प्रक्रियामै अल्झियो राष्ट्रिय आयोजना

कैलाली । रुखको जरा उखेल्ने काममा अवरोध पुग्दा राष्ट्रिय गौरवको सिँचाइ आयोजनाको काममा ढिलासुस्ती भएको छ ।

कैलालीको रानीजमरा, कुलरिया सिँचाइ आयोजनाअन्तर्गत लम्की शाखा नहरको निर्माण कार्य ढिलासुस्ती भएको हो । निर्माण कम्पनीले तामझामका साथ नहर निर्माण गर्न तदारुकता देखाए पनि सम्बन्धित सरकारी निकायको बेवास्ताका कारण शाखा नहर निर्माण सकिने समयमा बल्ल सुरु हुँदैछ ।

चौध दशमलव सात किलोमिटर लम्बाइ भएको लम्की शाखा नहर निर्माण गर्न २३ साउन ०७३ गते १ अर्ब ७१ करोड ७९ लाख १५ हजारमा ठेक्का सम्झौता भएको थियो ।

नहरअन्तर्गत पर्ने ६ किलोमिटर वन क्षेत्रमा रुख कटानका लागि ठेक्का सम्झौता भएको करिब दुई वर्षपछि जिल्ला वन कार्यालयले कटानको आदेश दिएको थियो । ‘हामीले गत असारमा रुख कटान सकेर नहर निर्माणको कामलाई थप गति दिन खोज्दा वनले रुखको जरा उखेल्ने प्रक्रियामै ढिला ग¥यो,’ नहर निर्माणको जिम्मा पाएको कालिका–कुमार जेभीका कार्यक्रम प्रबन्धक सुनिल पौडेलले भने, ‘विविध प्रक्रिया ढिलाइका कारण काम गर्ने वातावरण मिलेन ।’

६ किलोमिटर वन क्षेत्र पर्ने नहर निर्माणस्थलमा करिब २ हजार ६ सय ६८ रुख काटिएका थिए । सिँचाइ आयोजनाले वन विभागको सहमतिमा निर्माण कम्पनीलाई गत वर्ष चैतमा रुख कटानको आदेश दिएको थियो । निर्माण कम्पनीले गत असारमा रुख घाटगद्दी गरेको थियो ।

दुई दिनअघि मात्रै नहर निर्माण हुने स्थलको रुखका जरा उखेल्न अनुमति पाइएको र सोहीबमोजिम काम थालिएको पौडेलले बताए । ‘यस बीचमा खोल्सा र खाली भएको ठाउँमा नहर निर्माणदेखि अन्य संरचना बनाउने काम गरेका छौँ,’ उनले भने ‘वन कार्यालयका कारण नहर निर्माणले गति लिन सकेन ।’

रानीजमरा, कुलरिया सिँचाइ आयोजनाका इन्जिनियर कृष्णबहादुर विष्टले वन कार्यालयको रुख कटान लगायतका प्रक्रियाका कारण लम्की शाखा नहर निर्माणमा ढिलाइ भएको बताए । ‘निर्माण कम्पनीले करिब २५ प्रतिशत काम गरेको छ,’ उनले भने, ‘सुरुआतको ६ किलोमिटरमा रुख कटान र बाँकी क्षेत्रमा मुआब्जा वितरण लगायतका कारण निर्माणमा ढिलाइ भएको हो ।’

६ किलोमिटरदेखि १४ दशमलव ७ किलोमिटरसम्म पुग्दा करीब २ सय १८ परिवारलाई जग्गाको मुआब्जा दिनुपर्ने देखिन्छ । मुआब्जाको कामले अझै प्राथमिकता पाउन सकेको छैन । निर्माण कम्पनीलाई समय थप गर्ने प्रक्रिया थालिए पनि मुआब्जाको विषयले अझै निर्माणमा समस्या आउने देखिएको छ ।

