बुहारी करणीको आरोपमा प्रअ पक्राउ

दार्चुला । देशभरी जबरजस्ती करणीका घटना बढिरहेका बेला दार्चुलामा आफ्नै बुहारीमाथि जबरजस्ती करणी गर्ने ससुरा पक्राउ परेका छन् । चार वर्षपहिले छोराको मृत्यु भएपछि बुहारी एकल थिइन् । आफ्नै बुहारीलाई जबरजस्ती करणी गर्ने ससुरालाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको छ ।

दार्चुलाको अपी हिमाल गाउँपालिका–४ को दानसिंह धामीले आफ्नै विधवा (एकल महिला) बुहारीमाथि पटक–पटक सम्बन्ध राख्ने गरेको पीडित बुहारीको आरोप छ । बुहारीको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीले ससुरालाई पक्राउ गरेको हो । तामाखानी निम्न माध्यामिक विद्यालयका प्रधानाध्यापकसमेत रहेका ससुरा दानसिंह धामीले बुहारीलाई पटक–पटक जबरजस्ती करणी गर्ने गरेको बुहारीले खुलासा गरेकी छन् ।

०७१ सालमा छोराको मृत्यु भएपछि आफ्नै बुहारीमाथि गलत सम्बन्ध राख्ने गरेको पीडितको किटानी जाहेरीका आधारमा प्रधानाध्यापक धामीलाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब निरीक्षक गोपालनाथले बताए । पीडित बुहारीले ससुराका नाममा जबरजस्ती करणीको किटानी जाहेरी दिएपछि प्रधानाध्यापकसमेत रहेका ससुरा धामीलाई नियन्त्रणमा लिई सोधपुछ गरिरहेको प्रहरी नायब निरीक्षक नाथको भनाइ छ ।

ससुराले बेलाबेला जबरजस्ती करणी गर्ने गरेको भए पनि बाध्य भएर लुकाएर बसेकी बुहारीलाई कसैलाई जानकारी गराए आमा छोरालाई नै मार्ने धम्की दिने गरेकाले उक्त घट्ना बाहिर आउन झन्डै ५ वर्ष लागेको हो

‘पीडितको उजुरीका आधारमा प्रअ धामीलाई पक्राउ गरी अदालतबाट अनुसन्धानका लागि म्याद थपेर अनुसन्धान गरिरहेका छाैँ’ प्रनानि नाथले भने । स्थायी शिक्षक धामी नेपाली कांग्रेसनिकट नेपाल शिक्षक संघ दार्चुलाका जिल्ला सदस्य पनि हुन् । प्रधानाध्यापक धामीले ०७१ मा दार्चुलाको गोकुलेश्वरस्थित एक होटलमा आफ्नै बुहारीलाई पहिलोपटक जबरजस्ती करणी गरेको पीडित बुहारीले बताएकी छन् । यस्तै, गत असारमा पुनः अत्तरियास्थित आफ्नै घरमा जबरजस्ती करणी गरेको बुहारीले प्रहरीलाई बताएकी छन् । विवाह भएको एक वर्षमै श्रीमानको मृत्यु भएपछि ती महिला परिवारको सहारामा बस्दै आएकी थिइन् । पीडित महिलाको एउटा छोरो छ ।

ससुराले बेलाबेला जबरजस्ती करणी गर्ने गरेको भए पनि बाध्य भएर लुकाएर बसेकी बुहारीलाई कसैलाई जानकारी गराए आमा छोरालाई नै मार्ने धम्की दिने गरेकाले उक्त घट्ना बाहिर आउन झन्डै ५ वर्ष लागेको हो । त्यति मात्रै नभई पीडित बुहारीले ससुराको कर्तुतबारे परिवारका अन्य सदस्यलाई सुनाउँदा घरबाट निकालिदिने परिवारबाटै धम्की दिने गरेकाले उक्त घटना बाहिर आउन ढिलाइ भएको हो ।

पीडितका अनुसार प्रधानाध्यापक धामीले बुहारीलाई घरमा कोही नभएको बेला औषधिसमेत खुवाएर बलात्कार गर्ने गरेको आरोप बुहारीको छ । आफ्नै बुहारीलाई जबरजस्ती करणी गरेको आरोप लागेका प्रधानाध्यापक धामीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले अदालतबाट ७ दिने म्याद थप गरेर अनुसन्धान गरिरहेको मुद्दा फाँटका प्रहरी नायब निरीक्षक गोपाल नाथले बताए । पीडित महिलालाई महिला पुनःस्थापना केन्द्र धनगढीको सेफ हाउसमा राखिएको छ । उक्त घटनाको अनुसन्धान भइरहेकाले अहिले नै सबै तथ्यहरू खुलाउन नमिल्ने प्रनानी नाथले बताए ।

प्रतिक्रिया