नेकपाको वैचारिक र सांगठानिक व्यवस्थापनको सवाल

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको बीचमा एकतापछि नेपाल कम्युनिस्ट पार्टी एकताको ऐतिहासिक चरणबाट गुज्रिरहेको छ । नेपालको कम्युनिस्ट आन्दोलनमा संगठन सञ्चालनका विभिन्न शैली अवलम्बन गर्दै आएको भएता पनि अब नेकपाले तत्कालीन एमालेले अभ्यास गरेको सांगठानिक शैलीलाई नै एकता पछिको संगठन सञ्चालन पद्दती अपनाउने देखिन्छ ।

निःसन्देह, नेकपाको मातहतका कमिटी र जनवर्गीय संगठनको एकता पनि सोही परम्परा र शैलीबाट सम्पन्न हुनेछ । नेपालको कम्युनिस्ट आन्दोलनले फेरी एकपटक हजारौँहजार नेता, कार्यकर्तालाई नयाँ ढंगले जिम्मेवारी व्यवस्थापन गरिरहेको छ ।

१. नेता, कार्यकर्ताको भूगोलीकरण :
जनयुद्धका समयमा संगठनको फरक रूप हुन्थ्यो । कन्चनपुरका निश्चित संख्याका मानिस गएर ताप्लेजुङका ब्यारेकका सेनासँग विजय प्राप्त गर्न सक्थे, थप हतियार प्राप्त गर्न सक्थे त्यो पनि छोटो अवधिमा । उनीहरूका लागि त्यो सामान्य जस्तै थियो । तर, शान्तिपूर्ण रूपमा निर्वाचनको माध्यमबाट विजय प्राप्त गर्ने काममा त्यही शैली सहज हुँदैन । कैयौं कठिनाइ हुनसक्छ ।

विगतमा एमालेले अभ्यास गरेजस्तो चुनावमा विजय प्राप्तगर्न स्थायी प्रकृतिका पार्टी कमिटीहरू र स्थानीयस्तरमा स्थापित, लोकप्रिय र जनताका बीचमा भिजेको समाजिक नेतृत्वको आवश्यक पर्दछ । ती संगठनहरू खास गरी प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, नगरपालिका र गाउँपालिका समितिहरूमा केन्द्रित बनाउनु आवश्यक छ ।

त्यसकारण अब बन्ने भूगोलका संगठनमा सकेसम्म कार्यकर्तालाई आफू जन्मिएको वा स्थायी बसोवास भएको क्षेत्रमा संगठित गरिनु पर्दछ । उसले त्यहाँको स्थानीय भाषा, संस्कृति, जनताको आवश्यकता र चाहनालाई नजिककाट बुझेको होस् । तत्कालीन माओवादी केन्द्रका थुप्रै नेता, कार्यकर्तालाई यो मातहत एकताले ‘भूगोलीकरण’ गर्न सक्नुपर्छ ।

भनिन्छ, ‘युद्ध हतियार सहितको राजनीति हो र राजनीति हतियारविहीन युद्ध हो ।’ त्यसैले हतियारविहीन युद्ध जित्नका लागि ‘एक घर एक समर्थक र एक टोल एक संगठन’ को नीति अवलम्बन गर्नु जरुरी छ । यसका बारेमा हिजोका इतिहास, भूमिका, त्याग र जनताको चाहनालाई ध्यानमा दिएर नेतृत्वले बुभ्mनुपर्छ । यसले पार्टीलाई जनताका बीचमा अझ सहज र लोकप्रिय बनाउनेछ ।

२. वैचारिक काम :
तृणमूल तहसम्मको एकता सम्पन्न गरिसकेपछि पार्टीले तत्कालै वैचारिक अभियान सञ्चालन गरिहाल्नु पर्छ । त्यस्तो किसिमको अभियानलाई सफल बनाउन आधारभूत तहमा वैचारिक नेतृत्व निर्माण गर्नुपर्ने आवश्यकता पर्दछ ।

आधारभूत तहका नेताहरू पार्र्टीले विगतमा प्राप्त गरेका महानतम उपलब्धिहरू र पार्टीको क्रान्तिकारी कार्यनीति, कार्यदिशा र रणनीतिका बारेमा राम्ररी बताउनसक्ने हुनुपर्दछ । पार्टीका हजारौँहजार कार्यकर्तालाई वैचारिक हतियारले सुसज्जित गर्नु भनेको अत्यन्त कठिन र समय लाग्ने काम हो । संगठनलाई जीवन्त बनाई राख्न राजनीतिक वैचारिक अभियानलाई निरन्तरता दिनु अनिवार्य छ ।

वैचारिक काम फितलो हुँदै गएमा एकता पछिका ‘भीमकाय’ सांगठानिक संरचनाको प्रभावकारितामा ह्रास आउने निश्चितप्रायः छ । एकताको महाधिवेशनको तयारी भनेकै वैचारिक र सांगठानिक तयारी हो । विधानले तोकेबोजिम एकताको महाधिवेशन सम्पन्न गर्न विचारको क्षेत्रमा कामथाल्न ढिला भइसकेको छ ।

