बाँस बेचेर विद्यालयलाई सहयोग

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ मा रहेको जनहित महाकाली सामुदायिक वनले बाँस बेचेर विद्यालयलाई सघाउँदै आएको छ ।

सामुदायिक वनको २४ हेक्टर क्षेत्रफलमा तीन प्रजातिका झन्डै पाँच हजार बढी बाँसका बिरुवा रोपेर हुर्काएको छ । रोपिएका बाँस बेचेर सामुदायिक वनले वार्षिक रूपमा ३ लाखदेखि ५ लाखसम्म आम्दानी गर्दै आएको छ । बाँस बेचेर आएको रकम विद्यालयका निजी स्रोतमा पढाउँदै आएका शिक्षकको तलब, विद्यार्थीलाई छात्रवृत्ति र भौतिक पूर्वाधार निर्माणका लागि खर्चदै आएको छ ।

बालकल्याण आधारभूत विद्यालय, कालिका माध्यमिक विद्यालय र उदय सरस्वती माध्यमिक विद्यालयलाई यसवर्ष ५० हजारका दरले रकम उपलब्ध गराइएको सामुदायिक वनका सचिव सालिकराम चौधरीले बताए । ६ वर्षदेखि सामुदायिक वनले बाँस बेच्दै आएको छ । ‘प्रतिवर्ष बाँस बिक्रीबाट आएको रकम विद्यालयकै विकासका लागि खर्चेका छौँ ।’ सचिव चौधरीले भने, ‘सामुदायिक वनबाट फर्निचर निर्माण गर्न बाँस बिक्री हुने गरेको छ ।’

प्रतिक्रिया