नेपालको सीमामा एनडिएले जित्ने अनुमान

भारतमा पहिलो चरणको निर्वाचन

भारतमा शुक्रबार लोकसभाको पहिलो चरणको निर्वाचन सम्पन्न भयो । सात चरणमा हुने निर्वाचनको मत गणना भने ४ जुनमा हुनेछ । पहिलो चरणमा नेपालसँग सीमा जोडिएका पाँच वटै राज्यहरू सिक्किम, पश्चिम बंगाल, बिहार, उत्तर प्रदेश र उत्तराखण्डसहित कुल २१ राज्यमा मतदान भयो ।
पहिलो चरणमा २१ राज्यका केही मतदान केन्द्रहरू र केन्द्र शासित प्रदेशका समेत गरी १०२ सिटमा मतदान भए । लोकसभाका कुल ५४३ सिटका लागि हुने निर्वाचन ८० दिनसम्म चल्नेछ । पहिलो चरणमा अरुणाचल प्रदेश, असम, बिहार, छत्तीसगढ, मध्यप्रदेश, महाराष्ट्र, मणिपुर, मेघालय र मिजोरममा मतदान भइरहेको छ । शुक्रबार पहिलो चरणमै नागाल्यान्ड, राजस्थान, सिक्किम, तमिलनाडु, त्रिपुरा, उत्तरप्रदेश, उत्तराखण्ड, पश्चिम बंगालमा पनि मतदान भइरहेको छ ।

केन्द्र शासित अण्डमान निकोबार, जम्मू कश्मीर, लक्षद्वीप र पुडुचेरीमा पनि शुक्रबार नै मतदान भयो । पहिलो चरणमा नरेन्द्र मोदीको मन्त्रिपरिषद्का ८ मन्त्रीसहित ३ पूर्वमुख्यमन्त्री र १ पूर्वराज्यपालसमेत चुनावी मैदानमा उत्रेका छन् ।
केन्द्रीय सडक यातायात मन्त्री नितिन गडकरी महाराष्ट्रको नागपुर सिटबाट चुनावमा उम्मेद्वार छन् । गडकरी यसअघि लगातार दुईपटक विजयी भइसकेका छन् ।

केन्द्रीय पृथ्वी विज्ञान तथा खाद्य प्रशोधन उद्योगमन्त्री किरेन रिजिजु अरुणाञ्चल पश्चिम सिटबाट चुनाव लड्दैछन् । सन् २००४ मा रिजिजु पहिलोपटक सोही क्षेत्रबाट विजयी भएका थिए । २००९ को चुनावमा उनी पराजित भएका थिए । त्यसपछि सन् २०१४ र २०१९ मा उनले फेरि जित हात पारेका हुन् । यसपटक उनको प्रतिद्वन्द्वी अरुणाचल प्रदेश कांग्रेसका पूर्वमुख्यमन्त्री तथा प्रदेश अध्यक्ष नबम टुकीसँग हुँदैछ ।

त्यसैगरी केन्द्रीय बन्दरगाह, जहाज र जलमार्ग, आयुष मन्त्री सर्वानन्द सोनेवाल असमको डिब्रुगढ लोकसभा सिटबाट उम्मेद्वार बनेका छन् । यो सिटबाट भाजपाले पेट्रोलियम तथा प्राकृतिक ग्यास राज्यमन्त्री रामेश्वर तेलीको टिकट रद्द गरेर सोनोवाललाई उम्मेद्वार बनाएको हो ।

सोनेवाल हाल माथिल्लो सदन राज्यसभाका सदस्य एवं आसामका पूर्वमुख्यमन्त्री पनि हुन् । उनले २०१४ को चुनाव लखिमपुर सिटबाट जितेका थिए । सोनेवाल नरेन्द्र मोदीको पहिलो सरकारमा पनि मन्त्री भएका थिए ।

संसारको सबैभन्दा ठूलो लोकतान्त्रिक देश भारतमा ९६ दशमलव ८ करोड मतदाता छन् । ५५ लाख भोटिङ मेसिन यसका लागि प्रयोग गरिएका हुन् ।
पहिलो चरणमै तमिलनाडुका ३९ सिट तथा उत्तराखण्डका ५ सिटमा नै निर्वाचन भयो । अरुणाञ्चलमा रहेका दुवै तथा अण्डमान निकोबार टापुको १ सिटमा पनि निर्वाचन भएको छ । लक्षद्वीपको १ सिट, मेघालयको २ सिट, मिजोरमको १ सिट, नागाल्यान्ड १ सिट र पुडुचेरीको १ सिट तथा सिक्किमको १ सिटमा मतदान भएको छ ।

