बिम्स्टेक सम्मेलन आजबाट

काठमाडौं । चौथो बिम्स्टेक शिखर सम्मेलन आजदेखि काठमाडाै‌मा सुरु हुँदै छ । सात राष्ट्रका प्रमुखहरू सहभागी सम्मेलनमा सदस्य राष्ट्रबीच व्यापार र पारवहनका विषय उठ्नेछन् । सम्मेलनमा भाग लिन सबैभन्दा पहिले म्यानमारका राष्ट्रपति विन मिन्ट आइपुगे । उनी मंगलबार नै काठमाडौं उत्रेका हुन् ।

बुधबार श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना आए । भुटानका अन्तरिम सरकार प्रमुख छिरिङ वाङचुक पनि बुधबार नै काठमाडौं आइपुगेका थिए । सबैलाई उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखेरलले स्वागत गरे । म्यानमारका राष्ट्रपति मिन्टले बुधबार बुद्ध जन्मस्थल लुम्बिनीको अवलोकन गरे ।

बिहान साढे नौ बजे चार्टर विमानबाट गौतम बुद्ध विमानस्थल भैरहवा अवतरण गरेका राष्ट्रपति मिन्ट विमानस्थलबाट २२ किमी टाढा लुम्बिनीमा नेपाली सेनाको हेलिकोप्टरबाट गएका थिए । लुम्बिनीस्थित म्युजियम परिसरमा हेलिकोप्टरबाट अवतरण गरेलगत्तै राष्ट्रपति मिन्ट मायादेवी मन्दिरमा अवलोकन र पूजाको लागि पुगेका थिए । राष्ट्रपति मिन्ट मायादेवी मन्दिरसम्म गाडीबाट गएका थिए ।

राष्ट्रपति मिन्टलाई प्रदेश–५ का प्रमुख उमाकान्त झा, मुख्यमन्त्री शंकर पोखरेल, पर्यटन मन्त्री रवीन्द्र अधिकारी र लुम्बिनी विकास कोषका उपाध्यक्ष अवदेशकुमार त्रिपाठीले स्वागत गरेका थिए । मायादेवी मन्दिर परिसरमा ४५ मिनेट बिताएका मिन्टले भिक्षुसहित पूजा गरे । पूजालगत्तै राष्ट्रपति मिन्टलाई लुम्बिनी गुरुयोजनाको बारेमा लुम्बिनी विकास कोषका सूचना अधिकृत हरिध्वज राईले जानकारी गराए ।

लुम्बिनीको सांस्कृतिक महत्वबारे पुरातत्वविद् वसन्त विडारीले जानकारी गराए । पर्यटन मन्त्री रवीन्द्र अधिकारीले मिन्टलाई बुद्धमूर्ति उपहार दिए । मायादेवी मन्दिर र लुम्बिनीमा रहेका विभिन्न राष्ट्रका मोनास्ट्रिहरूको अवलोकनपछि राष्ट्रपति मिन्ट अपराह्न ३ बजे काठमाडौं फर्किए ।

बिम्स्टेक सम्मेलनमा सहभागी हुन आएका राष्ट्रपति मिन्ट २८ जनाको टोलीसहित बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा गएका थिए । १६ गते शनिबार श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना पनि लुम्बिनी जाने कार्यक्रम छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा भाग लिन सदस्य राष्ट्र श्रीलंकाका राष्ट्रपति सिरसेना काठमाडौं आइपुगेका हुन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज बिहान साढे ८ बजे आउनेछन् । बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद साढे ९ बजे, थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान ओचा सबा १० बजे त्रिभुवन विमानस्थलमा ओर्लने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल सरकारले सम्मेलनमा सहभागी राष्ट्रका राष्ट्रप्रमुखलाई अतिविशिष्ट सुरक्षा प्रदान गर्नेछ ।

