लभ स्टेसनको छायांकन दार्जिलिङबाट


काठमाडौं । अभिनेता प्रदीप खड्का र नायिका जसिता गुरुङको मुख्य भूमिका रहने चलचित्र ‘लभ स्टेसन’ को शुभमुहूर्त गरिएको छ । आगामी शुक्रबारदेखि दार्जिलिङबाट छायांकन गरिने यो चलचित्रको पशुपति मन्दिरमा रुद्रीपाठसहित शुभमुहूर्त गरिएको हो । चलचित्र युनिट छायांकनका लागि मंगलबार दार्जिलिङ प्रस्थान गरेको र बुधबार अभिनेता प्रदीप र अभिनेत्री जसिता जाने निर्माता गोविन्द शाहीले बताए ।

उज्वल घिमिरेले निर्देशन गर्ने यो चलचित्रको छायांकन भारतको दार्जिलिङ, कालिङपोङ, सिक्किमलगायत नेपालको पूर्वी भेगका इलामको फिक्कल हुनेछ । छायांकन ५० दिनमा सकिने निर्देशक घिमिरेले जनाए । चलचित्रमा प्रदीप र जसितासँगै निरुता सिंह, सरोज खनाल, मिस सिलगुढी श्रद्धा क्षेत्री लगायतका कलाकारको अभिनय रहनेछ ।

पारिवारिक प्रेमकथामा आधारित यो चलचित्र विगतका सिनेमाभन्दा केही पृथक रहने अभिनेता प्रदीपले बताए । उनले लिलिबिलीमा आफू र जसिताको जोडीलाई दर्शकले अत्यधिक रुचाएको र लभ स्टेसनको कथाले आफू उत्साहित बनाएको रहेकोे बताए ।

आलोक शुक्लाको छायांकन रहने यो चलचित्रमा शम्भुजीत बाँसकोटा, राजनराज शिवाकोटी, दीपक शर्मा र एलिश कार्कीको संगीत रहने छ । दार्जिलिङका उमेश थापा लाइन प्रोड्युसर रहेका यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् । लभ स्टेसनलाई काफिया फिल्मस्को ब्यानरमा काफिया शाही (क्रिसु) र कविरविक्रम शाहीले निर्माण गर्न लागेका हुन् ।

प्रतिक्रिया