आत्मानन्द गोल्डकप: चन्द्रगडीको विजयी सुरुआत

राम योङहाङ, इलाम । जिल्लाको माङसेबुङ गाउँपालिकामा आत्मानन्द गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६५ औँ जन्मोत्सवको अवसरमा आत्मानन्द गोल्डकपको ११ औँ संस्करण सुरु भएको हो ।

प्रतियोगितामा बुद्ध स्पोर्ट क्लब चन्द्रगडी झापाले विजयी सुरुआत गरेको छ । शनिबार भएको उद्घाटन खेलमा माङसेबुङ गाउँपालिका खेलकुद समितिलाई टाईब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै चन्द्रगडी विजयी बनेको हो ।
निर्धारित समयमा पूर्व टिमबाट गोलरहित बराबरीमा खेल सम्पन्न भएपछि टाईब्रेकरको आधारमा विजेता निर्धारण गर्नुपरेको थियो । टाइब्रेकरमा चन्द्रगडीका साइमान लिम्बू, कमल खवास, मिलन राई, संजोग धिमाल र सुवास तामाङले गोल गरे । उता माङसेबुङका तर्फबाट भने शेरे लिम्बू, सुसान्त कार्की, आङसाङ साँवा र रोनिस राईले गोल गरे भने इसाम राई गोल गर्नबाट चुकेका थिए ।

खेलको म्यान अफ दी म्याच विजेता चन्द्रगडीका साहीमान लिम्बू घोषित भए । उनले नगद १ हजार ६५ रूपैयाँ प्राप्त गरे ।
प्रतियोगिताअन्तर्गत आइतबार संगम फुटबल क्लब धरान सुनसरी र जलपाईगुडी एफसी भारतबीच प्रतिष्पर्धा हुने आयोजक समितिले जनाएको छ ।

प्रतियोगिताका विजेताले नगद एक लाख ८ हजार ६५ रूपैयाँ तथा उपविजेताले नगद ७५ हजार ६५ रूपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी सर्वाधिक गोलकर्ता, उत्कृठ खेलाडी, उत्कृष्ठ डिफेन्डर र उत्कृष्ठ गोलकिपरले नगद ८/८ हजार रूपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगितामा इलाम, झापा, पाँचथर, ताप्लेजुङ, सुनसरी, धनकुटा, काठमाडौं र भारतका गरी ८ टिमको सहभागीता छ । प्रतियोगितामा माङसेबुङ गाउँपालिका खेलकुद समिति, बुद्ध स्पोट क्लब चन्द्रगडी झापा, खेवाङ स्पोर्टिङ क्लब ताप्लेजुङ, एसएस क्लब काठमाडौं, संगम फूटबल क्लब धरान सुनसरी, जलपाईगुडी एफसी भारत, सयपत्री सर्वोत्तममुखी यासोक पाँचथर, खोक्ताप स्पोर्टिङ क्लब धनकुटाको सहभागिता जनाएका छन् ।

माङसेबुङ ५ स्थित माङसेबुङ खेल मैदानमा संचालित प्रतियोगिताको फाइलन आगामी १७ मंसीरमा हुनेछ । जन्मोत्सवका अवसरमा किरातजन्य विभिन्न खेलकुद प्रतियोगिता समेत सञ्चालन हुनेछ । म्याराथुन, धनुषबाँण, छेलो र लठ्ठा तान्ने खेल संचालन हुने आयोजकका अध्यक्ष मनकुमार आङबुहाङले जानकारी दिए ।

म्याराथुनतर्फ प्रथमले नगद १० हजार १ सय ६५, द्वितीयले ८ हजार १ सय ६५, तृतीयले ५ हजार १ सय ६५ र चौथोले ३ हजार १ सय ६५ रूपैयाँ प्राप्त गर्नेछन् । धनुषकाँडतर्फ प्रथमले २ हजार ५ सय ६५, द्वितीयले २ हजार ६५ र तृतीयले १ हजार ५ सय ६५ प्राप्त गर्नेछ ।

छेलोतर्फ प्रथमलाई २ हजार ५ सय ६५, द्वितीयलाई २ हजार १ सय ६५ र तृतीयलाई १ हजार ५ सय ६५ रूपैयाँ प्रदान गरिने जनाइएको छ । यस्तै लठ्ठा तान्ने खेलतर्फ विजेता र उपविजेतालाई क्रमशः २ हजार ५ सय ६५ र २ हजार १ सय ६५ रूपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया