गोरु गाडाको निरन्तरता नै हिन्दू धर्म हो त ?

‘अबुझहरूका लागि अमेरिकनहरू म्लेच्छ नै हुन् । तर, तिनै म्लेच्छले गोरुगाडाको युगबाट विमान चढ्ने युगसम्म विश्वलाई कसरी पुर्याए ? भन्नेतर्फ नेपालका पण्डितहरू सोच्दैनन् । सनातन धर्म संस्कृति संकटमा पर्नुको मुख्य कारण यही हो । वास्तवमा म्लेच्छ भनेका त कुसंस्कार जीवितै राख्न खोज्ने पण्डितहरू हुन् । जो गोरुगाडाको युगलाई नै निरन्तरता दिन चाहन्छन् ’

पृथ्वीनारायण शाहको दिव्योपदेशमा उल्लेख गरिएका शब्द तथा भाषाको अर्थ बुझ्न आजको पिँढीलाई अप्ठ्यारो छ। पृथ्वीनारायण शाहभन्दा करिब एक शताब्दीपछिका आदिकवि भानुभक्तका कवितामा उल्लिखित शब्दहरू पनि अहिलेको पुस्तालाई अनौठा लाग्छन् । करिब डेढ सयदेखि दुई सय वर्षको सेरोफेरोमा नेपाली भाषामा धेरै परिवर्तन आइसकेको छ ।

अझ नेपाली भाषाको पहिलो शिलालेख हेर्ने हो भने त अर्थ नै लगाउन सकिन्न । नेपाली भाषाको पहिलो शिलालेख आजभन्दा करिब आठ सय वर्ष अघिको हो भन्ने प्रमाणित भएको छ । आठ सय वर्षअघिको नेपाली भाषा र अहिलेका नेपाली भाषीले बुझ्न सक्ने अवस्था छैन ।

अहिले जनजिब्रोबाट लोप भइसकेको संस्कृत भाषाको कुनै वेला ठूलो वर्चश्व थियो । कम्तीमा १० हजार वर्ष संस्कृत भाषाले आफ्नो साम्राज्य कायम गरेको विश्वास छ । जसरी आठ सय वर्षको अवधिमा नेपाली भाषाको स्वरूपमा अर्थ नै लगाउन नसकिने गरी परिवर्तन आएको छ, त्यसरी नै करिब १० हजार वर्षको कालखण्डमा संस्कृति भाषामा पनि अवश्यमेव अर्थ बुझ्न कठिनाई हुनेगरी परिवर्तन आएको हुनुपर्छ ।

उदाहरणका लागि ‘अहिल्या, द्रौपदी, तारा, कुन्ती, मन्दोदरी तथा । पञ्चकन्यास्मरेत्नित्यं महापातक नाशनम्।’ भन्ने एउटा श्लोक छ पुराणमा । पण्डितहरूको यो श्लोकको अर्थसमेत आआफ्नो ढंगले लगाएको पाइन्छ । एकथरीले अर्थ लगाएका छन्, ‘पञ्चकन्याको स्मरण नित्य गर्यो भने महापाप पनि नाश हुन्छ ।’

अर्काथरीले अर्थ लगाएका छन्, ‘पञ्चकं ना स्मरेत् नित्यम्’ ‘पञ्चकन्याको स्मरण नित्य गर्यो भने महापापको भागिदार हुनुपर्छ ।’ दुवै अर्थलाई नकार्न सकिन्न । अहिल्या, द्रौपदी, कुन्ती, तारा र मन्दोदरीलाई पञ्चकन्या मानिन्छ । जति सन्तान जन्माए पनि कन्या नै रहने वरदान पाएका यी पाँच महिलाहरूले त्यतिवेला अपनाएको जीवन पद्धति अहिले पनि समाजका लागि पाच्य हुने अवस्था छैन ।

त्यसैले, उनीहरूको नित्य स्मरण गर्नु पाप हो भनिएको पनि हुनसक्छ ।अर्कातर्फ यी पाँच महिला आफैँमा वीरंगना थिए, आफूले आँटे ताकेको पुर्याएरै छाडेका थिए, त्यसैैले यिनीहरूको नित्य स्मरण हुनु जीवनका लागि ऊर्जा हो, भनिएको पनि हुन सक्छ । अहिले पनि पण्डितहरू भन्छन् ‘वेदको अर्थ बुझ्नलाई आठ प्रकारका व्याकरण तथा भाषा पद्धतिको ज्ञान हुनु जरुरी छ ।’

वैदिक सनातनजस्तो ज्ञानको भण्डार भएको धर्मसम्प्रदायमा जे जति कुसंस्कारहरू छन्, कतिपय पुराणहरूमा अपराधिक गतिविधिलाई धर्म भन्दै प्रोत्साहन दिइएको छ त्यो गलत बुझाइको उपज हो । जसरी आठ सय वर्षअघिको नेपाली भाषालाई अहिले जस्ताको त्यस्तै अर्थ लगाउन खोज्दा अनर्थ हुन्छ, त्यसरी नै वेद तथा संस्कृत भाषाका पुराना ग्रन्थहरूलाई व्याख्या गर्ने क्रममा अनर्थ भएको पनि हुन सक्छ।

त्यसैले, धर्मग्रन्थमा लेखिएका कुराहरूलाई जस्ताको त्यस्तै अपनाउनुपर्छ भन्नु सर्वथा गलत हुनेछ। उदाहरणका लागि पतिको मृत्यु भएपछि विरहको अग्निमा जलेर सती हुनु भनिएको थियो होला । तर, अल्पज्ञानी दुष्ट व्याख्याता र प्रस्तोताले सिधै आगोमा जल्न प्रेरित गरे, जिउँदै जलाइदिन थाले । गरुड पुराण लेख्नेले कि त अर्थ बुझेन, कि त ऊ दुष्ट मनोवृत्तिको थियो ।

