नेपालको खराब सुरुआत

काठमाडौं । घरेलु मैदानको फाइदा लिँदै एएफसी यू–१६ महिला च्याम्पियनसिपमा छनोट हुने लक्ष्य लिएको नेपाललाई पहिलो गाँसमै ढुंगा मिलेको छ । बुधबार सशस्त्र प्रहरीको हलचोक मैदानमा भएको खेलमा फिलिपिन्ससँग ४–० गोलअन्तरले पराजित भएपछि नेपालको लक्ष्य धरमराएको छ ।

यससँगै समूह ‘ई’ को विजेता बन्दै थाइल्यान्डमा अर्को वर्ष हुने यू–१६ एएफसी महिला फुटबल च्याम्पियनसिप खेल्ने नेपालको यात्रा कठिन बन्ने भएको छ । घरेलु टिम नेपाललाई फिलिपिन्सले सुरुआती दबाबमा राखेको थियो, जसलाई अन्तिमसम्म जारी राख्दै फिलिपिन्सले सानदार जित निकाल्यो ।

फिलिपिन्सले दुवै हाफमा २–२ गोल गरेको थियो । फिलिपिन्सको जितका लागि कप्तान मारिया लाजोले लगातार २ गोल गरिन् । छनोटको पहिलो खेलमा फिलिपिन्सका खेलाडीसामु नेपाली खेलाडीले निरीह प्रदर्शन गरे । नेपालले पहिलो हाफ सकिनुअगाडिसम्म डिफेन्सिभ खेल खेलेको थियो ।

तर, त्यसलाई जोगाउन नसक्दा लगातार दबाब बेहोर्यो । खेलको ४२औँ मिनेटमा कप्तान मारियाले गोल गर्दै टिमलाई अग्रता दिलाइन् । त्यसको ३ मिनेटपछि नै मारियाले दोस्रो गोल गर्दै पहिलो हाफमा फिलिपिन्सलाई २–० को अग्रता दिलाइन् । दोस्रो हाफमा पुनरागमन गर्ने लक्ष्य लिएको नेपालले केही अवसर बनाएको थियो । तर, सदुपयोग गर्न भने सकेन ।

उल्टै खेलको ७६औँ मिनेटमा कियन माएका आल्लामोले गोल गर्दै फिलिपिन्सको अग्रता तेब्बर बनाइन् । त्यसपछि, खेलको ८२औँ मिनेटमा मिकेला भ्यालेन्सिन लिको उत्कृष्ट गोलपछि फिलिपिन्स ४–० ले अगाडि रह्यो । बाँकी समयमा नेपालले गोल फर्काउन नसक्दा लज्जास्पद हार बेहोर्यो ।  नेपालले अब दोस्रो चरणमा स्थान बनाउन बाँकी २ खेल जित्नैपर्ने हुन्छ ।

नेपालले म्यानमारसँग २१ सेप्टेम्बरमा खेल्नेछ । छनोटको अन्तिम खेल नेपालले मलेसियासँग २३ सेप्टेम्बरमा खेल्नेछ । समूहको विजेताले दोस्रो चरणको यात्रा तय गर्नेछन् । छनोटमा सहभागी ६ समूहका उपविजेतामध्ये उत्कृष्ट २ टोलीले दोस्रो चरणको यात्रा तय गर्नेछन् ।

दोस्रो चरणको छनोटमा विजेता बन्ने चार टोलीले अर्को वर्ष थाइल्यान्डमा हुने एएफसी यू–१६ महिला च्याम्पियनसिपको यात्रा तय गर्नेछन् । फाइनल चरणमा ८ टोलीले खेल्नेछन् ।

प्रतिक्रिया