बैदेशिक रोजगारीको असर कृषिमा : मन्त्री खनाल

काभ्रे । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले युवा जनशक्ति विदेशिँदा नेपालको उर्वर भूमि बाँझो हुन पुगेको बताएका छन । दुई जिल्लामा गरिएको अध्ययनबाट कुल जमिनको ४२ प्रतिशत जमिन बाँझो देखिएको भन्दै त्यसको मुख्य कारण बैदेशिक रोजगारी रहेको मन्त्री खनालको भनाई छ ।

काभ्रेको पात्लेखोलामा रामबहादुर गौतमले सञ्चालन गरेको गाई र तरकारी फामको अवलोकन पछिको कार्यक्रममा बोल्दै मन्त्री खनालले रोजगारीको सिलसिलामा मलेसिया र खाडी मुलुकमा मात्र २० देखि ३५ वर्ष उमेर समूहका २८ देखि ३० लाख युवा विदेशिँदा त्यसको असर कृषि क्षेत्रमा परेको बताए ।

रोगजारी सृजना र आयआर्जमा कृषि सबैभन्दा राम्रो माध्याम हुँदाहुँदै पनि कृषि प्राथमिकतामा पर्न नसके भन्दै उनले गुनासो गरे । जसका कारण आयातमा भर पर्नु परेको उनको भनाई थियो । अहिले एक सय ३५ अर्वको खाद्यान्य आयात हुँदा अलैची, चिया कफि, अदुवा र केही मात्रामा गोलभेडा गरी जम्मा १२ अर्वको मात्र निर्यात भएको जानकारी उनले दिए ।

खेती गरेर पनि फाइदा हुन सक्छ भन्ने निक्कै सानो हिस्सा रहेको र केही गछौं भन्नेहरुसँग श्रम, प्रविधि, जमिनको अभाव रहेकाले कृषकमा निरासा छाएको मन्त्री खनालले बताए । त्यस्ता किसानका लागि अनुदान, तालिम, आधुकिन औजार दिएर कृषिलाई माथि उठाउनु पर्ने उनको भनाई छ ।

मन्त्रालयसँग बजेट थोरै भएर पनि खर्च हुन नसकेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । विगतमा वितरण गरिएको अनुदान खास किसानकोमा नपुगेको छानिवनबाट पुष्टि भएको भन्दै त्यसलाई व्यवस्थित गरिने उनको भनाई छ । अनुदानका बारेमा अध्ययन गर्न बनेको समितिले केही दिनमै अन्तिम प्रतिवेदन सार्वजनिक गर्दैछ ।

त्यस्तै उनले चितवन, पोखरा र विराटनगरमा रहेका दुग्ध कारखाना सञ्चान गर्न सके एक किलो पाउडर दुध पनि आयात गर्न नपर्ने भन्दै छिट्टै सञ्चालन गरिने बताए ।

काभ्रेको पात्लेखेतका कृषक रामबहादुर गौतमले झण्डै ८ सय रोपनी जग्गामा तरकारी, तथा फलफूल र ३ सयभन्दा बढी गाइपालन गरेर उदाहरणीय काम गरेका छन ।

प्रतिक्रिया