नेपाली सेनाको भर्नामा चरम अनियमितता

काठमाडौं । नेपाली सेनामा विभिन्न पदहरूको भर्नामा अनियमितता भएको पुष्टि भएको छ । सेनाको कोर्ट मार्सलले भर्नामा अनियमितता गर्ने तीन अधिकृतसहित ११७ जनालाई बर्खास्त गरेको छ । उनीहरू सबैलाई सरकारी सेवामा अयोग्य नठहरिने गरी सैनिक अदालतले बर्खास्त गर्ने फैसला गरेको हो । साथै दोषीबाट ३ करोड २२ लाख पचहत्तर हजार रुपैयाँ असुल गर्न पनि आदेश दिएको छ ।

नेपाली सेनामा जनही १ लाखदेखि ५ लाख रुपैयाँसम्म पैसा उठाएर अयोग्य व्यक्तिलाई भर्ती गरेको समाचार बाहिर आएपछि सेनाले आन्तरिक रूपमा छानबिन गरेको थियो । छानबिनका क्रममा भर्ना भएका केही महिला गर्भवती रहेको, केहीका औँलासमेत नभएको र उचाइ नपुगेका तीनलाई पैसा खाएर भर्ती गरेको तथ्य पाइएको थियो ।

०७३ देखि ०७५ सम्म भएका विभिन्न पदको भर्नामा अनियमितता गरेको भन्दै २३ अधिकृतसहित १८७ जनाविरुद्ध कोर्ट मार्सल सुरु भएको थियो । जेष्ठ ६ गते सहायक रथी सीताराम खड्काको अध्यक्षतामा बसेको कोर्ट अफ इन्क्वायरीले उनीहरूविरुद्ध कोर्ट मार्सल सुरु गरेको थियो । उपरथीको अध्यक्षतामा गठन भएको ९ सदस्यीय जनरल समरी सैनिक अदालतले सो मुद्दामा ४ अधिकृतसहित १४ जनालाई सफाइ दिइएको छ भने अरू सबै दोषी सावित भएका छन् । जसमध्ये ११७ जना बर्खास्त, ३७ जनालाई बढुवा रोक्का, १७ जनालाई सचेत र एकजनाको पद घटुवा गरेको छ ।

सैनिक अदालतका अनुसार दुई अन्य दर्जालाई ६ वर्ष कैद, बिगोसहित बर्खास्त, दुई अधिकृतसहित ६ जनालाई ३५ दिनदेखि ३ वर्षसम्म कैद, बिगो र बर्खास्त, एक अधिकृतसहित दुई जनालाई बिगोसहित बर्खास्त र अन्यदर्जाका एकलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गरिएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी, अन्य दर्जाका एकलाई बिगो रकम राजस्व दाखिलासहित ४ वर्ष बढुवा रोक्का, अन्य दर्जाकै ५ जनालाई दुईदेखि ५ वर्ष बढुवा रोक्का, भर्ना हँुदा मापदण्डविपरीत भर्ना भएका १०१ अन्यदर्जालाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त, ३७ अन्यदर्जालाई भर्ना हुँदा आर्थिक लेनदेनमा संलग्न भएकाले ३ वर्ष बढुवा रोक्का गरिएको छ । सैनिक ऐनअनुसार आप्mनो पदीय दायित्व पूरा गर्ने १६ अधिकृतसहित १७ जनालाई सचेत गराइएको छ । ४ अधिकृतसहित १४ आरोपीलाई भने सफाइ दिएको र अन्यदर्जाका एकलाई भर्ना भएको दर्जाबाट घटुवा गरी पहिलाकै दर्जा कायम गरिएको निर्देशनालयले जानकारी दिएको छ ।

प्रतिक्रिया