नेपालको छवि संसारभर राम्रो छ

दीपकराज जाेशी, पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत

नेपाल बहुभाषिक, बहुधार्मिक तथा विविध भौगोलिक हिसाबले धनी भएको कुरा विश्वमाझ परिचित छ । यही कारणले नेपालमा वर्षैपिच्छे पर्यटकको घुइँचो लागिरहन्छ । नेपालमा हुने विभिन्न राजनीतिक घटनाक्रमले गर्दा पर्यटकको आवागमनमा कहिलेकाहीँ कमी हुने देखिएको छ । त्यसमाथि ०७२ सालमा गएको भूकम्प तथा भारतीय नाकाबन्दीले गर्दा केही मात्रामा नेपाल घुम्न आउने पर्यटकमा कमी देखिएको थियो । अहिले राजनीतिक स्थिरता हुनुका साथै छिमेकी मुलकसँग पनि राम्रो सम्बन्ध विस्तार भएको छ । त्यसमाथि सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउने घोषणा गरेको छ । यसै विषयमा केन्द्रित रही पर्यटन बोर्डले के कस्ता तयारी गरेको छ भनी पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीसँग सौर्य दैनिकका लागि चमिना भट्टराइले गरेको कुराकानीको सम्पादित अंशः 

नेपाल आउने पर्यटकको अवस्था कस्तो छ ?

  नेपालको पर्यटनका क्षेत्रमा निकै चुनौती छन् । यही चुनौतीका बीचमा पनि नेपालको सौन्दर्यता हेर्न आउने पर्यटकको आगमन संख्या निकै नै उत्साहजनक छ । ०७२ को भूकम्पपछि नेपाल आउने पर्यटकको अवस्था साह्रै नै प्रतिकूल थियो । पहिलो कुरा भूकम्पका कारण नेपालको धेरैजसो सम्पदामा क्षति पुगेको थियो ।

दोस्रो भूकम्पले प्रभाव नपारको सुरक्षित स्थानका बारेमा समेत पर्यटकको संख्या शून्य थियो । जस्तै पोखरा, चितवन, लुुम्बिनीजस्ता ठाउँमा समेत पर्यटक जाने अवस्था थिएन । त्यस लगत्तै नेपालमा अघोषित रूपमा भएको नाकाबन्दी र अस्थिर सरकारका कारण पनि नेपालको पर्यटन क्षेत्रलाई प्रभाव पारेको थियो ।

यो सबै अवस्था हुँदाहुँदै पनि सन् २०१६ मा करिब साढे सात लाख पर्यटकले नेपाल भ्रमण गरे भने सन् २०१७ मा करिब त्यो संख्या निकै बढेको छ । नेपालमा सबैभन्दा बढी पर्यटक २०१७ मा आएका छन् । अहिले सरकारको गतिशीलता र काम गर्ने शैलीका कारण पनि संसारभरमा नेपालको राम्रो सन्देश गएको छ । यसले नेपालमा पर्यटन विकासमा भूमिका खेल्छ ।

कुन मौसममा बढी पर्यटक आउँछन् ?
नेपालको पर्यटन मौसम केन्द्रित थियो । अक्टोबर र नोभेम्बरमा धेरै पर्यटक आउने अरू बेलामा कम हुने अवस्था थियो । अहिले यही पूर्वाधारको सीमिततामा पर्यटकको संख्या बढाउनका लागि कम आउने मौसममा पनि बजारलाई आक्रमक बनायौँ । त्यसको परिणाम जुलाईमा सबैभन्दा कम पर्यटक आउने समयमा पनि करिब ७३ प्रतिशत पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

नेपालमा आउने पर्यटक र विदेशमा प्रचारित नेपालको छविका हिसाबले अहिले नेपालमा पर्यटकको अवस्था उत्साहजनक छ । नेपाल आउने पर्यटकले मौसम कुरीरहने अवस्था अब छैन । जुनसुकै वेला पनि नेपाल भ्रमण गर्न सकिन्छ भन्ने कुरा विकास भएको छ ।

भूकम्पले प्रभाव नपारेका स्थानमा पनि पर्यटन जान नचाहनुको कारण के थियो ?

