लागुपदार्थको कारोबारमा वृद्धि

बाँके । जिल्लामा लागुऔषधका प्रयोगकर्ता तथा कारोबारीको संख्या वृद्धिले डरलाग्दो अवस्थाको सिर्जना हुँदै गइरहेको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार लागुऔषधमा पक्राउ परेका व्यक्ति, मुद्दा दर्ता र बरामद गरिएको लागुऔषधको मात्राले दिनप्रतिदिन यसको प्रयोगकर्ता बढिरहेको पाइएको हो ।

पछिल्लो तीन वर्षको तथ्यांकअनुसार यस्ता वस्तुको प्रयोगकर्ता तथा कारोबारी घट्नुको साटो बढिरहेको र यसमा किशोरी पनि संलग्न रहेको पाइएको छ । सीमावर्ती भारतीय बजार रुपैडिहामा सहजै पाइने लागुऔषध किशोरीले पनि प्रयोग गर्दै आएको बाँके प्रहरीले जनाएको छ ।

साथीको लहलहैमा लागेर लागुऔषधको कुलतमा फसेका प्रायः किशोरीहरू यौनधन्दामा समेत रहेको जानकारहरू बताउँछन् । बाहिरी जिल्लाबाट नेपालगञ्जमा पढ्न वा अरू कुनै काम विशेषले बसेका र स्थानीय किशोरी पनि कुलतमा फसेको पाइएको छ ।

आव ०७४-७५ मा ११ किशोरी लागुऔषधमा पक्राउ परेका प्रहरी निरीक्षक रणबहादुर विष्टले बताए । विष्टका अनुसार गएको तीन वर्षको तुलनामा अहिले लागुऔषध प्रयोगकर्ताको संख्या दोब्बर भएको छ । प्रहरीको तथ्यांकअनुसार आव ०७२-७३ मा प्रहरीले लागुऔषधसहित १ सय ८ जनालाई पक्राउ गरेकामा ७८ वटा मुद्दा दर्ता भएको थियो । सो अवधिमा ५ सय ८७ ग्राम ब्राउनसुगर, ३० किलो २ सय ग्राम चरेश, नाइट्रोजेपाम ९ सय ३५ ट्याब्लेट, अफिम ५ किलो र गाँजा १५ ग्राम बरामद भएकोे थियो ।

आव ०७३-७४ मा लागुऔषधसहित १ सय ८९ जनालाई पक्राउ गरिएकामा १ सय ३७ मुद्दा दर्ता भएको थियो । सो अवधिमा ५ सय ३७ ग्राम ब्राउनसुगर, ३७ किलो १ ग्राम गाजा, १० किलो ५३ ग्राम अफिम, ५ लिटर कोरेक्स, नाइट्रोजेपाम ९ सय ७५ ट्याब्लेट बरामद भएको थियो ।
आव ०७४-७५ को अहिलेसम्म २ सय ४३ जना पक्राउ परेकामा १ सय ४७ वटा मुद्दा दर्ता भएका छन् ।

पक्राउ परेकाहरूबाट ३ सय ७५ ग्राम ब्राउनसुगर, ८६ किलो २ सय ५० ग्राम चरेश, ७ किलो ३ सय ग्राम अफिम, सय ग्राम गाजा, २ हजार ६ सय ५० मिलिलिटर कोरेक्स, तीन हजार ९ सय २६ वटा नाइट्रोजेपाम तथा नाइट्रोभेट र ६९ ट्याब्लेट स्पाम बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार प्रयोगकर्ताले ट्याब्लेटमा बढी जोड दिने गरेका छन् । गत आवमा ३ हजार ९ सय ३६ ट्याब्लेट बरामद गरिएकाले पनि यस्तो स्थिति देखाएको हो । खान सजिलो, किन्दा सस्तो पाइने भएकाले पछिल्लो समयमा प्रयोगकर्ताले ट्याब्लेटमा जोड दिएको पाइएको छ ।

त्यस्ता ट्याब्लेटको माग सुर्खेत, दाङ, दैलेख हुँदै जुम्लासम्म रहेको प्रहरीको भनाइ छ । बाटोको पहुँच भएकाले जुम्लाबाटसमेत लागुऔषध लिन रुपैडिहा आउने गरेका छन् । सहर बजारमा मात्रै सीमित रहेको लागुऔषधको प्रयोग विस्तारै पहाडी क्षेत्रमा समेत फैलिँदै गएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया