दोस्रो टेस्टमा बंगलादेश जित नजिक

एजेन्सी, बंगलादेश । महमुदुल्लाहले शतक बनाएपछि जिम्बाब्वेविरुद्धको दोस्रो टेस्टमा बंगलादेश बलियो स्थितिमा देखिएको छ । ४ सय ४३ रनको लक्ष्य पछ्याएको जिम्बाब्वेले चौथो दिन सकिँदा दुई विकेट गुमाएर ७६ रन बनाएको छ ।
बंगलादेशले चौथो दिन दोस्रो इनिङ सुरुआत गरेको थियो ।

महमुदुल्लाहले अविजित १ सय १ रन बनाएपछि बंगलादेशले ६ विकेट गुमाएर २ सय २४ रन बनाउँदा दोस्रो इनिङ समाप्तीको घोषणा गरेको थियो । चौथो दिनको बिहानी सत्रमा बंगलादेशले ४ विकेट गुमाए पनि मोहमम्मद मिथुन र महमुदुल्लाहले घरेलु टोलीको इनिङ सम्हालेका थिए । बंगलादेशले २५ रन बनाउँदा ४ विकेट गुमाइसकेको थियो ।

मिथुन र महमुदुल्लाहले पाँचौं विकेटका लागि १ सय १८ रनको साझेदारी गरे । मिथुनले ६७ रन बनाए भने मेहदी हसन मिराज २७ रनमा अविजित रहे । जिम्बाब्वेका केली जर्भिस र डोनाल्ड टिरिपानोले २–२ विकेट लिँदा सिकन्दर राजा र सिन विलियम्सको नाममा १–१ विकेट रह्यो । जर्भिसले पहिलो इनिङमा पाँच विकेट लिएका थिए ।

चौथो दिन सकिँदा जिम्बाब्वेले ओपनर ह्यामिल्टन मासाकाड्जा र ब्रेन चरीलाई गुमाइसकेको छ । मासाकाड्जाले २५ तथा चरीले ४३ रन बनाए । ब्रेन्डन टेलर ४ तथा विलियम्सन २ रन बनाएर क्रिजमा छन् । मासाकाड्जालाई मेहदी हसन र चरीलाई तैजुल इस्लामले पवेलियनको बाटो देखाएको थियो । पहिलो इनिङमा तैजुल इस्लाम ५ र मेहन्दी हसनले ३ विकेट लिएका थिए ।

मुस्फिकर रहिमले दोहोरो शतक र मोमिनुल हकले शतक बनाएपछि बंगलादेशले ७ विकेट गुमाएर ५ सय २२ रन बनाउँदा पहिलो इनिङ समाप्तिको घोषणा गरेका थिए । जिम्बाब्वेले दोस्रो इनिङमा ३ सय ४ रन बनाएको थियो । भ्रमणकारी टोलीका ब्रेन्डन टेलरले १ सय १० तथा पिटर मुरले ८३ रन बनाए । पहिलो टेस्ट जिम्बाब्वले १ सय ५१ रनले जितेको थियो ।

प्रतिक्रिया