उनीहरूको सुरक्षा र सम्मानार्थ उनीहरूले प्रयोग गर्ने सडक रुटमा एक घण्टा सवारीसाधन रोकिने गृहमन्त्रालयले जनाएको छ । धुलाम्य र हिलो हुने काठमाडौंलाई अहिले चिटिक्क पारिएको छ । बिम्स्टेक शिखर सम्मेलन दुई दिनसम्म काठमाडौंमा चल्नेछ ।

१४ र १५ गते दुई दिनसम्म चल्ने चौथो बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुने सात देशका सरकार प्रमुख र राष्ट्र प्रमुखको भेलालाई अन्य अन्तर्राष्ट्रिय समुदायले पनि चासोको साथ हेरेका छन् । यी सदस्य राष्ट्रमध्ये बंगलादेशकी प्रधानमन्त्री शेख हसिना उमेरको हिसाबले सबैभन्दा जेठी छिन् ।

बिम्स्टेक सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारका राष्ट्रपति विन मिन्ट, नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना, थाइल्यान्डका प्रधानमन्त्री प्रयुट च्यान, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र भुटानका प्रधानमन्त्री (चिफ एडभाइजर) दासो छिरिङको सहभागिता हुनेछ । सम्मेलनको अध्यक्षता नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सदस्य राष्ट्रका प्रमुख को हुन् ?
प्रधानमन्त्री नरेन्द्र मोदी (भारत)
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ६७ वर्षका भए । पहिलोपटक मोदी २०१४ मा भारतको १४औँ प्रधानमन्त्री भएका हुन् । मोदी यसअघि तीनपटक औपचारिक रूपमा नेपाल आइसकेका छन् । उनको कार्यकाल अब केही महिना मात्र बाँकी छ ।  मोदी २००१ देखि २०१४ सम्म गुजरात प्रान्तको मुख्यमन्त्री बनेका थिए ।

भारतीय जनता पार्टीका नेता मोदी हिन्दूवादी नेताका रूपमा चिनिन्छन् । सबा अर्ब जनसंख्या रहेको भारत विश्वमा शक्तिशाली मुलुक बन्नतर्फ तीव्र रूपले अघि बढिरहेको छ । मोदी बिम्स्टेक सदस्य राष्ट्रका सबैभन्दा शक्तिशाली प्रतिनिधि हुन् ।

उनी विश्वका शासकमध्ये निकै चामत्कारिक छवि बनाउन पनि सफल भएका छन् । २०१४ को आमनिर्वाचनमा उनको पार्टी भाजपा नेतृत्वको गठबन्धनले बहुमत हासिल गरेको थियो । भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणलाई बिम्स्टेक बैठकबाहेक अन्य महत्वपूर्ण विषयसँग पनि जोडेर हेरिएको छ ।

यो भ्रमणले नेपाल–भारत दुईपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउने कूटनीतिक क्षेत्रका जानकारहरूले बताएका छन् । मोदी र नेपालका प्रधानमन्त्री केपी ओलीले पशुपति क्षेत्रको धर्मशाला उद्घाटन गर्ने कार्यक्रम छ । नेपाल–भारत रेलमार्ग एवं ‘बल्क कार्गो’ का विषयमा गम्भीर रूपले वार्ता हुने दुवै देशका अधिकारीले जानकारी दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली (नेपाल)
नेपालका प्रधानमन्त्री केपी शर्मा ओली ६६ वर्षका भए । ओली नवगठित नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षसमेत हुन् । यसअघि, उनी ०७२ असोजबाट ०७३ साउनसम्म प्रधानमन्त्री रहेका थिए । पहिलो प्रधानमन्त्री कालमा भारतीय नाकाबन्दीविरुद्ध उनले लिएको अडानको सर्वत्र प्रशंशा गरिएको थियो ।

ओली ०७४ फागुनमा दोस्रोपटक प्रधानमन्त्रीको रूपमा चुनिए । पछिल्लो समय ओलीले भारतसँग सम्बन्ध सुधार गरेका छन् । २ करोड ८० लाख जनसंख्या रहेको नेपालमा १० वर्षे माओवादी द्वन्द्वले आर्थिक क्षेत्र तहसनहस भएको थियो ।

