टिपिएल–२ : शंकरनगर र लुम्बिनी फाइनलमा

बटौली । रूपन्देहीको तिलोत्तमामा जारी तिलोत्तमा प्रिमियर क्रिकेट लिग (टिपिएल) सिजन २ को फाइनल प्रतिस्पर्धामा रोयल शंकरनगर र लुम्बिनी कसाइ भिड्ने भएका छन् ।

तिलोत्तमा नगरपालिका–६ स्थित नवजीवन क्लबको खेल मैदानमा शुक्रबार भएका अन्तिम सेमिफाइनल खेलमा रोयल शंकरनगरले बुटवल डाइनामाइटलाई ३ विकेटले हराउँदै फाइनलमा प्रवेश ग¥यो भने दोस्रो खेलमा मणिग्राम किङ्सलाई ७२ रनले हराउँदै लुम्बिनी कसाई फाइनलमा प्रवेश गरेको हो ।

पहिलो सेमिफाइनल खेलमा टस जितेर ब्याटिङ गरेको बुटवल डाइनामाइटले २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १ सय ६७ रन बनाएको थियो । १ सय ६८ रनको विजयी लक्ष्यका साथ मैदानमा उत्रेको रोयल शंकरनगरले १९ दशमलव २ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । रोयल शंकरनगर ३ विकेटले विजयी भयो । बुटवल डाइनामाइटका लागि हरि चौहानले १८ बलमा नट आउट ४३ रन बनाए पनि अन्य ब्याट्समेन भने चल्न सकेनन् । रोयल शंकरनगरका लागि रोहित पौडेलले ६४ तथा सुनील सार्कीले ३२ रन बनाए ।

त्यस्तै, दोस्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी कसाइले २० ओभर खेल्दै १० विकेटको क्षतिमा १ सय ५१ रन बनायो । १ सय ५२ रनको विजयी लक्ष्य पछ्याएको मणिग्राम किङ्स १९ ओभरमा अल आउट हुँदै मात्र ७९ रनमा समेटियो र लुम्बिनी कसाई ७२ रनले विजयी भयो । लुम्बिनी कसाइका लागि सुनील धमलाले ४८, रुपेश कुर्मीले २६ रन बनाए भने मणिग्राम किङ्सका लागि सन्दीप रजालीले ३० रन बनाउनुबाहेक अन्य ब्याट्समेनले दोहोरो अंक जोड्न सकेनन् ।

प्रतियोगिताको विजेताले नगद ३ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै, उपविजेताले १ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा म्यान अफ द सिरिज, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर, फेयरप्ले अवार्ड, इमर्जिङ प्लेयर, फास्टेस्ट ५०, फास्टेस्ट १०० लगायतका विधामा पनि आकर्षक पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगिताअन्तर्गत शनिबार फाइनल खेलमा बिहान ११ बजे रोयल शंकरनगर र लुम्बिनी कसाईले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया