यसरी बढ्दै छ हवाई दुर्घटना बिमा

नेपालमा हरेक दुर्घटनामा पीडिक र पीडितका परिवारले पाउने गरेको बिमा नाम मात्रैको जस्तै छ । सेवाग्राहीलाई आकर्षण देखाउन गरिएको बिमा सुविधा हात्तीको देखाउने दाँतजस्तै छ । अझ बिमाबापत पाइने सुविधा लिने प्रक्रियाका कारण सेवाग्राहीले अनेकौँ झन्झट बेहोर्नुपर्ने बाध्यता छ । देखाउँदा आकर्षक देखाउने दिने वेलामा भने जति नपाउने गरेको गुनासो पनि बारम्बार सुन्ने गरिन्छ ।

केही समय यता हवाई दुर्घटनामा पीडितका परिवारलाई दिइने बिमा बहसको विषय बनेको छ । अन्तर्राष्ट्रिय मापदण्डलाई हेर्ने हो भने, नेपालमा हवाई दुर्घटनामा हुने मानवीय क्षतिका लागि दिइँदै आएको बिमा रकम अत्यन्त न्यून रहेको छ । हवाई दुर्घटनामा पर्ने पीडितका परिवारले बिमाबापत पाउँदै आएको रकममा आठ गुणाले बढाउनका लागि नागरिक उड्डयन प्राधिकरणसँग सम्बन्धित अन्तर्राष्ट्रिय मन्ट्रियल महासन्धिलाई नेपालले अनुमोदन गर्न लागेको अधिकारीहरूले बताएका छन् ।

हवाई परिवहन विषयक नियमहरू एकीकरण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको उक्त महासन्धि नेपालमा दर्ता भएर सञ्चालित अन्तर्राष्ट्रिय हवाई कम्पनीहरूका लागि लागू हुनेछ । साथै, यसले उडानमा हुने ढिलाइ र त्यसले यात्रुमा पार्दै आएको असुविधालाई समेत सम्बोधन गर्ने विश्वास गरिएको छ । सन १९९९ देखि लागू भएको उक्त महासन्धि अनुमोदन भएमा नेपालको हवाई उडान क्षेत्रका लागि ठूलो उपलब्धि हुने विज्ञहरूको धारणा छ ।

यसले दुर्घटना मात्र होइन यात्रुले समेत प्रशस्त लाभ लिनसक्ने विश्वास गरिएको छ ।  अहिलेसम्म हवाई दुर्घटनामा भएको मानवीय क्षतिका लागि पीडितका परिवारलाई वार्सा महासन्धी र हेग प्रोटोकलअनुरूप विमान कम्पनीहरूले बिमा रकमवापत् २० हजार अमेरिकी डलर दिँदै आएका थिए । जुन रकम अन्तर्राष्ट्रिय मापदण्डलाई हेर्ने हो भने अत्यन्त न्यून भएको र त्यसका कारण सरकारले अन्तर्राष्ट्रिय हवाई उडानसम्बन्धी मन्ट्रियल महासन्धि अनुमोदन नगरेको बताउने गरिएको थियो ।

विभिन्न क्षेत्रबाट उक्त महासन्धिलाई अनुमोदन गर्न र हवाई क्षेत्रमा हुने दुर्घटना एवं यात्रुले भोगेका सास्तीलाई राहत पुग्ने भनेर दबाब दिएपछि अहिले त्यो संसद्मा अनुमोदनको अन्तिम चरणमा रहेको अधिकारीहरूको भनाइ छ । उक्त महासन्धि अनुमोदनलगत्तै बिमाबापत हाल पीडितका परिवारले पाउँदै आएको रकममा आठ गुणाले बढ्ने संस्कृति पर्यटन तथा नागरिक उड््ययन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताएका छन् ।

उनले भने, ‘हेग प्रोटोकलअनुसार यात्रुको मृत्यु भयो भने २० लाख डलर, सामानहरू नष्ट भयो हरायो भने त्यसको प्रतिकिलो २० डलर थियो । यो महासन्धि अनुमोदन हुनासाथ मृत्यु भएमा १ लाख ६० हजार डलर र सामानको प्रतिकिलो २४ डलर पर्न आउँछ । तोकिएको समयमा उडान नभएर पुग्ने क्षतिलाई पनि यसले सम्बोधन गरेको छ ।’

यसले हवाइ यात्रुले भोग्दै आएको समस्या र पीडितका परिवारलाई राहत मिल्ने बताइएको छ । हेग प्रोटोकलअनुसार यात्रुको मृत्यु भए २० लाख डलर, सामानहरू नष्ट भए अथवा हराएको खण्डमा प्रतिकिलो २० डलर पाउँथे । अब यो महासन्धि अनुमोदन हुनासाथ मृत्यु भएमा १ लाख ६० हजार डलर र सामानको प्रतिकिलो २४ डलरले क्षतिपूति पीडितले पाउनेछन् ।

यसका अतिरिक्त उक्त क्षतिपूर्ति चित्त नबुझेमा मृतकको जागिरको बाँकी अवधि अनि उसको आश्रित परिवारको संख्याका आधारमा थप क्षतिपूर्तिका लागि अदालतमा जाने व्यवस्थासमेत रहेको बताइएको छ । अन्तर्राष्ट्रिय मन्ट्रियल महासन्धि अनुमोदन नेपालको नागरिक उड्यन क्षेत्रका लागि ठूलो उपलब्धि हुने बताइन्छ । यसको अनुमोदन नेपालको नागरिक उड्डयन क्षेत्रका लागि ठूलो उपलब्धि हुने बताउँछन् अन्तर्राष्ट्रिय नागरिक उड्डयन विज्ञ प्रभाकर अधिकारी ।

उनले भने, ‘यो नेपालका लागि ठूलो उपलब्धि हो । ऐन बनाउन नपर्ने गरी सन्धि ऐनको दफा ९ दशमलव १ अनुसार स्वतः अनुमोदन गरेर सरकारले बुझाएको ६० दिनभित्र लागू हुनेगरी अगाडि बढीरहेको छ ।’ यसबाट नेपालमा दर्ता भएका नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स र बुद्ध एयरबाट विदेशमा यात्रा गर्ने सबै यात्रुले लाभ पाउने बताइएको छ ।

साथै, नेपालले आफ्ना देशका नागरिक कुनै पनि देशको विमान कम्पनीमा यात्रा गरे पनि उनीहरूका लागि यो नियम लागू गराउन सक्ने उड्डयन विज्ञ अधिकारीले बताए । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनका सदस्य रहेका १ सय ९१ राष्ट्रमध्ये १ सय ३१ वटा राष्ट्र यो महासन्धिको पक्षराष्ट्र भइसकेका छन् ।

यो महासन्धि आन्तरिक उडानका हकमा भने लागू नहुने बताइएको छ । त्यसका लागि छुट्टै कानुन बनाइने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकारीहरूको भनाइ छ । महासन्धि अनुमोदनलगत्तै त्यो प्रक्रिया सुरु हुने बताइएको छ ।

प्रतिक्रिया