दसैँअगाडि नै कुसुममा बिजुली

बाँके । बाँके–१ (क) की प्रदेश सांसद कृष्णा केसी (नमुना) ले कुसुम ग्रामीण विद्युतीकरणको बारेमा सरोकारवाला र स्थानीयसँग छलफल गरेकी छन् । सांसद नमुना स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीसँग विद्युतीकरणको बारेमा छलफल गर्न प्राधिकरणका अधिकारीहरूसहित राप्तीसोनारी गाउँपालिकाको कुसुममा पुगेकी थिइन् ।

उनले सो अवसरमा कुसुम ग्रामीण विद्युतीकरणको बारेमा अहिलेसम्म भए गरेको कामको बारेमा समेत स्थलगत रूपमा नै जानकारी लिइन् । अन्तरक्रिया कार्यक्रममा दसैँ अगाडि नै कुसुम क्षेत्रमा बिजुली बत्ती बल्ने जानकारी दिइएको थियो ।

सोही क्षेत्रकी सांसद नमुना, क्षेत्रीय विद्युत् प्राधिकरण नेपालगञ्ज, कोहलपुर विद्युत् वितरक केन्द्र र कुसुम ग्रामीण विद्युतीकरण सहकारी संस्थाको अगुवाइमा आउने दसैँसम्ममा कुसुम क्षेत्रमा विद्युत्को पहुँच पुर्याइने बताइएको हो ।

‘सबैको सहयोगमा दसैँसम्म कुसुम सब–स्टेसनबाट १३२÷११ केभिएको लाइनबाट दुई वटा फिडर निकाली सय केभिए (थ्री–फेज) १३ वटा ट्रान्सफर्मरमा विद्युत् पुर्याउने लक्ष्यका साथ काम सञ्चालन भएको जानकारी पाएकी छु’, प्रदेश सांसद नमुनाले भनिन् ।

स्थानीय सरकार, विद्युत् प्राधिकरण तथा अन्य क्षेत्रबाट निरन्तरको पहलका कारण सो नतिजा निक्लन सफल भएको उनले बताइन् । लामो समयदेखिको पर्खाइको नतिजा आउने वेला भएको भन्दै प्रदेश सांसद नमुनाले भनिन्, ‘अब दिन गन्न मात्र सुरु गर्दा हुन्छ, केही दिनभित्रै बिजुली घरघरमा पुग्छ ।’

आफूले पाएको जानकारीअनुसार दसैँ अगाडि नै कुसुमको सबै गाउँमा बिजुली बल्ने गरी प्राधिकरणले आफू र ठेकेदारलाई तीव्र गतिमा काममा लगाएको र १३ वटा वितरण केन्द्रबाट वितरण गर्ने तयारी भएता पनि राप्ती पारिको क्षेत्रमा केही कठिनाई नआए सबैमा नौ वटा ट्रान्सफर्मबाट विद्युत् पुर्याउने लक्ष्य लिएको बताइन् ।

०७० सालमा नेपाल विद्युत् प्राधिकरण र सामुदायिक विद्युत् वितरक केन्द्रबीच सम्झौता भई ०७१ साल २ असारमा काम सुरु भई ०७२ असारमा सम्पन्न हुनुपर्ने निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।

ठेकेदारको लापरबाहीका कारण झन्डै चार वर्ष ढिला भएको योजना विद्युत् प्राधिकरण र स्थानीयको सहयोगमा दसैँसम्म सबैको घरमा विद्युत् पुर्याउने योजनाका साथ काम भइरहेको नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय प्रमुख मनोजकुमार सिंहले जानकारी दिए । राप्तिसोनारी गाउँपालिका–१ कुसुममा अहिलेसम्म विद्युत्को पहुँच पुग्न सकेको थिएन ।

सामुदायिक विद्युतीकरण संस्थाको माध्यमबाट वितरणका लागि ०६३ बाट पहल भएको कुसुममा असोजको अन्तिमबाट विद्युत् बाल्न पाउने आशामा रहेको सामुदायिक विद्युतीकरण सहकारी संस्थाका अध्यक्ष तेजबहादुर सुवेदीले खुसी व्यक्त गरे ।

कोहलपुर वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले हाललाई नौ वटा ट्रान्समिटरबाट कुसुम र आसपासका एक हजार घरधुरीले विद्युत्को उपभोग गर्न पाउने गरी काम भइरहेको बताए । कुसुममा २ हजार ८ सय २५ घरधुरी रहेका छन् । वडाध्यक्ष चित्रबहादुर वलीको अध्यक्षतामा सम्पन्न अन्तत्र्रिmयामा स्थानीयले अझै पनि आश्वासन मात्रै हुने हो कि भन्ने आशंका गरेका छन् ।

प्रतिक्रिया