यसका बारेमा नेतृत्वले गम्भीर भएर सोच्नुपर्छ । नत्र भने पार्टी सिमलको रुखजस्तो हुनसक्छ । यो पार्टीलाई आकारमा मात्र होइन, बिचार, सिद्धान्त, नीतिगत सवालमा बलियो र शक्तिशाली बनाउनुपर्छ । त्यसो गर्न सकिएन भने जनताले कम्युनिस्ट पार्टीसँग गरेको आशा र भरोसा टुट्न सक्छ ।

२. वर्ग संंघर्ष :
कम्युनिस्ट आन्दोलन भनेको मूलतः वर्गीय आन्दोलन हो । श्रमजीवी वर्गको नेतृत्वमा शासन सत्ता कायम गर्न गरिने आन्दोलन नै कम्युनिस्ट आन्दोलन हो । स्वभावैले पार्टी सत्तामा रहेको वा नरहेको अवस्थामा वर्ग संघर्ष सञ्चालन गरिराख्नुपर्ने आवश्यकता रहन्छ । सत्तामा रहँदा वा नरहँदा श्रमजीवी वर्ग र दलाल नोकरशाही पुँजीवाद र साम्राज्यवादका पक्षधर शक्तिहरूसँग संघर्ष चलिरहन्छ ।

श्रमजीवी वर्गको नेतृत्वमा राष्ट्रिय पुँजीपति वर्ग समेतको सहयोगमा वर्ग संघर्ष गर्नुपर्दछ । माओत्सेतुङलगायत विश्वका महान् क्रान्तिकारी नेताहरूले गरेको पनि त्यही हो । नेपालको कम्युनिस्ट आन्दोलनको मूलप्रवाह नेकपाले कमरेड पुष्पलालको समयदेखि नै मध्यमवर्ग र राष्ट्रिय पुँजीपतिवर्ग (धनी किसान पनि) मित्रशक्ति बन्न सक्ने आन्दोलन र सो आन्दोलनलाई सफलतामा पु¥याउन निर्माण गर्नुपर्ने संगठनका तहहरू निर्माण हुन सकेनन् ।

माओको नेतृत्वमा सम्पन्न चीनको नौलो जनवादी क्रान्तिको प्रभावबाट कमरेड पुष्पलालको नेतृत्वमा गठित नेपाल कम्युनिस्ट पार्टीले राष्ट्रिय पुँजीपति वर्ग र मध्यम वर्ग समेतलाई संगठनको ढाँचाभित्र ल्याउन विगतमा या त सही नीतिको अवलम्बन गर्न सकेन या उनीहरूलाई समेट्ने नाममा वर्गीय पक्षधरतासमेत छोड्ने स्थिति उत्पन्न भयो । तसर्थ, आज क्रान्तिकारी कम्युनिस्ट पार्टीले उनीहरूलाई समेट्न उपयुक्त कार्यनीति र कार्यदिशा अवलम्बन गर्न आवश्यक छ ।

समाजमा विद्यमान वर्गीय अन्तर विरोधहरूको पहिचान र सार्वजनिक पहलकदमी गर्नुपर्दछ । २०औँ शताब्दिको तेस्रो÷चौथो दशकमा माओत्सेतुङले गरेको चिनियाँ समाजको वर्ग विश्लेषणमाथि मात्र भर नपरेर नेपाली कम्युनिस्टटहरूले नेपाली समाजको वर्तमान वर्ग विश्लेषण गर्दै वर्गीय पक्षधरताको आन्दोलनको नेतृत्व गर्नुपर्ने आजको ज्वलन्त आवश्यकता हो ।

जननेता मदन भण्डारीको वैचारिक छलाङ्ले नेपालको राष्ट्रिय पुँजीपति वर्गको ठूलो हिस्सा कम्युनिस्ट पार्टी निकट आएको तथ्य पनि कसैले भुल्नु हँुदैन । र, भारी जनमत पाएर पार्टी सत्तारूढ भएको वर्तमान अवस्थामा वर्ग संघर्षको सही रूप तय नभएमा सत्ता सञ्चालनमा ठूलो अलमल हुनेछ । सत्ता सञ्चालन वर्ग पक्षधरताबाट कथंकदाचित विचलित भएमा ठूलो दुर्घटना हुन बेर लाग्दैन ।

३. महिलाआन्दोलन र नेतृत्व :
करिब ५१ प्रतिशत जनसंख्या ओगटेको नेपाली महिला जगतमा नेकपाको संगठित पकड अझै हुन सकेको छैन । नेकपाले प्रथम महिला राष्ट्रपति बनाउन सफल भए पनि, राज्यको हरेक तहमा ३३ प्रतिशत सहभागिता सुनिश्चित गरिए पनि पार्टीका केन्द्रदेखि स्थानीय कमिटीहरूमा यो व्यवस्था अझै अभिव्यक्त हुन सकेको छैन ।

