पोलिटब्यूरो सदस्य भुजेल पक्राउ

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पोलिट्व्यूरो सदस्य उमा भुजेल (शिलु ) पक्राउ परेकी छिन् । भूजेलको पक्राउका बारेमा प्रहरीले भने आधिकारी जानकारी गराएको छैन ।

स्रोतका अनुसार काठमाडौंबाटै पक्राउ परेकी भुजेललाई टेकुस्थित काठमाडौं जिल्ला प्रहरी कार्यालयमा लगिएको बताइएको छ । स्रोतका अनुसार उनलाई सिआइबीले पक्राउ गरेको हो ।

भुजेल माओवादी जनयुद्धका बेला गोरखा जेल तोड्ने महिला कमाण्डर हुन् । अन्तरिम व्यवस्थापिकामा समेत विधायक रहेकी भुजेल माओवादी राज्य समिति सदस्य थिइन् ।

उनी ०४८ देखि विद्यार्थी राजनीतिमा आबद्ध भएर राजनीतिमा होमिएकी थिइन् । ०५३मा माओवादी जिल्ला समिति सदस्य त्यसपछि सचिव र इन्चार्ज समेत बनिन् ।

जनयुद्धक्रममा भुजेलले लामो समय सैन्य जीवन बिताइन् । ०५२ मा स्वयंसेवक दलदेखि प्लाटुन कमाण्डर हुँदै बृगेड कमिसार बनेकी भुजेलले एक वर्ष जेल जीवन बिताइन् । ०५७ चैत १७ गते भुजेल नेतृत्वमा महिलाहरूले गोरखा जेल तोडेका थिए । जनयुद्धमै श्रीमान् मारिएपछि वसन्तकुमार श्रेष्ठसँग पुनःबिहे गरेकी भुजेल पछिल्लो समय चन्द नेतृत्वको नेकपामा आवद्ध थिइन् ।

प्रतिक्रिया