दा भिन्चीको चित्रकला सार्वजनिक हुनबाट रोकियोे

आबुधाबी । यहाँको लुभ्र संग्रहालयले लियोनार्दो दा भिन्चीले बनाएको ठानिएको संसारकै सबैभन्दा महँगो साल्भाटोर मुन्डी नामक चित्र सार्वजनिक गर्ने समय अनिश्चितकालका लागि स्थगित गरेको छ ।

येशु ख्रिस्टलाई साल्भाटोर मुन्डी अर्थात् संसारका उद्धारकका रूपमा प्रस्तुत गरिएको उक्त चित्र एकजना अज्ञात खरिदकर्ताले गत नोभेम्बरमा ४५ करोड डलरमा किनिदिएपछि सो संग्र्रहालयले उक्त चित्रकला पाएको थियो ।

उक्त चित्रकला सार्वजनिक गर्न ढिलाइ गर्नुको कारण संग्र्रहालयले खुलाएको छैन । यसअघि साल्भाटोर मुन्डी नामक उक्त चित्र लियोनार्दो दा भिन्चीका चेलाहरूले बनाएको ठानिएको थियो ।

गतवर्ष खुलेको लुभ्र आबुधाबी संग्रहालयले सेम्टेम्बर १८ मा साल्भाटोर मुन्डी चित्र सार्वजनिक गर्ने बताइएको थियो । संयुक्त अरब एमिरेट्स सम्बद्ध पत्रिका द न्यासनलले आबुधाबीको संस्कृति तथा पर्यटन विभागलाई उद्धृत गर्दै चित्रकला सार्वजनिकीकरणको नयाँ मिति घोषणा भइनसकेको बताएको छ ।

संग्रहालयले १ नोभेम्बरमा पर्ने आफ्नो पहिलो वार्षिकोत्सवको प्रतीक्षा गरेको हुनसक्ने सो पत्रिकाले जनाएको छ । लियोनार्दो दा भिन्चीले बनाएको संसारकै सबैभन्दा महँगो उक्त साल्भाटोर मुन्डी चित्रकलाको वास्तविक खरिदकर्ताबारे व्यापक चर्चा भएको थियो ।

अमेरिकी सञ्चारमाध्यमहरूले सुरुमा उक्त चित्रकलाको अज्ञात खरिदकर्ता साउदी राजकुमार मोहम्मद बिन सलमान रहेको बताएका थिए । तर, पछि उनका एकजना आफन्त साउदी राजकुमार बदर बिन अब्दुल्लाह बिन फरहानले आबुधाबीको संस्कृति तथा पर्यटन विभागको लागि सो चित्रकला खरिद गरेको दस्तावेजहरूमा भेटिएको रोयटर्सलगायतका सञ्चारमाध्यमले जनाएका थिए ।

लियोनार्दो दा भिन्चीको मृत्यु सन् १५१९ मा भएको थियो । हाल उनका २० वटाभन्दा कम चित्रकला अस्तित्वमा रहेको बताइन्छ ।

प्रतिक्रिया