नेकपाको मातहत कमिटीको एकता प्रक्रियामा सबै तहमा ३३ प्रतिशत महिला सहभागी गराएर मात्र कमिटीहरू निर्माण गरिनु उपयुक्त हुन्छ । किनभने समाजमा महिलाको नेतृत्व स्थापित गर्न आधारभूत तहका पार्टी कमिटीहरूले विशेष भूमिका निर्वाह गर्न सक्छन् । पार्टी र जनवर्गीय संगठनका हरेक तहमा ३३ प्रतिशत महिला सहभागिताको अब व्यावहारिक रूपमै ग्यारेन्टी गरिनु पर्दछ । समाजमा विद्यमान लिंगीय विभेदलाई अन्त्य गर्न कठोर संघर्ष गरेको पार्टीले स्थापित अधिकारलाई व्यवहारमा उतार्न ढिलो भइसकेको छ ।

४. नेता, कार्यकर्ताको दोहोरो जिम्मेवारीको अन्त्य :
प्रदेश, जिल्ला र गाउँतहका पार्टी कमिटीहरूले सो क्षेत्रको राजकीय निकायका अतिरिक्त सहकारी, वन तथा खानेपानी उपभोक्ता समिति, नागरिक मञ्च, गैह्रसरकारी संस्था, विद्यालय व्यवस्थापन समिति, सामाजिक प्रतिष्ठानजस्ता संस्थाहरूमा रचनात्मक एवं नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्नुपर्दछ । आफ्नो क्षेत्रको विकास निर्माणमा नेकपाका नेताको अग्रसरता जरुरी छ ।

नेकपाजस्तो गणतन्त्र ल्याउन महत्वपूर्ण भूमिका खेल्ने पार्टी, संघीयता, धर्म निरपेक्षता र समावेशीकरणको जननी पार्टीले अब सामाजिक–आर्थिक रूपान्तरणमा त्यत्तिकै महत्वपूर्ण भूमिका खेल्न आफूलाई काबिल बनाउन सक्नुपर्दछ । संगठन निर्माण सँगसँगै विकास निर्माण, सामाजिक सहभागिता र प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्नसक्ने स्थानीय नेतृत्व निर्माणको कामलाई अगाडि बढाइनु आवश्यक छ ।

यही अवधिमा पार्टीका पूर्णकालीन र अल्पकालीन कार्यकर्ताहरूको सही छनोट र व्यवस्थापन गरिसक्नुपर्ने चुनौती विद्यमान छ । चुनाव जितेर गएको प्रतिनिधिहरूको दोहोरो कार्यकारी जिम्मेवारी हटाउने वर्तमान नीतिलाई कडाइका साथ लागू गर्नुपर्दछ । ‘कसैलाई खातमाथि खात कसैलाई पुर्पुरोमा हात’ भन्ने उखानबाट नेकपाको सांगठानिक व्यवस्थापन मुक्त हुने अपेक्षा गर्न सकिन्छ ।

नेकपाको केन्द्रीय सचिवालयले भर्खरै गरेको नेता कार्यकर्ताको राजकीय र पार्टी कायम रहेको दोहोरो कार्यकारी जिम्मेवारी अन्त्य गर्ने निर्णयलाई कडाइका साथ लागू गरिनु पर्छ । यसो गर्न सकियो भने पार्टीको सांगठानिक भूमिकाबाट कोही बाहिर रहँदैन र पार्टीको काम व्यवस्थित बन्दछ ।

अन्त्यमा :
नेकपाको संघीय, प्रादेशिक र स्थानीय सरकार सञ्चालनमा देखापरेका सामान्य कमीकमजोरीलाई तिललाई पहाड बनाएर देखाउने प्रवृत्तिबाट सजग रहँदै पार्टीले विशेष योजना बनाएर सबै सरकारलाई प्रभावकारी काम गर्नसक्ने वातावरण बनाउनु पर्दछ ।

ऐतिहासिक परिवर्तनको नेतृत्व गरेको पार्टीले जनताको आर्थिक समृद्धिको नेतृत्व गरोस् भन्ने अपेक्षा राख्नु नितान्त स्वभाविक थियो । त्यहीअपेक्षा पूरा होला भनेर नेपाली जनताले नेकपालाई मन खोलेर मत दिएका हुन् । आर्थिक समृद्धिका लागि परिवर्तनकारी आर्थिक नीति र सो नीति कार्यान्वयनमा पार्टीको नेतृत्वदायी भूमिका अपेक्षित छ ।

वर्तमान अवस्थामा नेपाली जनताले नेकपाभित्र संघर्ष र आरोप–प्रत्यारोप चाहेका छैनन्, एकता, पहलकदमी र रूपान्तरण चाहेका छन् । जनताले स्थायीत्व, शान्ति र समृद्धि चाहेका छन् । जनताको तिनै चाहनालाई सम्मान गर्दै पार्टी अघि बढ्न सक्यो भने मुलुक समृद्ध बन्नेमा दुई मत नहोला ।

प्रतिक्रिया