भूकम्पको लगत्तै संसारभरका सञ्चार माध्यम नेपालमा आए । उनीहरूले नेपालमा भूकम्प गएका कारण मान्छे मरेका, घर भत्किएका, मान्छे डराएर त्रसित भएका तस्बिरहरू संसारभर प्रसारित गरे ।

विदेशीहरूलाई लाग्यो पूरा नेपाल नै तहसनहस होला, बेथिति होला भन्ने ठाने । प्रायःजसो मुलुकमा त्यस्तो अवस्थामा लुटपाट बढी हुनेगर्छ । नेपालको राम्रो पक्ष भनेको जस्तोसुकै समस्यालाई पचाउन सक्ने क्षमता धेरै छ । त्यो पनि एउटा सकारात्मक पक्ष हो । पूर्वाधारमा धेरै नै प्रतिकूलता हुँदाहुँदै पनि नेपालमा पर्यटक आगमनको संख्या उत्साहजनक रह्यो ।

नेपाल आउने पर्यटकको चाहना कस्तो छ ? उनीहरू के गरे अझ राम्रो हुन्छ भन्ने ठान्छन् ?
पहिलो कुरा आधारभूत पूर्वाधार राम्रो होस् भन्ने चाहन्छन् नेपाल आउने पर्यटक दोस्रो कुरा नेपालमा आउने हवाइ भाडा अन्तर्राष्ट्रिय तुलनामा निकै महँगो छ । यहाँको सडकको कारण दुर्घटना धेरै हुन्छ भन्ने सन्देश गएको छ ।

त्यस्तै नेपालमा सांस्कृतिक रूपमा नै सेवा सत्कार गर्ने शैली राम्रो छ । यसप्रति पर्यटक रमाइलो मान्दछन् । यसलाई तालिम दिएर सेवाको स्तर बढाउन् भन्ने उनीहरूको चाहना छ ।

त्यस्तै सेवामा पनि दुई कुरा छ खाना बस्नजस्ता कुरामा ख्याल पु¥याउने अर्को यातायातमा साना साना ट्याक्सी हुन्छन् नेपालीको तुलनामा विदेशीको उचाइ मोटाइ बढी हुन्छ । त्यसमा पनि महँगो छ यसलाई सुधार गर्नुपर्नेछ । यसलाई सुधार गर्न सकियो भने नेपाललाई पर्यटकको क्षेत्रबाट नै विकास गर्न सकिन्छ ।

उनीहरू भौगोलिक रूपमा नेपालको कस्तो भूगोलमा जान रुचाउँछन् ?
हाम्रो देश प्राकृतिक रूपमा सुन्दर छ । यहाँको सुन्दरता, हिमाल, पहाड, तराई, खोलानाला छन् । नेपाल भनेको धेरै झरना भएको देश पनि हो । अर्को कुरा ५०\६० वर्षको पर्यटनको इतिहासमा नेपालको सगरमाथाको बारेमा धेरै प्रचारप्रसार भयो । उत्कृष्ट पर्यटकीय गन्तव्य भनियो ।

तर, हामीले सांस्कृतिक रूपमा नेपालको गर्नुपर्ने जति प्रचारप्रसार गर्न सकेनौँ सांस्कृतिक रूपमा नेपाल धेरै धनी छ । यति सानो देशमा सयभन्दा बढी जातजाति त्यतिकै भाषाभाषी छन् । नेपालमा बसोबासको रूपमा हेर्ने हो भने ४०\५० किलोमिटर हिँड्दा नयाँ वातावरण नयाँ संस्कृति नयाँ अनुहार देख्न पाउँछौँ ।

यो चिजलाई हामीले धेरै प्रचार गर्न सकेका छैनौँ । अब ‘नेपाल भ्रमण २०२०’ घोषणा भएको छ । यसमा हामीले ‘जीवनभर अनुभूत गर्न नपाउने कुरा नेपालमा अनुभूत गर्न पाइन्छ’ भन्ने शन्देश दिनेछौँ । त्यसै अनुसार प्रचारप्रसार गरिनेछ । नेपालमा हरेक दिन कुनै न कुनै जातजातिको पर्व वा जात्रा भइरहेको हुन्छ । यस्तो देश संसारमा कमै हुन्छ ।

