पिएसएलमा सन्दीप

काठमाडौं । विश्व क्रिकेटमा उदयमान खेलाडीका रूपमा परिचित लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) मा खेल्ने भएका छन् । उनलाई लाहोर क्वालेन्डर टिमले ५० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो ।

प्रतियोगितामा सन्दीप लिगको अन्तिम छनोटका क्रममा लाहोर टिममा अनुबन्धन भएका हुन् । पाकिस्तानको इस्लामाबादमा खेलाडीहरूको अन्तिम अनुबन्धनमा विश्वभरका ३ सय ७१ क्रिकेटरलाई सहभागी गराइएको थियो । सुरुआती सूचीमा परेका खेलाडीबाट अन्तिम सूची तयार गरिएको हो ।

नेपाली स्पिनर सन्दीप लामिछाने पाकिस्तान प्रिमियर लिगको गोल्डेन क्याटेगोरी र सोमपाल कामी सिल्भर क्याटेगोरीमा परेका थिए । अक्सनबाट छनोट भएका सन्दीप लामिछानेले ५० देखी ७० हजार डलर पारिश्रमिक पाउने पक्का भएको छ । सन्दीपले खेल्ने टोलीमा फखर जमान, एबी डिभिलियर्स, यासिर शाह, शाहिद अफ्रिदी, अघ सलमान, साहिन अफ्रिदी, सोहिल अख्तर, हसन खान, कार्लोस ब्रेथवेट, मोहम्मद हफिजजस्ता खेलाडी रहेका छन् ।

गोल्ड क्याटेगोरीमा रहेका सन्दीपलाई लाहोरले पहिलो चरणमा नै छनोट गरेको हो । यो टिमको मेन्टरका रूपमा पाकिस्तानी क्रिकेट टिमका पूर्व तीव्र बलर सोयब अख्तर रहेका छन् । युएई र पाकिस्तान हुने पिएसएलमा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ । जसमा इस्लामाबाद युनाइटेड, कराँची किंग्स, लाहोर क्वालान्डर्स, पेसावर जल्मी, क्येवा ग्लाडिएर र द सिक्थ टिम रहेका छन् । पिएसएलमा आबद्ध भएसँगै सन्दीप नवौँ विदेशी फ्रेन्चाइज लिगमा आबद्ध भएका छन् । सन्दीपले यसअघि आइपिएल, क्यारेबियन प्रिमियर लिग, क्यानेडियन लिग र अफगानिस्तान प्रिमियर लिग खेलिसकेका छन् । गत संस्करणमा सन्दीप ड्राफ्टमा परेर पनि छनोट भएका थिएनन् ।

प्रतिक्रिया