एफपिओप्रति किन कम आकर्षण ?

एफपिओप्रति सर्वसाधारण लगानीकर्ताहरूको आकर्षण नरहेको भन्ने चर्चा चलेका छन् । पछिल्लो समयमा केही कम्पनीहरूले जारी गरेको एफपिओ सेयर सबै बिक्री भएन । देशको सबैभन्दा जेठो बैंक र बैंकहरूको ठूलो बैंक भनेर चिनिने नेपाल बैंकले जारी गरेको एफपिओ (फर्डर पब्लिक अफरिङ) ५० प्रतिशत पनि बिक्री भएन ।

नेपाल बैंकले सर्वसाधारणहरूका लागि १ करोड ७६ लाख कित्ता एफपिओ जारी गरेको थियो । तर, जारी भएको सबै एफपिओ बिक्री भएन । एनएमबी बैंकले पनि सर्वसाधारण लगानीकर्ताहरूका लागिप्रति कित्ता ३ सय ३३ रुपैयाँमा १ करोड १४ लाख कित्ता एफपिओ जारी गरेको थियो ।

तर, एनएमबीको एफपिओ भने अन्तिम समयमा बिक्री भएको थियो । त्यो पनि १५ प्रतिशत बोनस सेयरको जाल फिँजाएर । त्यसैगरी, केही महिनाअघि बुटवल पावर कम्पनी (बिपिसी) ले प्रतिकित्ता ५ सय १ रुपैयाँमा ४० लाख कित्ता एफपिओ जारी गरेको थियो । तर, बिपिसीको एफपिओ पनि सबै बिक्री भएन ।

विगतमा एफपिओ होस् वा आपिओ होस् आवेदन दिनेको भिड नै हुने गर्दथ्यो । कम्पनीले माग गरेभन्दा कैयाैँ गुणाले आवेदन पर्नेगथ्र्यो । तर, पछिल्लो समयमा भने यस्तो देखिएन । यसमा लगानीकर्ताहरूको आकर्षण घटेको हो वा अरू नै कारण थियो भन्ने पनि चर्चा सेयर बजारमा चल्ने गरेका छन् ।

तर, सिटिजन्स बैंकको एफपिओमा भने माग गरेभन्दा बढी गुणाले आवेदन परेको बताइन्छ । सिटिजन्स बैंकले सर्वसाधारणका लागि प्रतिकित्ता २ सयमा ४ लाख कित्ता एफपिओ जारी गरेको थियो । पछिल्लोसमयमा जारी भएको केही कम्पनीहरूको एफपिओ पनि सबै बिक्री भएन यसमा विभिन्न चर्चाहरू भएका छन् ।

कतिपयको भनाइमा यो समय एफपिओ जारी गर्न अनुकूल थिएन । कतिपयको भनाइमा पछिल्लो समयमा जारी भएको अधिकांश कम्पनीहरूको एफपिओको प्रिमियम मूल्य बढी भयो । पछिल्लो समयमा जारी भएका एफपिओको भाउ बजार भाउको हाराहारीमा नै थियो ।

एफपिओको भाउमा नै बजारमा किन्न पाइन्छ भने एफपिओमा लगानी ब्लक किन गर्ने भन्ने पनि कतिपयको भनाइ रहेको छ । त्यसो त पछिलो समयमा सेयर बजारको अवस्था पनि राम्रो भइरहेको छैन सेयर बजार ओरालो लागिरहेको छ भने नेप्से पनि घट्दो अवस्थामा छ । कारोबार रकम पनि न्यून मात्रमा हुने गरेको छ ।

लगानीकर्ताहरू अझै पनि डराइ रहेका छन् । अर्कोतर्फ बैंकहरूले धमाधम निक्षेपमा व्याज बढाइरहेका छन् । निक्षेपमा व्याज बढेपछि कर्जामा पनि व्याज बढ्नु स्वाभाविकै हो । यसको असर सेयर बजारमा पर्ने गरेको छ । बैंकको व्याजदर बढेपछि सेयर बजारमा असर पर्नु अर्थशास्त्रको सिद्धान्त नै हो ।

