‘ए’ डिभिजन लिग : मच्छिन्द्रलाई संकटाले र पुलिसलाई आर्मीले हरायो

काठमाडौं । पल्सर सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शुक्रबार भएको खेलमा मच्छिन्द्रलाई संकटाले र पुलिस टिमलाई आर्मीले पराजित गरेको छ । यो जितसँगै सिएमजी क्लब संकटा पल्सर सहिद स्मारक ए डिभिजन लिगको दोस्रो स्थानमा उक्लिएको छ । शुक्रबार हल्चोकस्थित एपिएफ रंगशालामा मच्छिन्द्र क्लबलाई २–० ले पराजित गर्दै संकटा शीर्ष स्थानमा उक्लिएको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा संकटाले खेलको ६४औं मिनेटमा अग्रता बनाएको थियो । लक्ष्मण रुचालले पेनाल्टी क्षेत्रको बायाँ भागबाट दिएको क्रसमा नितिन थापाले फार पोस्टमा डाइभिङ हेडर गर्दै अग्रता दिलाएका थिए । संकटाले खेलको ५ मिनेट समय बाँकी हुँदा अग्रता दोब्बर पा¥यो । गोलरक्षक दीप कार्कीले बिट भइसकेको अवस्थामा सेड्रिक अबालाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । अमित तामाङले पेनाल्टीमा सहजै गोल गर्दै संकटाको जित पक्का गरे ।

यस जितसँगै संकटा लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । संकटाले लगातर तेस्रो जित दर्ता गर्दै ३ खेलमा ९ अंक बनाएको छ । यता मच्छिन्द्रले भने लिगको पहिलो हार बेहो¥यो । मछिन्द्रको ३ खेलमा २ अंक रहेको छ ।
त्यस्तै, शुक्रबार भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई १–० ले पराजित गरेको छ । आर्मीको जितमा टेकबहादुर बुढाथोकीले निर्णायक गोल गरे । आर्मीले पहिलो हाफमा मिडफिल्डर टेकबहादुर बुढाथोकीको गोलमा अग्रता लिएको थियो ।

३१औँ मिनेटमा टंक बस्नेतले दायाँ विङ्सबाट गरेको क्रसलाई पेनाल्टी क्षेत्रभित्र रहेका कप्तान भरत खवासले छाडेपछि टेकबहादुरले गोलरक्षकलाई बिट गर्दै गोल गरेका थिए । त्यसअघि आर्मीका लागि कप्तान भरत खवासले गोल गर्ने अवसरको सदुपयोग गर्न सकेनन् ।

१८औं मिनेटमा उनको एक्रोब्याटिक प्रहरले पोस्टको दिशा लिन सकेन । त्यसको पाँच मिनेटपछि टेकबहादुर बुढाथोकी पनि पेनाल्टी क्षेत्रभित्रबाट पोस्टमा प्रहार गर्न असफल रहे । पहिलो हाफको अन्तिम मिनेटमा पुलिसले बराबरी गर्ने अवसर गुमायो । निरकुमार राईले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको कडा प्रहार आकासिएको थियो । लगत्तै सन्तोष तामाङले पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेको अवस्थामा गरेको प्रहार पोस्टभन्दा थोरै बाहिर गयो ।

दोस्रो हाफमा खेलले पहिलो हाफजस्तो गति लिन सकेन । ६५औं मिनेटमा सुमन लामाको कर्नरमा विक्रम धिमालको हेडर सुमन अर्यालले गोललाइन बाट क्लियर गरिदिए । ७५औं मिनेटमा भरत साहको शक्तिशाली प्रहारलाई गोलरक्षक विकेश कुथुले सुन्दर बचाउ गरे । पुलिसले अन्तिम समयमा आक्रमणमा जोड दिए पनि बराबरी गोल भने पाउन सकेन ।
खेलको अन्तिम समयमा पुलिसले पेनाल्टीको अपिल गरे पनि रेफ्री नविन्द्र महर्जनले त्यसलाई नकारेका थिए । पुलिसका केही खेलाडी मैदानमा हातपातमा उत्रँदा स्थिति केही तनावग्रस्त बनेको थियो ।

यस जितसँगै आर्मी अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ । आर्मीको ३ खेलमा २ जित र १ बराबरीसँगै ७ अंक छ । जारी लिगमा पुलिसले पहिलो हार बेहोरेको छ । पुलिसको ३ खेलमा १ जित, १ हार र १ बराबरीसँगै ४ अंक बनाएको छ ।

प्रतिक्रिया