जटीबुटी नै जीवनको सहारा

संखुवासभा । नेपालीको महान पर्व वडादसैँले बजार चहपहल छ । बजारका प्रायः सबै पसहलमा किनमेल गर्नेहरूको घुइँचो छ ।

खाद्यान्न, कपडा आदि सामग्री किन्नेहरूको निकै नै चहलपहल छ आजभोलि । खाँदबारीका व्यापारीहरू अरू वेलाभन्दा दसँैमा अलि बढी किनबेच भएको बताउँछन् । तर, पोखरी बजारको एकाछेउमा जडीबुटीको व्यापार गरिरहेकी पेक्पा भोटेको पसलमा भने सदाबहार उत्तिकै किनबेच हुन्छ ।

जिल्ला सदरमुकामस्थित पोखरी बजारको दोबाटोमा केही सामानको खुला पसल छ । यो पसल ४२ वर्षीया पेक्पा भोटेले चलाउँदै आएकी छन् । उनीले सानैदेखि जडीबुटीको व्यापार गरे पनि करिब नौ वर्षअघि संखुवासभाको भोटखोला गाउँपालिका–२ हुङगुङ आएर व्यापार गर्दै आएकी हुन् ।

संखुवासभाको खाँदबारी बजार र जिल्लाका ग्रामीण हाटबजारमा व्यापार गरी उनले जीविका चलाउँदै आएकी छन् । जडीबुटी बेचेर उनले पेटपालो मात्र होइन्, छोराछोरीको पढाइका लागि खर्च पु¥याउँछिन् । उनका पति पनि जडीबुटी बिक्री गर्न अन्य ठाउँ जाने गर्छन् । दुवै जना काँचो सिम्रिक, यार्सागुम्बा, फिटकिरी, चिप्लेकिरा, बिखुमा, लगायतका औषधिजन्य जडीबुटी बेच्दै हिँड्ने गर्छन् ।

‘खोई किन हो, यत्तिका वर्ष भयो तर खाँदबारी छाडेनौँ । यही व्यापार गर्दै घरखर्च उठ्ने गरेको छ’, उनले भनिन्, ‘हामी व्यापार गर्दै हिँड्छौँ । यही व्यापारको पैसाले छोराछोरी पढाउन सकिएको छ । अन्य आम्दानी केही छैन’, उनी भन्छिन्, ‘मेरो व्यपार त सदाबहार यत्तिकै हो ।’

उनीहरूले जिल्लाको भोटखोला तथा सभापोखरी क्षेत्रबाट आयुर्वेदिक सामान मात्र नभई उत्तरी सोलुखुम्बुसमेतबाट चम्मर (चौँरीगाईको पुच्छर) ल्याएर बिक्री गर्ने गरेका छन् । चमर प्रतिगोटा दुई हजारदेखि ५ हजार ५ सयसम्म बिक्री गर्ने गरेको उनले सुनाइन् ।

घर गर्जो टार्न विभिन्न ठाउँमा व्यापार गर्न गए पनि प्रायःजसो पेक्का खाँदबारी पोखरी बजारमा व्यापार गर्छिन् । अरू व्यवसाय गर्नका लागि दह्रो आयस्रोत नरहेको उनले सुनाइन् । उनले भनिन्, ‘यही जडीबुटी बेचेर घर खर्च टारिएको छ अन्य व्यवसाय गर्न आयस्रोत पनि छैन्, सानैदेखि यसैमा ज्ञान भयो, यहि बेच्छौँ ।’

‘न त सानोमा पढियो, न त पतिले नै पढे । दुवैजना अनपढ, घरमा आम्दानीको बाटो केही छैन’, उनले भनिन्, ‘छोराछोरीलाई पढाउन र घरको गर्जो चलाउन हामी दुई जना यस्तै सानो व्यापार गर्दै हिँड्छौँ ।’

प्रतिक्रिया