जटही भन्सारमा खुलेआम अवैध असुली

जनकपुरधाम । धनुषाको जटही बोर्डरमा रहेको छोटी भन्सारमा कर्मचारीहरूले लुट मचाइरहेको देखिएको छ । भन्सारका कर्मचारीहरूले निःशुल्क सवारी पासबापत खुलेआम अवैध असुली गर्दै आएको देखियो ।

भन्सारले निःशुल्क रूपमा दिने सवारीसाधनको अस्थायी पैठारी अनुमति पुर्जीमा जटही छोटी कार्यालय धनुषाका कर्मचारीहरूले प्रतिसवारी ५० रुपैयाँका दरले असुल्ने गरेको तथ्य बाहिरिएको छ । मंगलबार सवारी पास लिन गएका धनुषाको नगराइन नगरपालिका–२ बस्ने रोहितकुमार चौधरीसँग भन्सारका कर्मचारी उपेन्द्र मण्डलले निःशुल्क सवारी पासबापत ५० रुपैयाँ लिएका थिए ।

निःशुल्क सवारी पासबापत किन ५० रुपैयाँ लिएको भन्ने प्रश्नमा मण्डलले पहिलादेखि नै यस्तो नियम रहेको जवाफ दिए । सरकारबाट छुटपुर्जी नपाएकाले छुटपुर्जी छपाइबापत ५० रुपैयाँ लिने गरेको कर्मचारी मण्डलले बताए ।

यसरी सरकारी कर्मचारी भएर जनतालाई लुटने किन काम गरेको भनेर उनीसँग सोध्दा यसबारेमा हाकिमसँग सोध्नोस् भनेर जवाफ दिए । मण्डलले आफनो नाम भने बताउन चाहेनन् । यता भन्सारमा भइरहेको लुटसम्बन्धी बगलमै रहेको हाकिमको कार्यालयमा बुझ्न जाँदा कार्यालय समयमा हाकिम अनुपस्थित देखिएका थिए ।

धनुषाको जटही नाकाबाट दिनहुँ जाने आउने सयौँ सवारीसाधनबाट भन्सारका कर्मचारीहरूले जबरजस्ती तरिकाले अवैध असुली गर्ने गरेको भए पनि सम्बन्धित निकायले कुनै चासो नदिएको स्थानीयहरूको गुनासो छ ।

जबकि भन्सारको बगलमै सशस्त्र प्रहरीको कार्यालय रहेको छ । तपार्इंकै बगलमा रहेको भन्सारमा यसरी सर्वसाधारणलाई लुटने काम भइरहँदा तपाईंहरू किन मौन बसेको प्रश्न गर्दा आफूहरूलाई यस बारेमा थाहा नभएको सशस्त्र प्रहरीले बताए ।

यता भन्सार कार्यालय जनकपुरका प्रमुख हेमचन्द्र शर्माले अवैध असुलीको कुनै नियम नरहेको बताए । कर्मचारी मण्डलले निःशुल्क दिने पासबापत नियम भन्दै असुली गर्ने गरेको पुष्टि भए तुरन्त कारबाही गर्ने भन्सार प्रमुख शर्माको भनाइ छ ।

प्रतिक्रिया