१८ वर्षदेखि निःशुल्क प्रशिक्षण

रौतहट । राष्ट्रिय खेलकुद परिषद्का प्रशिक्षक नभए पनि एक युवाले आफ्नै प्रयासमा विगत १८ वर्षदेखि सितोरियो करातेको प्रशिक्षण गराउँदै आएका छन् ।

चन्द्रपुर नगरपालिका–८ सन्तपुरका युवा अशोक पहाडीले निःशुल्क चन्द्रनिगाहपुर र सन्तपुरमा करातेको प्रशिक्षण दिएका हुन् । पछिल्लो समय स्कुले बालबालिकामा खेलकुदप्रतिको मोह बढ्दै गएको छ । उनको प्रशिक्षणका कारण कराते खेलाडीले प्रतियोगितामा पदक हात पार्दै आएका छन् ।

चन्द्रनिगाहपुर क्षेत्रमा कराते र महिला फुटबलप्रति बालबालिकाको मोह बढ्दै गएको छ । पहाडीले बिहान–बेलुका ८० भन्दा बढीलाई नियमित प्रशिक्षण दिइरहेका छन् । राष्ट्रिय खेलकुद परिषद्को प्रशिक्षक नभए पनि उनले सिकाएका खेलाडीले प्रदेश–२ मा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । पहाडीले ०५८ बाट चन्द्रनिगाहपुर र सन्तपुरमा निःशुल्क प्रशिक्षण दिने गरेका छन् ।

जिल्लामा पहिलेदेखि नै राखेपको प्रशिक्षक नरहेको पहाडीले बताए । कराते मात्र नभएर राष्ट्रिय खेलकुद परिषद्को कुनै पनि खेलका प्रशिक्षक छैनन् । परिषद्का प्रशिक्षक नभए पनि उनीसँग नियमित रूपमा प्रशिक्षण लिने खेलाडीले प्रदेश–२ मा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

वीरगञ्जमा सितोरियो करातेका प्रशिक्षक सुरेन्द्र श्रेष्ठसँग कराते सिकेका पहाडीले ०५८ बाट चन्द्रनिगाहपुर र सन्तपुरमा नियमित निःशुल्क प्रशिक्षण दिएका हुन् । कराते, तेक्वान्दो, फुटबल, एथलेटिक्स लगायतका खेलको राखेपले प्रशिक्षक नियुक्ति नगरेकामा उनको गुनासो छ । परिषद्को कुनै सहयोगविनै करातेका खेलाडीलाई निःशुल्क प्रशिक्षण दिनुपरेको उनको भनाइ छ ।

बिहान बेलुका कराते खेलाउन व्यस्त रहने पहाडी दिनभरि भने समाचार खोज्न व्यस्त रहने गरेका छन् । तराई एक्सप्रेस दैनिकका प्रधानसम्पादक, रेडियो चन्द्रपुरका सञ्चालक र नयाँ पत्रिका दैनिकका रौतहट समाचारदातासमेत रहेका पहाडीको करातेप्रतिकोे मोहका कारण आफूले खेलमा रुचि भएको बताउँछन् । ‘व्यावसायिक पत्रकारिता र कराते सानैदेखिको सोख हो,’ उनले भने, ‘दैनिक ३ घण्टा कराते सिकाउँछु ।’

गत १५ र १६ असारमा सर्लाही बरहथवा भएको ‘प्रथम मेयर कप’ प्रदेशस्तरीय प्रतियोगितामा रौतहटले २ स्वर्ण, ४ रजत र ६ कांस्य पदक हात पा¥यो । प्रदेश–२ का ७ जिल्लामा ‘सरकारी तलब’ लिइरहेका राखेप प्रशिक्षक भए पनि जिल्लाले उनीहरूका खेलाडीभन्दा राम्रो प्रदर्शन गर्दै आएका पहाडीको दाबी छ ।

पछिल्लो समय जिल्लाका खेलाडीले म्याटमा प्रशिक्षण लिने गरेका छन् । संघले चन्द्रपुर नगरपालिकास्थित–४ को आर्थिक सहयोगमा २ लाख ५० हजारमा म्याट खरिद गरेको पहाडीले जानकारी दिए । तत्कालीन सांसद रामकुमार भट्टराईको सांसद विकास कोषबाट चन्द्रनिगाहपुरस्थित तुलसीलाल स्मृति खेल मैदानसँगै बनेको कभर्ड हलमा नियमित प्रशिक्षण हुने गरेको छ ।

प्रतिक्रिया