दसैँको अवसरमा राप्ती गोल्डकप हुने

चितवन । विजया दशमीको अवसरमा राप्ती गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । राप्ती नगरपालिकामा रहेको हर्दी युवा क्लबको आयोजनामा आगामी १७ देखि ३० असोजसम्म राप्ती गोल्ड कप हुने भएको छ । गोल्डकपमा देशका ‘ए’ डिभिजन क्लबको सहभागिता रहने आयोजकले जनाएको छ ।

आइतबार पत्रकार सम्मेलन गर्दै क्लबले विभागीय टिम सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लब र रूपन्देही–११ सहित विभिन्न जिल्लाका १४ टोली सहभागी हुने जनाएको छ । उक्त खेल राप्ती नगरपालिकामै रहेको भण्डारा माध्यमिक विद्यालयको खेल मैदानमा खेलाइनेछ ।

राप्ती गोल्ड कपका संयोजक विकास मोक्तानले प्रतियोगिताको विजेताले टिमले २ लाख २ हजार २ सय २२ रुपैयाँसहित ट्रफी, उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ तथा प्रतियोगिताको हरेक खेलमा सर्वोत्तम खेलाडीले १५ हजार रुपैयाँ प्राप्त गर्ने बताए ।

विधागत उत्कृष्टअन्तर्गत स्ट्राइकर, डिफेन्डर र सर्वाधिक गोलकर्तासहित विभिन्न ६ विधाका उत्कृष्टलाई ५–५ हजारका दरले पुरस्कार दिइने क्लबका अध्यक्ष शम्भु विकले बताए । गोल्डकपका लागि करिब १८ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको छ ।

पत्रकार सम्मेलनकामा राप्ती नगरपालिकाका उपप्रमुख इमानसिंह लामाले खेलकुदको विकासका लागि नगरपालिकाले सक्दो काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

फिफा पूर्वरेफ्री वीरेन्द्र पाण्डेले पूर्वी चितवनले फुटबलका राष्ट्रिय खेलाडीहरू उत्पादन गरेको भए पनि त्यस स्थानमा पहिलोपटक ठूलो धनराशिको फुटबल प्रतियोगिता आयोजना भएको बताए ।

प्रतिक्रिया