भुटानमाथि जित निकाल्ने नेपालको लक्ष्य

ढाका । नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलमा पुग्ने सम्भावना कायमै राख्न बिहीबार भुटानसँगै जित निकाल्ने लक्ष्यमा रहेको छ । बंगलादेशमा जारी साफको उद्घाटन खेलमा समूह ‘ए’ मा रहेको नेपाल पाकिस्तानसँग २–१ ले पराजित भएसँगै दोस्रो खेलमा गर या मरको अवस्थामा रहेको छ ।

हारले नेपाल प्रतियोगिताबाट बाहिरिनेछ । त्यसैले नेपालले अघिल्लो चरणको यात्रालाई बलियो बनाउन बिहीबार भुटानमाथि जित निकाल्नुपर्ने हुन्छ । भुटानले पनि आयोजक बंगलादेशसँग २–० ले हार बेहोरेको थियो ।

त्यसैले, भुटान अघिल्लो चरणको यात्रा बनाउन नेपालविरुद्ध कुनै कसर बाँकी राख्ने छैन । बराबरीले दुवै टोलीको यात्रा कमजोर हुनेछ । त्यसमा गणितिय सम्भावना र अन्य खेलको नतिजा कुर्नुपर्ने हुन्छ ।

नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले भने भुटानसँगको जित त्यति टाढा नरहेको बताएका छन् । नेपालले क्षमताअनुसार खेलेमा भुटानसँग जित निकाल्ने महर्जनको दाबी छ । ‘हामी भुटानसँग साफ च्याम्पियनसिपमा अहिलेसम्म हार्नुपरेको छैन । यद्यपि, सजक भएर खेल्नेछौँ ।’

यद्यपि, पाकिस्तानसँग राम्रो खेलेर पनि नेपालले खेल गुमाएको थियो । मिडफिल्डमा राम्रो गरेको नेपालले फिनिसिङमा कमजोर देखिएको थियो । जसको कारण पाकिस्तानले फाइदा लिएको थियो ।

त्यो गल्ती भुटानसँग दो¥याउनु हुँदैन । नेपालले पनि भुटानविरुद्धको खेलमा अघिल्लो खेलको कमजोरीलाई सुधार गर्ने जनाइसकेको छ । प्रशिक्षक महर्जन भन्छन् ‘हामीले बाँकी २ खेलमा हामी विजयी हुनेछौँ । त्यसका लागि कमजोरी सुधार्नुको विकल्प हामीसँग छैन ।’

भुटान पनि नेपाललाई पराजित गर्दै अघिल्लो चरणको यात्रा बलियो बनाउन चाहन्छ । भुटानले बंगलादेशविरुद्ध पराजित बाबजुत राम्रो खेल खेलको थियो । भुटानी टिमका प्रशिक्षक ट्रिभोर मोर्गानले भने अघिल्लो चरणका लागि आफ्नो टोली पनि बलियो रहेको बताएका छन् ।

प्रतिक्रिया