आज काठमाडौंमा सवारीलाई मात्र हैन, पैदल यात्रीलाई पनि सास्ती

काठमाडौं । बिमस्टेक बैठकमा भाग लिन विदेशी पाहुनाहरु आउने क्रम सुरु भएकाले प्रहरीले सवारी साधन मात्र हैन पैदल यात्रीहरुलाई बुधबार बिहानैदेखि रोक्न थालेको छ । बानेश्वरबाट सिभिल अस्पताल हिँडेका कतिपय मानिसहरु सडकमै रोकिनुपरेको थियो ।

विमानस्थलबाट सोल्टी होटलसम्म भीआइपीको सवारी चल्ने बेलामा प्रहरीले यात्रुहरुलाई सडकको किनारामै रोक्ने गरेको छ भने सवारी साधनलाई भित्री गल्ली प्रयोग गर्न सुझाव दिएको छ ।

भाडाका सवारी साधनहरु कम चलेका कारण गन्तव्यमा हिँडेका नागरिकहरु सडकका किनारामा उभिएर गाडी कुरिरहेको दृश्य जतात्यतै देख्न सकिन्छ ।
बिमस्टेक सम्मेलनमा सहभागी हुन दुई देशका राष्ट्रप्रमुख आउन लागेकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि कंलकीसम्मको रुटमा ओहोर दोहोर गर्ने सार्वजनिक सवारीका साधन चल्न रोक लगाइएको ट्राफिक प्रहरीले जानकारी दियो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार गौशाला, एयरपोर्ट, तीनकुने, नयाँबानेश्वर, माइतीघर, थापाथली, त्रिपुरेश्वर, कालिमाटी, कलंकी हुँदै चल्ने सवारी साधनहरु दुईतर्फी रोकिएको थियो ।

बिमस्टेक सम्मेलनका लागि श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना र भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार दासो छिरिङ वाङचुक काठमाडौं आएका छन् ।

सरकारले बुधबार बिजोर नम्बरका सावारी सधान मात्रै चल्न दिने भनेको छ । भोलि १४ गते जोर नम्बरका र पर्सि १५ गते बिजोर नम्बरका सावारी साधनमात्रै चल्न दिने सरकारले घोषणा गरेको छ ।

प्रतिक्रिया