बैंकिङ सेवा ग्रामीण भेगसम्म

ताप्लेजुङ । जिल्लाको आठराई–त्रिवेणी गाउँपालिका–३ हाङपाङका पूर्ण लिम्बूले आफ्नै गाउँमा बैंक स्थापना होला भनेर सोचेका थिएनन् ।

मुलुक संघीय संरचनामा गएपछि सदरमुकामका सबै कार्यालयको सेवा गाउँमै पाइन्छ भन्ने सुने । जनप्रतिनिधि आएपछि सार्वजनिक सेवा गाउँबाटै पाए पनि दुई वर्षसम्म बैंकिङ कारोबार गर्न सदरमुकाम पुग्नुपर्दा वास्तविक रूपमा संघीयताको अनुभूति गर्न नसकेका लिम्बूलाई गाउँमै राष्ट्रिय वाणिज्य बैंकले सेवा प्रवाह गर्न थालेपछि भने खुसी लागेको छ । ‘अबचाहिँ गाउँमै सिंहदरबार आएजस्तो लाग्यो,’ ६७ वर्षीय लिम्बूले भने, ‘बुढेसकालमा भए पनि गाउँमा सबै अफिसहरू खुलेको देख्न पाएँ ।’

सिदिङ्वा गाउँपालिका–४ का हर्कबहादुर पन्धाकको पनि बैंकिङ करोबार गर्न एक दिन लगाएर सदरमुकाम फुङलिङ धाउनुपर्ने बाध्यता हटेको छ । ‘अब एक दिन लगाएर बैंक जानुपर्ने बाध्यता हट्यो,’ लिम्बुले भने, ‘गाउँपालिकाको कैन्द्र साब्लाखुमै बैंक खुलेपछि हामी ग्रामीण भेगका नागरिकलाई सहज भएको छ ।’

ससानादेखि लिएर ठूला योजना सञ्चालनका लागि अनिवार्य बैंक खाता खोल्नुपर्छ । खाता खोल्न उपभोक्ता समतिका तीन जना पदाधिकारी स्वयं उपस्थित हुनुपर्छ । वित्तिय संस्था खुलेसँगै जनतालाई सेवा प्रवाह गर्नसमेत सजिलो हुने जनप्रतिनिधिहरूको भनाइ छ ।

गाउँपालिकामा बैंकको शाखा खुलेपछि आगामी दिनमा योजना सञ्चालन गर्न पनि धेरै सजिलो हुने पाथीभरा–याङ्वरक गाउँपालिका–४ का वडाध्यक्ष चन्द्रमान खोयाहाङ बताउँछन् । ‘उपभोक्त समितिका पदाधिकारीहरूलाई सदरमुकाम धाएर काम गर्न निकै कठिन थियो, खाता खोल्न गयो, बजारमा खान बस्न प¥यो, खर्च पनि उत्तिकै हुन्थ्यो,’ खोयाहाङले भने, ‘अब समय र लागत दुवैको वचत हुने भयो ।’

आठ गाउँपालिका रहेको जिल्लाका पाँच वटामा बैंकिङ सेवा पुगेको छ । सनराइजले मैवाखोलामा, वाणिज्यले आठराई–त्रिवेणीमा तथा लक्ष्मी बैंकले सिदिङ्वा र पाथीभरा–याङवरकमा र नेपाल बैंकले सिरीजंघा गाउँपालिकामा शाखा खोलेका हुन् । फक्ताङलुङ गाउपालिकामा तत्काल जाने तयारीमा छन् । फक्ताङलुङमा जनता बैंकले जाने तयारी अन्तिम चरणमा पुगेको बताएका छन् ।

तत्कालै आफूहरू गाउँपालिका जाने जनता बैंक ताप्लेजुङका शाखा प्रबन्धक जीवन अधिकारीले वताए । ‘बैंकको व्यवस्थापनका लागि आवश्यक अधिकांश सामान यसअघि नै गाउँ पु¥याइसकेका छौं,’ अधिकारीले भने, ‘सडक सुचारु हुनासाथ बाँकी सामान लगेर काम सुरु गर्छौं ।’

मेरिङदेन र मैवाखोला गाउँपालिकामा भने कहिलेसम्म बैंक सञ्चालन हुने टुंगो लागिसकेको छैन । बैंकका लागि संरचना नभएकाले अनिश्चित भएको मेरिङदेन गाउँपालिका प्रमुख गणेश लिम्बुको भनाइ छ । ‘बैंकका लागि आवश्यक सुरक्षा र भौतिक संरचनाको व्यवस्था छैन,’ लिम्बु भन्छन्, ‘गाउँपालिकाको केन्द्रमा प्रहरीचौकी र पक्की भवन नहुँदा ढिलाई भएको हो ।’ मेरिङदेनमा एनसिसी बैंक आउने भनेर सम्पर्क गरेको प्रमुख लिम्बूले बताए ।

उता मिक्वाखोला गाउँपालिकामा भने प्रहरी चौकी र सडकसमेत नपुग्दा बैंकलाई झनै समस्या छ । अहिलेसम्म कुन बैंक आउने भनेर निश्चित भइनसकेको गाउँपालिकाका प्रवक्ता दीपेन्द्र लिवाङले बताए । सदरमुकामसमेत रहेको फुङलिङ नगरपालिकामा भने नेपाल बैंक, कृषि विकास बैंक, ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंक, प्राइम बैंक, सिद्धार्थ बैंक, जनता बैंक, एनएमबी बैंक, सनराइज बैंक सञ्चालनमा छन् ।

प्रतिक्रिया