आरोपीकाे डिएनए परीक्षण

काठमाडौं । १३ वर्षीया बालिका निर्मला पन्त बलात्कार–हत्या प्रकरणमा जोडिएका भनिएका निलम्बित एसपी डिल्लीराज विष्टसहित तीन जनाको डिएनए परीक्षणको प्रक्रिया सुरु गरिएको छ ।

विष्टसहित घटनामा संलग्न रहेको आरोप लगाउँदै कारबाहीको माग गरिएका अन्य २ जनाको बिहीबार डिएनए परीक्षणका लागि रगत संकलन गरिएको हो । नेपाल प्रहरीका प्रवक्ता एवं एसएसपी सैलेश थापा क्षेत्रीका अनुुसार एसपी विष्ट, उनका छोरा किरण विष्ट र भीमदत्त नगरपालिका प्रमुख सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डिएनए परीक्षणका लागि रगत संकलन गरिएको हो ।

‘प्रहरी प्रधान कार्यालयले निर्मलाको बलात्कार र हत्या प्रकरणमा पीडितका आफन्तको प्रश्न सम्बोधनका तत्कालीन एसपी विष्टसहित तीन जनाको डिएनए परीक्षण गराउन विधि विज्ञान प्रयोगशालामा प्रक्रिया अघि बढाइसकेका छौँ ।’ उनले अगाडि भने, ‘रिर्पोट आउन कम्तीमा दुई साता लाग्नेछ, रिपोर्ट आउनेबित्तिकै थप कारबाही प्रक्रिया अगाडि बढ्छ ।’

नेपाल प्रहरीका प्रवक्ता एवं एसएसपी सैलेश थापा क्षेत्रीका अनुुसार एसपी विष्ट, उनका छोरा किरण विष्ट र भीमदत्त नगरपालिका प्रमुख सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डिएनए परीक्षणका लागि रगत संकलन गरिएको हो

यसअघि, मुख्य अभियुक्त भनेर २४ दिनसम्म हिरासतमा राखिएका ४१ वर्षीय दिलीपसिंह विष्ट र ११ दिनसम्म हिरासतमा राखिएका चक्र बडूको डिएनए परीक्षण गरिएको थियो । तर, ती दुवैको डिएनए निर्मलाको डिएनएसँग नमिलेपछि दुवैजना रिहा भइसकेका छन् । यता, त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विज्ञ डा. हरिहर बस्तीले एसपीको मात्रै रगत आफूले संकलन गरेर नेपाल प्रहरीलाई जिम्मा लगाएको बताए ।

उनले भने, ‘नेपालका कुनै पनि अस्पतालमा डिएनए चेक हुँदैन । मैले रगत संकलन गरेर नेपाल प्रहरीलाई जिम्मा दिएको छु । रिपोर्ट कहिले आउँछ त्यो थाहा छैन ।’

यसैबीच, एसपी विष्ट र सिआइबीबाट अनुसन्धान टोलीमा खटिएकाको भूमिका शंकास्पद देखिएपछि अर्को छानबिन समिति गठन गरिएको छ । टोलीमाथि थप आन्तरिक छानबिनका लागि एसएसपी उत्तम सुवेदीको संयोजकत्वमा नयाँ समिति बनाइएको हो ।

प्रहरी प्रधान कार्यालयले भदौ १४ गते नै सुवेदीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरे पनि बिहीबार मात्रै यो कुरा सार्वजनिक भएको छ । स्रोतका अनुसार मुख्य अभियुक्त भनेर २४ दिनसम्म हिरासतमा राखिएका दिलीपसिंह विष्ट र ११ दिनसम्म हिरासतमा राखिएका चक्र बडूको डिएनए निर्मलाको डिएनएसँग नमिलेपछि बढेको जनआक्रोशबीच यो कुरा सार्वजनिक भएको हो ।

प्रहरी प्रवक्ता एसएसपी क्षेत्रीले भने प्रहरीको आन्तरिक काम भइरहेको बताउँदै भने, ‘यो छानबिन समिति आकस्मिक होइन, हामीले निरन्तर अनुसन्धान गरिरहेका छौँ ।’ घटनाको अनुसन्धान गरेका कञ्चनपुरका तत्कालीन डिएसपी ज्ञानकुमार सेठी, मुद्दा शाखाका एकेन्द्र खड्का र केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी अंगुर जिसी लगायतको अनुसन्धान प्रक्रिया र गतिविधिबारे छानबिन गर्न एसएसपी उत्तम सुवेदीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको पनि प्रहरी प्रवक्ता थापाले जानकारी दिए ।

प्रतिक्रिया