कुराँसका नक्कली खेलाडी र प्रशिक्षक !!

काठमाडौं । नेपाल कुराँस संघ पछिल्लो समय वेलावेला चर्चामा आउने गर्दछ । यद्यपि, संघको चर्चा अन्तर्राष्ट्रियस्तरमा पदक जितेर भने भएको होइन । अन्तर्राष्ट्रिय सहभागिताका क्रममा खेलाडी नै रिङमै नउत्रिँदा लज्जित भइसकेको कुराँस संघको नेतृत्वले यसपटक भने आफैँ लज्जित तुल्याउने काम गरेको छ ।

आगामी ५ अक्टोबरमा कोरियामा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा संघका उपाध्यक्ष जीवन राईलाई टिमको प्रशिक्षक बनाएर पठाएको छ । संघका अध्यक्ष ध्रुवराज न्यौपानेले हस्ताक्षर गरेको भिसा आवेदनमा समेत संघका उपाध्यक्ष राईलाई प्रशिक्षक बनाएर कोरिया पठाइएको स्पष्ट हुन्छ ।

आगामी अक्टोबर ५ देखि ७ सम्म हुने बुसान अन्तर्राष्ट्रिय कुराँसमा संघकी महासचिव प्रतीक्षा खरेलको नेतृत्वमा खेलाडी उपेन्द्र थापा, जयन्ती श्रेष्ठ र कृति शर्माले सहभागिता जनाउँदै छन् । बुधबार उक्त टोली त्यसतर्फ प्रस्थान गरिसकेको छ । जहाँ प्रशिक्षक भने पूर्वएमाले समर्थित विद्यार्थी नेता राईलाई बनाइएको छ ।

‘उनी प्रशिक्षक होइनन् । हामीले टाइप गर्दा केही मिस्टेक भएछ । उनलाई टिम लिडर बनाइएको थियो । संघका अध्यक्ष न्यौपानेले दाबी गरेका छन् । न्यौपानेले भने, ‘हामीबाट भएको कुनै गल्तीको प्रमाण भेट्न सके । सजाय भोग्न तयार छौँ । पछिल्लो समयमा लगाएको आरोप सब झुटा हुन् । जुन सुनियोजित पनि छन् ।’

तर, विदेश सयर गर्नकै लागि संघले झुटो प्रशिक्षक बनाएर दक्षिण कोरिया पठाएको स्रोतले दाबी गरेको छ । पछिल्लो समयमा युवा तथा खेलकुद मन्त्राल र राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले समेत वैदेशिक खेलमा सहभागिता जनाउँदा परिषद्बाट स्वीकृति लिन सबै संघलाई सर्कुलर जारी गरेको थियो ।

यद्यपि, कुराँस संघलाई भने त्यो आदेश लागू हुन सकेन । मन्त्रालय र परिषद्मा आफ्नो पाटी समर्थित नेतृत्व रहेको फाइदा उठाउँदै कुराँस संघको नेतृत्वले मनोमानी गरिरहेको छ । सबै खेलाडीलाई आफ्नै खर्चमा अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउँदै छन् ।

संघले गत ४ देखि ६ सेप्टेम्बरमा उज्बेकिस्तानको तास्कनमा भएको अन्तर्राष्ट्रिय कुराँस च्याम्पियनसिपमा प्रशिक्षक दीपक श्रेष्ठलाई बनाएर सहभागी गराएको थियो ।  गत अगस्ट २ देखि २ सेप्टेम्बरसम्म इन्डोनेसियामा भएको १८औँ एसियाडमा भने दीपक नेपाली कुराँस टिमका प्रशिक्षक थिए ।

तर, दीपकको पृष्ठ भूमि भने जुडोको पूर्वखेलाडी र कुशल प्रशिक्षक हो । यद्यपि, एसियाडमा भने संघले दीपकलाई कुराँसको प्रशिक्षकमा रोजेको थियो । बंगलादेशमा आगामी १५ देखि १७ नोभेम्बरमा हुने अन्तर्राष्ट्रिय खेलमा पनि संघका सदस्य जय गुरुङलाई नक्कली खेलाडी बनाएर पठाउन लागिएको प्रमाण खुलेको छ ।

तर, त्यहाँ संघको छाप लगाएको छ । कुनै व्यक्तिको नाम उल्लेखित विनाको हस्ताक्षर छ । तर, अध्यक्षको हस्ताक्षर भने छैन ।

जसमा संघका अध्यक्ष न्यौपानेले नै संघको सहभागिता नरहेको दाबी गरेका छन् ।  उनले भने, ‘बंगलादेशमा हामी जानका लागेका होइनौँ ।’

यद्यपि, भिसा आवेदनमा भने देवराज तामाङको नेतृत्वको टोलीमा कोरियामै सहभागी खेलाडी कृति शर्मा, जयन्ती श्रेष्ठ, उपेन्द्र थापा र जय गुरुङको नाम उल्लेख छ । त्यसमा संघको छाप लगाइएको छ ।

प्रतिक्रिया