यस्तो देशले मान्छेको ध्यान तानेको हुन्छ । त्यसलाई हामी सक्दो प्रचार गर्नेछौँ । यस्तै नेपामला फोटोग्राफरहरूको आकर्षण छ । नेपालमा जहाँबाट जसरी जस्तो फोटो खिचे पनि राम्रो आउँछ । यति सानो देशमा थरिथरिका फोटो खिच्न पाउने भनेर इच्छुक छन् उनीहरू । त्यसैले विभिन्न देशका फोटो ग्राफरहरूसँगको सहकार्य गरेर नेपाललाई फोटोग्राफी देशको रूपमा पनि प्रचार गर्न लागेका छौँ । यहाँका सुन्दर

स्थानमा पनि भूगोल र यातायाताका कारण पर्यटक पुग्न नसकेका धेरै स्थान छन् । त्यसमा भ्रमण वर्ष २०२० मा पर्यटक पुर्याउने योजना के छ ?

त्यसका बारेमा पनि हामीले योजना बनाएका छौँ । कम्तीमा सय वटा पर्यटकीय गन्तव्य पहिचान गर्ने भनेर लागेका छौँ । त्यसका लागि मन्त्रालय पनि लागेको छ । यसका लागि सार्वजकि सूचना पनि जारी भएको छ । प्रदेश सरकारसँगको सहकार्यमा प्रत्येक प्रदेशमा कम्तीमा १० वटा पर्यटकीय स्थानका पूर्वाधार तयार गर्न लागेका छौँ ।

हाम्रो बुझाइ सुन्दरस्थान हुने बित्तिकै त्यो स्थानलाई पर्यटकीय रूपमा विकास गर्न सकिन्छ भन्ने छ । तर, पर्यटक जानका लागि बाटो चाहियो, बस्ने खाने सुविधा हुनप¥यो, इन्टरनेट, बत्ती चाहियो पर्यटक भनेको छुट्टी मनाउन आएको हुन्छ र सुविधा खोज्छन् । त्यसैले सुविधा जुटेको र जुटाउन सजिलो हुने कुरामा ख्याल गरेर पर्यटकीय गन्तव्यको छनोट गर्ने काम हुँदै छ ।

नेपाल भ्रमण वर्ष आउन करिब डेढ वर्ष बाँकी छ । भ्रमण वर्षमा नेपालमा कति पर्यटक भित्र्याउने लक्ष्य छ ?

नेपाल सरकारको लक्ष्य २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने भन्नेछ । त्यो काम सहज पनि छैन र त्यति गाह्रो पनि छैन । केही काम गर्न सकियो भने त्यो पूरा गर्न सकिन्छ । यसका लागि २०१९ को सेप्टेम्बरसम्ममा भैरहवा विमानस्थलको काम पूरा हुने लक्ष्य छ ।

त्रिभुवन विमानस्थललाई पनि मर्मत गर्दा १८ बाट २१ घण्टा सञ्चालनमा ल्याउँदा केही सहज भएको छ । यसलाई अझै मर्मत गर्न सकियो भने २४सै घण्टा सञ्चालन गर्न सकिन्छ । त्यसो गर्दा अहिलेको उडान संख्यालाई बढाउन सकिन्छ ।

यी चीजलाई मात्रै सुधार गर्न सके पनि गाह्रो हुँदैन । तर, त्यति गर्न सकिएन भने गाह्रो हुन्छ । त्यसैले अहिले भएको भौतिक संरचनाको सीमाभित्र रहेर काम गर्ने र पर्यटक कम आउने मौसमलाई पनि आर्कषक रूपमा प्रचारप्रसार गर्ने तयारीमा छौँ । सन् १०१८ को लक्ष्य १२ लाख छ, ०१९ मा दुवै विमानस्थललाई पूरा गर्न सकेमा २० लाख पर्यटक भित्र्याउन सकिन्छ ।

यस क्षेत्रमा रहेका चुनौतीलाई समाधान गर्न राज्यका तर्फबाट के गरिनुपर्ला ?

