खेल-खेलाडी

मन्डेकाजी र चन्चलालाई स्वर्ण

सौर्य अनलाइन २०७५ मंसिर ३ गते ९:१९ मा प्रकाशित

बाग्लुङ । नेपाल पुलिसका मन्डेकाजी श्रेष्ठ बागलुङमा जारी प्रथम गाउँपालिका अध्यक्ष राष्ट्रिय कराते कप २०१८ मा स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् ।

श्रेष्ठले प्रतियोगिताअन्तर्गत व्यक्तिगत कातामा प्रदेश नं. ५ का दीपराज थापालाई पछाडी पन्छाउँदै स्वर्ण हात पारेका छन् । तृतीय स्थानमा एपिएफका अनिल चन्द र प्रदेश २ का दिर्घ बहादुर लामा रहेका छन् । श्रेष्ठले पुरुष टिम कातामा पनि स्वर्ण हात पारे । उनले महशुस तामाङ र विनोद गुरुङ्ग संग मिलेर स्वर्ण हात पारेका हुन् ।

यस्तै आईतबारनै भएको महिला व्यक्तिगत कातामा नेपाल प्रहरीकी चन्चला दनुवार एपिएफकी सरिता श्रेष्ठलाई पराजित गर्दै स्वर्ण हात पार्न सफल भईन् । तृतीय स्थानमा बाग्लुङ्गकी सर्मिला श्रेष्ठ र प्रदेश ५ की रश्मि पाण्डे रहे ।

यसैगरी, टिम काता तर्फ पुरुष र महिला दुवैतर्फ नेपाल पुलिसले स्वर्ण हात पारेको श्रेष्ठले जानकारी गराए । पुरुष तर्फ दोस्रो स्थानमा प्रदेश नं. १ तथा तेश्रो स्थानमा प्रदेश ७ र ५ रहे । महिला तर्फ प्रदेश नं. ६ ले रजत पाए । एपिएफ र प्रदेश ५ ले कास्य पाए ।

७ प्रदेश र ३ विभागिय टिम गरि १० टिमको सहभागिता रहेको प्रतियोगिताको कुमुते महिला ४५ केजी तौलमा एपिएफकी जिया कार्कीले बाजी मारिन् । उनले पुलिसकी बुद्धलक्ष्मी तामाङ्गलाई पराजित गर्दै स्वर्ण पाएकी हुन् ।

प्रदेश ५ की रश्मि पाण्डे र प्रदेश १ की रञ्जना मगरले कास्य पाए । यस्तै पुरुषको ५० केजीमा पुलिका सोनाम लामाले स्वर्ण पाए । प्रदेश १ का मोहन यादवले रजत तथा प्रदेश ६ का सरोज पासवान र आयोजकका अंकित गुरुङले कास्यमा चित्त बुझाए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय