर्कंदा रिबाउन्डमा विनोद केसीको प्रहारलाई गोलरक्षक अमृत चौधरीले बचाए ।

८१ औं मिनेटमा एपीएफका आशिष लामाले वन भर्सेस वनमा गोल गर्न सकेनन् । खेलको तीन मिनेट समय बाँकी रहँदा रूपबहादुर लामाले श्याम नेपालीको पासको सदुपयोग गर्दै गोल गरे । अन्तिम मिनेटमा एपीएफका युवराज खड्काले दिएको पासमा आशिष लामाको प्रहारलाई ओलुसोला इब्राहिमले गोललाइन नजिकबाट क्लिएर गरिदिए । यस जितसँगै एपीएफको ७ खेलमा ३ जित र १ बराबरीसँगै १० अंक पुगेको छ । सरस्वती भने ७ खेलमा ६ अंकमा नै सिमित छ ।

त्यस्तै रञ्जित धिमालको दुई गोलसँगै रुस्लान थ्री स्टारले ललितपुरे प्रतिद्वन्द्वी जावलाखेल युवा क्लबलाई २९० ले पराजित गर्दै पल्सर सहिद स्मारक ए डिभिजन लिगमा लगातार चौथो जित दर्ता गरेको छ । पहिलो हाफमा दुवै टोलीले सुस्त प्रदर्शन गर्दै उल्लेख्य आक्रमण बुन्न सकेका थिएनन् ।

जावलाखेलले रक्षात्मक रणनीति अपनाउँदै थ्री स्टारको आक्रमणलाई रोकेको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि थ्री स्टारले दोस्रो हाफमा गोल गर्दै जित दर्ता गरेको हो । खेलको ५२ औं मिनेटमा थ्री स्टारले पेनाल्टीको मौका पाएको थियो । सुनिल बलले बक्सभित्र प्रहार गरेको बललाई जावलाखेलका कुलदिप कार्कीले ह्यान्ड गरेपछि थ्रीस्टारले पेनाल्टीको मौका पाएको थियो । जसलाई रञ्जित धिमालले गोलमा परिणत गरे ।

रञ्जितले नै थ्री स्टारको लागि दोस्रो गोल गरे । ६९ औं मिनटेमा रन्जन विष्टले एक्लै बल अघि बढाएको अवस्थामा फल हानेपछि रेफ्रीले कुलदिप कार्कीलाई सिधै रातो कार्ड दिए । त्यसै फलमा प्राप्त फ्रिकिकमा रञ्जितले दर्श्निय गोल गर्दै थ्री स्टारको अग्रता दोब्बर पारे । रञ्जितको जारी सिजन यो छैटौं गोल पनि हो । यस जितसँगै थ्री स्टारले अंक तालिकामा शीर्ष स्थानको मनाङ र संकटासँग बराबर अंक जोडेको छ । ७ खेलमा ६ जित र १ हारसँगै थ्री स्टारले १८ अंक जोडेको छ । मनाङ शीर्ष स्थानमा रहँदा, थ्री स्टार दोस्रो र संकटा तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया