गोजुरियो कराते संघले महिलालाई आत्मरक्षा तालिम दिने

धनगढी । राष्ट्रिय गोजुरियो कराते संघले सातै प्रदेशमा महिलालाई आत्मरक्षासम्बन्धी तालिम दिने भएको छ । धनगढी शनिबार पत्रकार सम्मेलनमार्फत संघले बलात्कार, हत्याजस्ता जघन्य अपराधको शृंखला बढ्दै गएपछि ७ सवै प्रदेशमा आत्मरक्षा तालिम दिन लागेका संघका महासचिव प्रकाश चन्दले जानकारी दिए । त्यसका लागि संघले प्रदेश–७ को धनगढीबाट यो अभियानको सुरुआत गर्न लागेको छ ।

संघका महासचिव चन्दले आगामी २० असोजबाट धनगढीमा आत्मरक्षा शिविरको आयोजना गर्ने जानकारी दिए । जसमा एक हजार जना किशोरी तथा महिलाले आत्मरक्षा तालिम प्राप्त गर्नेछन् । संघले धनगढी उपमहानगरपालिका, ओरेक नेपाल, कमैया प्रथा उन्मूलन समाज, युवा शान्ति परिषद् र क्रियाशिल महिला पत्रकारको संयुक्त समन्वयमा एक हप्तासम्म शिविर सञ्चालन गर्नेछ।

धनगढीको रंगशालामा हुने उक्त शिविरले महिलामा आत्मरक्षा सीप विकासको साथै आत्मबल बढाउने ओरेक नेपाल कैलालीका कार्यक्रम संयोजक बिनु रानाले बताइन् ।

उनले भनिन् ‘पछिल्लोसमय बलात्कारलगायत महिला हिंसा धेरै बढेका छन् । त्यसैले आत्मरक्षा तालिम अत्यन्त फलदायी हुनेछ । यसमा धेरैभन्दा धेरैको सहभागिताको अपेक्षा गर्दछु ।’ पछिल्लोसमय कैलाली, कञ्चनपुरमा महिलाको बलात्कारपछि हत्या गर्नेक्रम पनि बढेको छ ।

असारदेखि हालसम्म कञ्चनपुरको निर्मला पन्त, कविता विष्ट र कैलालीको माया विक गरी ३ जनाको बलात्कारपछि हत्या भएको छ । १ वर्षमा मुलुकभरी १ हजार १४ वटा बलात्कारको घटना ओरेकमा दर्ता हुन आएको संयोजक रानाले जानकारी दिइन् । संघका केन्द्रीय महासचिव चन्दले ‘समस्या आइपरेको बेलामा महिलालाई आफैँ बच्नका लागि सीप प्रदान गर्ने हो ।’

उनले प्रयोगात्मक अभ्यासमार्फत नै महिलाहरूलाई दक्ष बनाउने उल्लेख गरे । पहिलोपटक सय जना प्रशिक्षक उत्पादन गर्ने र उत्पादित प्रशिक्षकले हरेक स्थानीय तहमा गएर आफूले सिकेको सीप अरूलाई सिकाउने महासचिव चन्दले बताए । ‘यसका लागि हरेक स्थानीय तहसँग कुराकानीसमेत भइसकेको छ’, उनले भने ।

प्रतिक्रिया