‘कटासेदेखि ६ किलोमिटरसम्म रुख कटान भएर जरा उखेल्ने काम थालिएको छ,’ इन्जिनियर विष्टले भने, ‘आयोजनाअन्तर्गत अन्य निर्माणका कामसमेत हुँदैछन् ।’ लम्की शाखा नहर अन्तर्गत पर्ने जग्गाधनीलाई मुआब्जा वितरण र ऐलानी जग्गा भएकालाई पनि सम्बोधन गर्ने विषयमा प्रक्रिया अघि बढाइएको आयोजनाले जनाएको छ ।

इलाका वन कार्यालयका अधिकृत रविकुमार निधि कर्णले प्रक्रियामा व्यवधान हुँदा नहर निर्माण स्थलको रुखका जरा उखेल्ने कार्य प्रभावित बनेको बताए । उनले गत शनिबार वन कार्यालयले जरा उखेल्न आदेश दिएको बताए । राष्ट्रिय गौरवको आयोजना भएकाले वन कार्यालयले यसलाई रोक्ने नहुने भए पनि वनका केही प्रक्रियागत कारणले ढिलाइ हुन पुगेको उनले बताए ।

निर्माण कम्पनीले भने सरकारी पक्षको ढिलाइका कारण आर्थिक क्षति बेहोर्नुपरेको गुनासो गरेको छ । ‘जनशक्ति र सवारीसाधन त्यसै लामो समय थन्क्याएर राख्नुपर्यो ।’ कालिका–कुमार जेभीका कार्यक्रम प्रबन्धक पौडेले भने ‘अब निर्माणमा सबै प्रक्रिया सरलताका साथ सहजीकरण होस् ।’

कैलालीको २० हजार ३ सय हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्याउने आयोजनाको लक्ष्य छ । ‘लम्की शाखा नहर नेपाल सरकारकै लगानीमा निर्माण हुँदैछ ।’ रानीजमरा, कुलरिया सिँचाइ आयोजनाका इन्जिनियर विष्टले भने, ‘पथरीयादेखि थप १८ किलोमिटर शाखा निर्माणका लागि सर्भेको काम हुँदैछ ।’

आयोजनाअन्तर्गत ४ दशमलव ७ मेगावाटको जलविद्युत्, नहर आधुनिकीकरण, कृषिसम्बन्धी गतिविधि सञ्चालन भइरहेका छन् । आयोजनाका अनुसार नहर आधुनिकीकरणका लागि विश्व बैंकले झन्डै ६ अर्ब लगानी गर्दैछ भने आयोजनाअन्तर्गत नयाँ शाखा निर्माणमा सरकारको लगानी भइरहेको छ ।

हाल १२ अर्ब ६३ करोड लगानी रहेको आयोजनाअन्तर्गत कर्णालीको चिसापानीमा इन्टेक (मुहान) निर्माण सम्पन्न भई करिब ५ दशमलव ८ किलोमिटर मूल नहर निर्माणसमेत अन्तिम अवस्थामा पुगेको छ । आयोजनाका इन्जिनियर विष्टले आगामी वर्षभित्र ८ दशमलव ८ किलोमिटर मूल नहर र जलविद्युत् निर्माणको काम सकिने बताए ।

‘आयोजनाको भौतिक संरचना निर्माणतर्फ ३६ प्रतिशत काम सकिएको छ ।’ उनले भने, ‘शाखा नहर निर्माणको गति पनि बढ्दैछ ।’ आयोजनाअन्तर्गत रानीजमरा र कुलरिया गरी तीन शाखा नहर विस्तार यसअघि नै भइसकेका छन् ।

सिञ्चित क्षेत्रको बचावटका लागि कर्णाली, पथरैया र मोहना नदीमा तटबन्ध गर्ने लक्ष्य रहेकोमा हालसम्म २१ किलोमिटर लामो भागमा तटबन्धको काम भएको छ । आयोजनाको निर्माणपछि कैलालीको पूर्वी क्षेत्रका टीकापुर नगरपालिका र लम्कीचुहा नगरपालिकासहित पथरैया, दुर्गौली, जानकीनगर, प्रतापपुर, धनसिंपुर, नारायणपुर, मुनुवालगायत क्षेत्रमा सिँचाइ सुविधा पुग्नेछ ।

प्रतिक्रिया