डान्स स्टारमा ७२ छानिए

ताप्लेजुङ । ‘ताप्लेजुङ डान्स स्टार सिजन–२’ को पहिलो अडिसन सम्पन्न भएको छ ।

प्रदेश–१ को अहिलेसम्मकै ठूलो धनराशिको पुरस्कार भएको दाबी गरिएको खुला नृत्य प्रतियोगिताको ताप्लेजुङका ९ वटै स्थानीय तह, पाँचथर र तेह्रथुमका ग्रामीण भेगमा पहिलो चरणको अडिसन सकिएको छ । अडिसनबाट ७२ जना प्रतिस्पर्धीलाई दोस्रो चरणका लागि छनोट गरिएको आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताको आयोजक दोखु युवा क्लब फुङलिङले शनिबार पत्रकार सम्मेलन गरी छनोट भएका प्रतिस्पर्धीको नाम सार्वजनिक गरेको हो । क्लबका वरिष्ठ सल्लाहकार अशोक आङ्बुहाङका अनुसार ७२ जना दोस्रो चरणको लागि छनोट भएका छन् ।

दोस्रो अडिसन २९ भदौमा ताप्लेजुङ सदरमुकाममा रहेको सिटी हलमा हुने क्लबका सचिव तथा कार्यक्रम संयोजक क्षितिज सुनुवारले बताए । विभिन्न चरणको छनोट सम्पन्न गरी आगामी २०७५ सालको दीपावलीको अवसरमा प्रतियोगिताको फाइनल कार्यक्रम गर्ने योजना बनाएको सचिव सुनुवारले जानकारी दिए ।

उनका अनुसार विभिन्न चरणबाट अन्तिम अर्थात् फाइनलका लागि १२ जना प्रतिस्पर्धीलाई छनोट गरिने र उनीहरूबीच मोबाइल एसएमएस भोटिङ प्रणालीमार्फत विजेता, उपविजेता र तृतीयको घोषणा गरिनेछ ।

‘ताप्लेजुङ डान्स स्टार सिजन–२’ को विजेताले दुई लाख मूल्यको स्कुटर पाउनेछ । यस्तै, उपविजेताले ५० हजारको ल्यापटप र तृतीय हुनेले २५ हजारको मोबाइल सेट प्राप्त गर्नेछन् । आयोजकका अनुसार फरक क्षमता भएका तथा असहाय बालबालिकाको सहयोगार्थ आयोजना गरिएको प्रतियोगिताको सिजन–१ ६ वर्षअघि २०६९ सालमा सञ्चालन भएको थियो ।

प्रतिक्रिया