सुदूरपश्चिममा गौराको रौनक

कञ्चनपुर । प्रदेश– ७ मा शुक्रबारदेखि गौरा पर्व शुरु भएकोे छ । यस पर्वमा शुक्रबार पञ्चमीका दिन महिलाले बिहानै स्नान गरी घर घरमा बिरुडा राखेका छन् ।

घरको एक कोठामा गाईको गोबरले लिपेर तामा पितलका भाँडाको बाहिरपट्टि पाँच ठाउँमा गाईको गोबर र दुबो लगाइ टीका र अक्षताले सिंगारेर धुप बत्ती बालेर पञ्चअन्न गहुँ, मास, गहत, गोरस र कलौ भिजाएर राखेर भगवन महेश्वरको आह्वान गर्ने कार्यलाई बिरुडा भनिन्छ ।

त्यस दिन महिलाले मांगलिक गीतहरु गाउँदै गाउँका पँधेरो, खोला, नदीको मुहानमा बिरुडा भिजाउनाका साथै पञ्च वनस्पति ९धान, साँउ, तिल, बेल र पातीको पुत्ला बनाएर पँधेरामा राखी पूजा गर्ने र बिरुडा लिएर मंगल गीतसँगै घरमा ल्याएर राख्ने गर्छन् । विवाहित महिलाले गौरा पर्वमा बर्त बसी कण्ठसूत्र धारणा गर्नुपर्ने र पुरुषसरह गायत्रीजप गरी भोजन ग्रहण गर्ने प्रचलन छ ।

सप्तमीका दिन महिलाले दिनभरि बर्त बसेर आफ्नो परिवारको सुख, समृद्धि र चिरायूको कामना गर्दै गौरा राख्ने ठाउँमा महेश्वरको पूजा गर्ने चलनसमेत यहाँको समाजमा रहेको स्थानीय पण्डित धर्मान्द जोशीले बताए ।

सात गाँठो पारिएको दुर्वासहितको कण्ठसूत्र (दुवधागो) पञ्चगव्य अभिषेक गरी गौराको खुटृामा राखिन्छ । अष्टमीका दिन रंगीचंगी कपडामा सजिएका महिलाले गौरा राख्ने ठाउँमा पञ्च वनस्पतिले बनाइएको गौराको प्रतिमालाई रेशमी कपडाले सिंगारेर महेश्वरको प्रतिमासँगै बाहिर ल्याएर आसनमा राखी ८ अध्याय र ८ खण्ड भएको अठेबाली परम्परागत फाग, गौराको गीतिकथा गाउँदै पूजा गरेर गौरा र महेश्वरलाई शीरमा राखी नाँच्ने गर्दछन् । यसै अवसरमा देउडा र ठाडो खेल खेलेर रमाइलो गरिन्छ ।

गौराको प्रसादका रूपमा बिरुडा आफन्तलाई प्रसादका रूपमा बाँडिने र भोलिपल्ट गौरा खेल्ने खेलाउनुका साथै देउडा गीत गाएर रमाइलो गर्ने गरिएको स्थानीय शिक्षक भरतबहादुर ऐरले बताए ।

गौरा पूजा गरी सकेपछि झाँकीसहित पञ्च वनस्पतिबाट बनाइएको गौराको प्रतिमालाई झाँकीसहित विसर्जन गरिने उनले जानकारी दिए। ‘गौरा पर्वमा नयाँ कपडा लगाउनाका साथै सेल, पुरी र चामलको पिठोबाट बनेको माणा, खीर, मालपुवा, बटुकजस्ता शाकाहारी पकवान खाने गरिन्छ ।’ यो पर्व प्रदेश– ७ सहित भारतको कुमाँउ र गढवाल क्षेत्रमा समेत विशेष महत्वका साथ मनाइने गरिन्छ ।

प्रतिक्रिया