राष्ट्रपति विन मिन्ट (म्यानमार)
म्यानमारका राष्ट्रपति विन मिन्ट ६६ वर्षका भए । ४ जनवरी १९४८ मा जन्मिएका मिन्ट सन् २०१८ मा म्यानमारको राष्ट्रपति चुनिएका हुन् । राष्ट्रपति चुनिनुअघि उनी म्यानमारको संसद्मा सभामुख थिए ।

उनी म्यानमारकी स्वतन्त्रतावादी नेतृ आङ सान सुकीको पार्टी नेसनल लिग फर डेमोक्रेसीका नेता हुन् । पाँच करोडभन्दा धेरै जनसंख्या रहेको म्यानमारका राष्ट्रपति मिन्ट बौद्ध धर्म मान्छन् । उनले बुधबार लुम्बिनीको भ्रमण गरे ।

प्रधानमन्त्री प्रयुट च्यान ओचा (थाइल्यान्ड)
पूर्वी एसियाली मुलुक थाइल्यान्डका सैन्य सरकारका प्रधानमन्त्री प्रयुट च्यान ओचा ६४ वर्षका भए । ओचाको जन्म २१ मार्च १९५४ मा भएको हो । पूर्व सैनिक जनरल ओचा सैनिक ‘कु’ मार्फत सन् २०१४ अगस्ट २४ मा थाइल्यान्डको प्रधानमन्त्री बने ।

उनी सन् २०१० देखि सन् २०१४ सम्म रोयल थाई आर्मीका कमान्डर इन चिफ थिए । सात करोड जनसंख्या रहेको थाइल्यान्ड एसियाको मुख्य पर्यटकीय गन्तव्य मानिन्छ ।

प्रधानमन्त्री (प्रमुख सल्लाहकार) दासो छिरिङ वाङचुक (भुटान)
दक्षिण एसियाको सानो मुलुक भुटानका अन्तरिम चुनावी सरकारका प्रमुख सल्लाहकार दासु छिरिङ वाङचुक भुटानका कानुन व्यवसायी हुन् । उनले प्रधानन्यायाधीश पद पनि सम्हालेका छन् ।

वाङचुकलाई गत ८ अगस्टमा भुटानका राजाले संसदीय निर्वाचनका लागि गठन गरिएको चुनावी सरकारको प्रमुख सल्लाहकारका रूपमा नियुक्त गरेका थिए । आठ लाख जनसंख्या रहेको भुटान दक्षिण एसियामा तीव्र विकास हुने देशमा पर्छ ।

प्रधानमन्त्री शेख हसिना (बंगलादेश)
बंगलादेशकी प्रधानमन्त्री शेख हसिना ७० वर्षकी भइन् । उनी २००९ देखि बंगलादेशको प्रधानमन्त्री पदमा छिन् । यो उनको तेस्रो कार्यकाल हो । हसिना यसअघि सन् १९९६ देखि २००१ सम्म प्रधानमन्त्री भइसकेकी थिइन् । उनी बंगलादेशका प्रथम राष्ट्रपति सेख मुजिबुर रहमानकी छोरी हुन् । अहिले बंगलादेशमा चुनावको माहोल चलिरहेको छ ।

हसिनालाई नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले टेलिफोन गरेर जसरी पनि आउन भनेपछि उनी बैठकमा सहभागी हुन तयार भएकी हुन् । प्रधानमन्त्री हसिना बिम्स्टेक बैठकमा सहभागी हुने सात जनामध्ये एक मात्र महिला प्रतिनिधि हुन् । उनी उमेर र राजनीतिक निरन्तरताका हिसाबले सबैभन्दा जेठी छिन् ।

