सलमानविरुद्ध मुद्दा

मुम्बई । बलिउड अभिनेता सलमान खानले निर्माण गरेको चलचित्र ‘लवरात्री’ विरुद्ध अदालतमा मुद्दा दायर भएको छ । आफ्ना ज्वाईंलाई नायक बनाएर सलमानले बनाएको उक्त चलचित्रको ‘टाइटल’ मा आपत्ति जनाउँदै एक हिन्दूवादी वकिलले विहारको अदालतमा मुद्दा दायर गरेका छन् ।

वकिलले हिन्दूले मनाउने नवरात्री पर्वलाई बिगारेर ‘लवरात्री’ बनाइएको भन्दै मुद्दा दिएका हुन् । उनका अनुसार चलचित्रलाई आउँदो नवरात्रीको सन्दर्भ पारेर प्रदर्शन गर्ने तयारीले पनि निर्माताको खराब नियत रहेको प्रष्ट हुने निवेदकले उल्लेख गरेका छन् । निवेदनमा लेखिएको छ, ‘सलमान खान मुस्लिम भएकाले उनले जानी–जानी हिन्दूहरूको भावनालाई आहत गर्ने काम गरिरहेका छन् ।’

सलमानले आफ्ना ज्वार्इं आयुश शर्मालाई चलचित्रमा डेब्यु गराउने उद्देश्यका साथ निर्माण गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आयुष सलमानकी बहिनी अर्पिताका श्रीमान हुन् । खबरअनुसार सलमानले आफूलाई चलचित्रमा हिरो बनाउने शर्तमा मात्रै उनकी बहिनीसित आयुशले बिहे गरेका थिए ।

आउँदो १२ सेप्टेम्बरमा अदालतले यो मुद्दाको फैसला गर्ने जनाइएको छ । जनवरी ५ मा रिलिज हुने तयारीमा रहेको छ । यसअघि चलचित्रको ट्रेलर रिलिजलगत्तै समेत विवाद भएको थियो । आगरामा रहेको हिन्दूवादी संगठन ‘हिन्दू हि आगे’ ले लवरात्रीको विरोध गर्दै पोस्टर जलाएको थियो । साथै सलमानलाई पिट्ने र चलचित्रको सेटमा आगजनीमा गर्नेलाई दुई लाख भारु दिने संगठनका आगरा युनिटका प्रमुख गोविन्द परासरले घोषणा गरेका थिए ।

कानुनी झमेलामा फसेपछि सलमानले चलचित्रको टाइटल सुन्दर रहेको भन्दै यसले हिन्दूको भावनामा चोट नपुग्ने जिकिर गरे । उनले भनेका छन्, ‘प्रेमभन्दा सुन्दर चिज संसारमा अरू केही पनि छैन । त्यसैले यो फिल्मको नाम लवरात्री राखिएको हो । यसले कुनै संस्कृतिको अपमान गर्दैन । फिल्म रिलिजपछि दर्शकहरूले सबै कुरा बुझ्नेछन् ।’

प्रतिक्रिया