सबैभन्दा ठूलो राज्य उत्तर प्रदेशका ८ सिटमा शुक्रबार निर्वाचन भयो । सहारनपुर, कैराना, मुजफ्फरनगर, बिजनौर, नगिना, मुरादाबाद, रामपुर र पिलिभितमा पहिलो चरणमा निर्वाचन भएको हो ।
पश्चिम बंगालमा ३ सिटमा पनि निर्वाचन सम्पन्न भयो । कुचबिहार, अलीपुरद्वार र जलपाइगुडीमा पहिलो चरणमा निर्वाचन सम्पन्न भएको हो । बिहारका ४ सिटमा पनि शुक्रबार निर्वाचन सम्पन्न भयो । औरंगाबाद, गया, नवादा र जमुईमा निर्वाचन सम्पन्न भएको ।

जम्मू कश्मिरको उधमपुरमा पनि शुक्रबार नै निर्वाचन सम्पन्न भयो । महाराष्ट्रका ५ सिटमा निर्वाचन सम्पन्न भयो । निर्वाचन भएको क्षेत्रमा रामटेक, नागपुर, भंडारा–गोन्डिया, गडचिरोली–चिमुर र चन्द्रपुर छन् ।

मध्य प्रदेशका ६ सिटमा शुक्रबार निर्वाचन सम्पन्न भयो । सिधी, शहडोल, जबलपुर, मण्डला, बालाघाट र छिन्दवाडामा शुक्रबार निर्वाचन भएको हो । आसामका काजिरंगा, सोनितपुर, लखिमपुर, डिब्रुगढ र जोरहाटमा पनि शुक्रबार निर्वाचन सम्पन्न भए ।

छत्तीसगढको बस्तरमा निर्वाचन भएको छ । राजस्थानमा भने शुक्रबार नै १२ सिटमा निर्वाचन भयो । गंगानगर, बिकानेर, चुरु, झुन्झुनु, सिकर, जयपुर ग्रामीण, जयपुर, अलवर, भरतपुर, करौली–ढोलपुर, दौसा, र नागौरमा शुक्रबार निर्वाचन भएको हो ।

त्रिपुराको त्रिपुरा पश्चिम र मणिपुरको भित्री मणिपुर पनि शुक्रबार नै निर्वाचन सम्पन्न भएको हो । लोकसभासँगै ४ राज्य आन्ध्र प्रदेश, ओढिसा, अरुणाचल प्रदेश र सिक्किमको विधानसभा चुनावको मिति पनि सार्वजनिक गरिएको छ ।
प्रमुख निर्वाचन आयुक्त राजीव कुमारले हिमालयदेखि समुद्र र मरुभूमिदेखि उत्तर–पूर्वीसम्मका बुथमा समान सुविधा दिइएको बताए ।

८५ वर्षभन्दा माथिका तथा अपांगता भएका मतदातालाई घरमै बसेर मतदान गर्नका लागि फारम पठाइएको थियो । उनीहरू बुथमा आएको खण्डमा आयोगका स्वयंसेवकले सहयोग गर्ने व्यवस्था मिलाइएको थियो । चुनावी काममा करार कर्मचारी या स्वयंसेवक भने खटाइएन । मतदातालाई उम्मेद्वारका बारेमा एपमार्फत जानकारी गराइएको थियो ।

अहिले निर्वाचन भइरहेका नेपालसँग जोडिएका स्थान भाजपाको पुरानो गढको रूपमा चिनिएको छ । सन् २०१९ को लोकसभा निर्वाचनमा उत्तर प्रदेश भाजपाको गढको रुवमा स्थापित भएको थियो ।

यसैगरी उत्तर भारत पनि भाजपाको नेतृत्वको एनडिएको प्रभाव क्षेत्र मानिन्छ । साना ती राज्यहरूमा अहिले पनि एनडिएकै प्रक्षेपण गरिएको छ ।

प्रतिक्रिया