साफ यू–१५ नेपाल चौथो स्थानमा

काठमाडौं । साफ यू–१५ फुटबल प्रतियोगिताअन्तर्गत नेपालले भारतसँग शून्यका विरुद्ध एक गोलले पराजित हुँदै चौथो स्थानमा चित्त बुझाउन बाध्य भएको छ ।  अखिल नेपाल फुटबल संघ (एन्फा) को सातदोबाटो स्थित मैदानमा आज भएको खेलमा १८औँ मिनेटमा थलेचु बनलरुटफेलाले गरेको गोल नै भारतको जितका लागि पर्याप्त बन्यो ।

पहिलो हाफमा शून्यका विरुद्ध एक गोलले पछि परेको नेपाल दोस्रो हाफमा सुधारिएको प्रदर्शन त गरे तर पनि गोल गर्न नसक्दा भारतसँग पराजित हुन पुग्यो । जितसँगै अघिल्लो संस्करणको विजेता भारत तेस्रो बन्यो ।  नेपाल सेमिफाइनलमा बिहीबार पाकिस्तानसँग शून्यका विरुद्ध चार गोलले पराजित भएको थियो भने भारत पनि बंगलादेशसँग पराजित भएको थियो । प्रतियोगितामा समूह चरणको पहिलो खेलमा माल्दिभ्सविरुद्धको जित नै नेपालको एक मात्रै जित रह्यो ।

माल्दिभ्समाथि शून्यका विरुद्ध ४ गोलको सानदार जित निकालेको नेपालले दोस्रो खेलमा बंगलादेशसँग एकका विरुद्ध दुई गोल अन्तरले पराजित भयो । पहिलो खेलमै पाकिस्तानसँग एकका विरुद्ध दुई गोल अन्तरले पराजित भएको भारत अन्तिम खेलमा भुटानमाथि जित निकाल्दै सेमिफाइनलमा पुगेको थियो । पाकिस्तान र बंगलादेशबीचको खेल एन्फा मैदानमा अहिले जारी छ ।

प्रतिक्रिया