बेलायतमा कमल र मुन्नीलाई स्वर्ण


काठमाडौं । बेलायतको ओरचेस्टरमा सम्पन्न विश्व उमा कुङ्फु च्याम्पियनसिपमा नेपाली खेलाडी कमल मगर र मुन्नी सुवेदीले स्वर्ण जितेका छन् । ३ स्पर्धामा सहभागी कमलले पुरुष नाइन स्टिकमा स्वर्ण जितेको नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामा तामाङले जनाएका छन् ।

कमलले मोङ्की बक्सिङमा थप १ रजत पदक पनि हात पारे । किक बक्सिङमा भने कमल पदकविहीन बने । मुन्नीले ताइची स्पर्धामा नेपाललाई स्वर्ण दिलाइन् । मुन्नीले गत अगस्ट–सेप्टेम्बरमा जर्मनीमा भएको १२औँ विश्व मार्सल आर्ट च्याम्पियनसिपमा पनि कांस्य जितेकी थिइन् ।

राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत संघ संस्था समन्वय शाखाका प्रशासकीय अधिकृत ओमनाथ न्यौपाने अफिसियल र उमा कुङफु संघका केन्द्रीय सदस्य अशोक केसी व्यवस्थापकका रूपमा टोलीसँगै बेलायतमा छन् ।

प्रतियोगिता ५ अक्टोबरदेखि सुरु भएको थियो । प्रतियोगितामा विभिन्न २१ राष्ट्रका १ हजार ५ सय खेलाडीको सहभागिता रहेको अध्यक्ष तामाङले जानकारी गराएका छन् ।

प्रतिक्रिया