मोनाकोमाथि पिएसजीको ४ गोल

एजेन्सी, उरुग्वे । उरुग्वेका फरवार्ड एडिन्सन काभानीले ह्याट्रिक प्रहार गरेपछि फ्रान्सेली लिग वनअन्तर्गत आइतबार पेरिस सेन्ट जर्मेन (पिएसजी) ले एएस मोनाकोलाई ४–० ले पराजित गरेको छ । जारी सिजन निकै खराब नतिजा निकालेको मोनाको खेलको चौथो मिनेटमा नै पछाडि परेको थियो । काभानीले पिएसजीको पहिलो आक्रमणलाई नै गोलमा परिणत गर्दै उत्कृष्ट सुरुआत दिलाए । नेयमारको पासमा गोलको खाता खोलेका उनले ११औँ मिनेटमा अर्को सहज गोल गर्दै अग्रता दोब्बर पारे । पहिलो हाफमा २–० को अग्रता लिएको पिएसजीले दोस्रो हाफमा पनि दुई गोल थप्यो ।

काभानीले ५३औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे । ६४औं मिनेटमा पिएसजीले पेनाल्टी पायो । युवा फरवार्ड क्लियन एमबाप्पेलाई जिब्रिल सिडिबेले लडाएपछि प्राप्त पेनाल्टीमा नेयमारले कुनै गल्ति गरेनन् । त्यसपछि पिएसजीका लागि जुलियन ड्राक्सलर र एमबाप्पेले गोल गरेपनि रेफ्रीले त्यसलाई मान्यता दिएका थिएनन् ।

च्याम्पियन्स लिगमा क्लब बु्रजसँग फराकिलो हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको मोनाको लिगको रेलिगेसन क्षेत्रमा रहेको छ । लिग सिजनमा जम्मा एक खेल जितेको मोनाको पुछारबाट दोस्रो स्थानमा छ । यता पिएसजी भने अपराजित यात्रा कायम राख्दै लिगको शीर्षस्थानमा छ । दोस्रो स्थानको लिलभन्दा पिएसजी १३ अंकले अगाडि बढिसकेको छ ।

प्रतिक्रिया