हसिना बिम्स्टेक सदस्य राष्ट्रहरूको प्रतिनिधिमा सबैभन्दा महत्वपूर्ण प्रतिनिधि हुन् । बिम्स्टेकका लागि बंगलादेशको भूमिका निर्णायक रहेको छ । बिम्स्टेकको उत्पत्तिमा बंगलादेशको अहम भूमिका छ । १६ करोड जनसंख्या रहेको बंगलादेशमा गरिबी पनि उत्तिकै छ ।

राष्ट्रपति मैत्रीपाला सिरिसेना (श्रीलंका)
श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना ६६ वर्षका भए । उनी २०१५ जनवरी ९ मा श्रीलंकाको राष्ट्रपति बनेका हुन् । सिरिसेना राष्ट्रपति हुनुभन्दा अगाडि तीनपटक मन्त्री भएका थिए । उनले सन् २०१५ को राष्ट्रपतीय निर्वाचनमा पूर्वराष्ट्रपति महिन्द्रा राजापाक्षेलाई हराएका थिए । दुई करोड जनसंख्या रहेको श्रीलंका बौद्ध धर्मावलम्बी मुलुक हो ।

सम्मेलनमा उठ्नेछ ‘गरिबी’
बिम्स्टेक सम्मेलनले विभिन्न देशका धर्म र संस्कृतिलाई एक ठाउँमा राख्ने प्रयास गर्नेछ । भारतका प्रधानमन्त्री मोदी र नेपालका ओली हिन्दू, भुटान, श्रीलंका, म्यानमार र थाइल्यान्डका सरकार प्रमुख एवं राष्ट्र प्रमुखहरू बौद्ध र बंगलादेशकी प्रधानमन्त्री हसिना मुस्लिम छन् । सात देशका सरकार प्रमुख र राष्ट्रप्रमुखहरूको यो भेला ऐतिहासिक धार्मिक भेटघाट पनि हुनेछ ।

बिम्स्टेक सदस्य देशबीच विद्युुत् सञ्जाल निर्माण गर्ने समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ । बिम्स्टेकका सात राष्ट्रबीच ग्रिड कनेक्टिभिटी हुने तयारी रहेको ऊर्जा मन्त्रालयले जानकारी दिएको छ । बिम्स्टेक सदस्य राष्ट्रबीच विद्युत् प्रसारण लाइनसम्बन्धी सहमतिका लागि मस्यौदामा प्रारम्भिक सहमति भइसकेको छ ।

सरकारले विदेशी राष्ट्र प्रमुख र अन्यको लागि सुरक्षा व्यवस्था निकै कडा बनाएको छ ।  भिभिआइपीको सुरक्षाको जिम्मेवारी सेनालाई छ । प्रहरी र सशस्त्र प्रहरी निकै खटिएका छन् । विमानस्थलदेखि कार्यक्रमस्थल सोल्टी होटलसम्म पुग्ने सडकको ठाउँठाउँमा गेट र स्वागत द्वारहरू निर्माण गरिएका छन् ।

सरकारले सम्मेलन हुने दिन भदौ १४ र १५ गते काठमाडौंमा शैक्षिक बिदा दिएको छ । सवारी जामलाई ख्याल गर्दै भदौ १३ र १५ गते बिजोर र १४ गते जोर नम्बरका सवारीसाधन मात्रै चलाउन पाइनेछ । सडकमा शंकास्पद लाग्ने व्यक्तिलाई सोधपुछ गरिएको छ । बुधबार साँझदेखि मुख्य सडकका सर्वसाधारणका घरदेखि पसलसम्म सुरक्षाकर्मीले निगरानी बढाएको छ ।

सडकभरि सुरक्षाकर्मी मात्र देखिएका छन् । सर्वसाधारणलाई भिड गर्न दिइएको छैन । भिभिआइपी ओहोरदोहोर गर्ने सडकहरूमा सिभिल पोसाकमा सुरक्षाकर्मी छरिएका छन् । यो सम्मेलनले नेपाललाई ऊर्जा, वैदेशिक व्यापार र पारवहनमा केही फाइदा हुने अर्थका जानकारहरूको विश्वास छ ।

प्रतिक्रिया