नेपाल पर्यटन बोर्ड भनेको सुन्दर राम्रा र सम्भावना भएका गन्तव्यलाई प्रचारप्रसार गर्ने हो । अरू सवालमा राज्यलाई सुझाव दिने र सहजीकरण गर्ने हो । त्यो काम हामीले गरिरहेका छौँ । त्यस्तै आन्तरिक पर्यटकको प्रवद्र्धन हुनसक्यो भने त्यसले बाह्य पर्यटकलाई टेवा पुर्याउँछ ।

पछिल्ला दिनमा यो बढेको पनि छ । सरकारले बजेटमा पनि ‘पहिला देश अनि विदेश घुमौँ’ भन्ने नारासहित आन्तरिक पर्यटक प्रवद्र्धनका काम अघि बढाइँदै छ । यसै गरी राज्यको ध्यान भौतिक विकासमा जानु जरुरी छ । यसो गरियो भने भारतबाट पनि धेरै पर्यटक भित्र्याउन सकिन्छ । यसका लागि प्रयास भएका पनि छन् ।

यसको सहज के पनि छ भने नेपाल भारतमा खुला सिमाना, भौगोलिक बनोट, भाषा, धार्मिक महत्वले पनि सहज छ । यसका लागि भारत पनि सकारात्मक छ । यस्तै चाइनासँग पनि यस विषयमा कुरा भएको छ । अब नेपालमा सबै प्रकारले सहज भएकाले पर्यटक भित्र्याउन सकिन्छ ।

नेपाल आउने पर्यटकमा धेरैजसो कुन मुलुकका हुने गर्छन् ?

संख्याका हिसाबले भन्ने हो भने एक नम्बरमा भारतीय पर्यटक, दुईमा चिनियाँ, तीनमा पहिला श्रीलंका हुन्थ्यो, पछिल्लो वर्षदेखि अमेरिकन छन्, चारमा श्रीलंका, युके, जापान, जर्मनी, अस्ट्रेलिया, फ्रान्स, थाइल्यान्ड लगायतका छन् । त्यस बाहेक अन्य मुलुकका पर्यटकसमेत नेपाल घुम्न आउँछन् ।

अब नेपाल आउने पर्यटकले चाहेको स्थानमा एक्लै घुम्न, मन लागेका स्थानमा जान र नेपाली कोदो फापरको रोटी खान ढुक्कले पाउँछन् भन्ने वातारण बन्ने कुरामा कत्तिको ढुक्क हुनुहुन्छ ?

यसमा म पूर्णरूपले विश्वस्त छु । विश्वमा नेपाल एकदमै सुरक्षित गन्तव्य भएको मुलुक हो भन्ने छवि छ । किनभने नेपाल आउने पर्यटकले संसारका अन्य देशमा जस्तो चोरी ठगी र लुटपाटबाट दुःख पाएका छैनन् । नेपालको गाउँगाउँसम्म एक्लै पर्यटक घुमिरहेका हुन्छन् ।

भारत घुमेर आउने पर्यटकले नेपाललाई यी सवालमा स्वर्ग ठान्छन् । अब सरकारले गर्नुपर्ने काम भनेको सडकको पूर्वाधार बढाउनु, सडकलाई सुरक्षित बनाउनु प¥यो । यस्तै पदयात्रामा जाने पर्यटक हराउने बाटो भूल्ने समस्या छ । यसका लागि हामीले चलेका पदयात्रामा चिन्ह (संकेत) राख्ने काम सुरु गरेका छौँ । जहाँ बाँकी छ हामी राख्ने तयारीमा छौँ ।

स्थानीय समुदायलाई परिचालन गर्ने सुविधा दिने जस्ता काम भएका छन् । नेपाली भावना अरूको सेवागर्ने सवालमा राम्रो छ । यो क्षेत्रमा गरिने लगानीलाई छर्नु भएन योजना बनाएर काम गर्नुपर्ने हुन्छ । देशैभरि एकैपटक काम गर्ने सोच हटाएर क्रमैसँग विकास गर्ने सोचको विकास गर्नु आवश्यक छ । बाटो, यातायात, इन्टरनेटजस्ता कुराको विकास गर्ने र सबैले आफ्नो ठाउँलाई सफा र सुन्दर बनाउने हो भने पर्यटकीय क्षेत्र विकासमा टेवा पुग्छ । यसलाई सबैले आफ्नो दायित्वका रूपमा लिनुपर्छ ।

प्रतिक्रिया