अहिलेको अवस्थामा सेयरमा लगानी गर्नभन्दा बैंकमा राख्दा फाइदा हुने कतिपय लगानीकर्ताको ठहर छ । किनकि, बैंकमा जोखिम हुँदैन । निश्चित् समयमा निश्चित् व्याज सुनिश्चित् हुन्छ । तर, सेयर बजारमा अनिश्चितताको जोखिम हन्छ । यसकारणले पनि एफपिओप्रति लगानीकर्ताहरूले त्यति चासो नदिएका हुन कि, ?

विगतमा कम्पनीहरूको एफपिओ जारी हुँदा माग गरेभन्दा कैयौँ गुणा बढीले आवेदन पर्नेगथ्र्यो । तर, अहिले भने एफपिओमा त्यस्तो आकर्षण लगानीकर्ताहरूमा देखिएन । अब लगानीकर्ताहरू पनि सचेत र चनाखा भइसकेका छन् ।

पछिल्लो समयमा जारी भएका एफपिओको भाउ नै बढी छ भन्ने कुरामा उनीहरू चनाखा भइसकेका छन् । एफपिओ जारी गर्ने कम्पनीहरू र नियमन निकाय धितोपत्र बोर्डले पनि एफपिओको प्रिमियम भाउमा लेखाजोखा गर्नुपर्ने देखिन्छ । कतिपयको भनाइमा त यस्तोमा कमिसनको चक्कर चल्ने गर्छ ।

त्यसो त देशका सबै क्षेत्रमा भ्रष्टाचार कमिसनको जालो व्याप्त रहेको अवस्थामा धितोपत्र बोर्ड अपवाद छ भन्ने विश्वास लगानीकर्तालाई छैन । जसो भए पनि नियमन निकायका कारणले लगानीकर्ता ठगिनु हुँदैन । यसमा नियमन निकायले ध्यान दिनुपर्छ । बिपिसी र नेपाल बैंकले एफपिओ जारी गर्न हतार गरेको विज्ञहरू बताउँछन् ।

कम्पनीहरूले आफ्नो पुँजी वृद्धि गर्न र संस्थापकको र सर्वसाधारणहरूको सेयर संख्याको अनुपात प्रतिशत मिलाउन एपपिओ जारी गर्छन् । एनएमबी बैंकलाई यो बाध्यता छ । नेपाल राष्ट्र बैंकले निर्देशन दिए अनुसारको पुँजी वृद्धि गर्न एफपिओ जारी गर्नुपर्ने बाध्यता नै थियो, एनएमबीलाई ।  एफपिओ जारी गर्नका लागि गतवर्षदेखि नै एनएमबी बैंक नेपाल धितोपत्र बोर्डको लाइनमा थियो ।

पछिल्लो समयमा केही कम्पनीहरूले भारी मात्रामा एफपिओ जारी गरेका कारणले पनि सेयर बजारले गति लिन नसकेको कतिपय सरोकारवालाहरूको भनाइ  रहेको छ । लगानीकर्ताहरूको अर्बाैं रकम एफपिओमा लगानी भएका कारणले पनि सेयर कारोबारमा कमी आएको र सेयरबजारले गति लिन नसकेको भनाइ विज्ञहरूको छ ।

एफपिओ सर्वसाधारणहरूमा बिक्री नभए पनि कम्पनीलाई केहि फरक नपर्ने देखिन्छ । एफपिओ बिक्री गर्ने जिम्मा लिएका पुँजीवालाहरूले नबिकेको एफपिओ सेयरहरू आफूले लिने प्रत्याभूत गरेका छन् । तर, पनि जारी भएका एफपिओहरू सबै नबिकेपछि यसले कम्पनीहरूको साखमा भने असर पुर्याउँछ ।

प्रतिक्रिया