महिलाका लागि आचारसंहिता बन्दा पुरुषका निम्ति पनि अवश्य बनेको थियो होला । पुरुषलाई पनि आफ्नी जीवनसाथीको मृत्युमा त्यसैगरी, स्पष्ट सत् अर्थात् सही हुन भनिएको थियो । तर, उसमा चाहिँ उल्टै आफ्ना सहधर्मिणीहरू जीवितै रहेका अवस्थामा पनि अनेकौँ विवाह गर्ने रीत बस्यो ।

दार्शनिक एवं प्राकृतिक रूपमा वैवाहिक पद्धति वा परम्पराहरूमा एउटा अनौठो नियमको विचित्रता एवं विभिन्नता छ । विवाह पद्धतिको विकास त धेरैपछि भएको हो । तर, विवाह पद्धतिअघि पनि जीवन साथीको प्रचलन थियो । जीवनसाथी यस शब्दलाई अनेकौँ विग्रहद्वारा अर्थ लगाउन सकिन्छ ।

जस्तैः जीवनको साथी, जीवनलाई साथी, जीवनले अथवा जीवनद्वारा साथी, जीवनलाई अथवा जीवनका लागि, जीवनदेखि अथवा जीवनबाट साथी । जीवनको साथी, जीवनमा साथी । हुन त यी जुनसुकै विग्रहबाट आमाबुबालगायत सम्पूर्ण चराचरलाई पनि जीवनसाथीका रूपमा बुझ्न सकिन्छ ।

पति जसले पत्नीकै लागि रातदिन मिहिनेत गर्छ उसकै अनुहारमा अझै बढी खुसी देख्नका लागि परदेसिएर वा देशकै दूरदराजमा गएर कमाएर हातमा राखिदिन्छ वा एउटी पत्नी जसले पति, सन्तान र परिवारको खुसीका खातिर आफ्नो सम्पूर्ण न्यौछाबर गर्छे । हाम्रो समाजमा रहेको कुसंस्कार र कुसंस्कृतिलाई परिवर्तन गर्न सकिएन भने वैदिक सनातन धर्म संकटमा पर्नेवाला छ । यस कार्यको अगुवाइ अब युवा जमातले नै गर्नुपर्दछ ।

सभ्य समाज निर्माण गर्ने मूल भूमिका अब युवाको काँधमा आएको छ । यस्ता विभेदपूर्ण संस्कार संस्कृतिलाई रूपान्तरण गर्दै लैजाने कुरामा युवा पिँढी नै अगाडि आउनुपर्छ । हिजो महिला बोल्न सक्दैनथे । त्यो वेलाको अवस्था पनि त्यही प्रकारको थियो । बाध्य भएर महिलाले सबैकुरा मान्दै र गर्दै आए, तर अहिले त्यो अवस्था छैन् ।

गलत कुराको विरोधमा महिला आफैँ अगाडि आउन सक्छन् र आउनुपर्छ ।त्यो वेलाको समाजले सिर्जना गरेको कुरा अहिलेसम्म हामीले बोकेर हिँडेका छौँ । जसलाई जरैबाट उखेलेर फाल्नका लागि सामाजिक कार्यकर्ता र राजनीतिक दलहरूले कुसंस्कारका विरुद्ध अभियान नै चलाउनुपर्छ। खासगरी, राजनीतिक पार्टीहरूको संगठन स्थानीय निकायसम्म हुन्छ ।

त्यसैले कुसंस्कार परिवर्तनका लागि पार्टीहरूले चलाउने अभियान प्रभावकारी हुन्छ । समाजमा चेतनाको विकास हुन्छ।जसले मानिसहरू ठीक र बेठीक के हो भनेर आफैँले छुट्याउन सक्ने अवस्था छ । समाज रूपान्तरणका लागि नीति बनाउने र लागू गर्ने काम पनि राजनीतिक दलहरूबाट नै हुन्छ । सभ्य र विभेदरहित समाज निर्माण गर्ने मुख्य भूमिका पनि राजनीतिक दलहरूकै हुन्छ ।

हरेक राजनीतिक पार्टीले जात र धर्मको आधारमा हुने विभेदलाई अन्त्य गर्ने र विभेद गर्न प्रोत्साहन गर्ने खालका गातिविधिमा संलग्न हुने नेता कार्यकर्तालाई कारबाही गर्ने पद्धतिको विकास गर्नुपर्छ । राजनीतिक पार्टीले मान्छे–मान्छेबीच हुने विभेद र संस्कार संस्कृतिका नाममा हुने विभेदका विरुद्धको अभियानलाई प्राथमिकतामा राखेर योजना बनाउने र कार्यान्वयन गर्नुपर्दछ ।

पार्टीहरूले आफ्नो घोषणापत्रमा समेत सामाजिक कुरीति र कुसंस्कारबारे किटान गरेर जानुपर्छ । पुराना राजनीतिक पार्टीहरू केबल ठुल्ठूला राजनीतिक मुद्दाका मात्र कुरा गर्छन् तर, समाजमा हुने कुरीति कुसंस्कारविरुद्ध आवाज उठाएको पाइँदैन । मुलुकको अस्तित्वमा रहेका पार्टीहरूले समाज रूपान्तरणमा भन्दा सत्ता परिवर्तन र राजनीतिक एजेन्डालाई मात्र प्राथमिकता दिँदै आएका छन् ।

जसले गर्दा समाजमा अहिले पनि महिला दोस्रो दर्जाकै नागरिक हुन बाध्य बन्नुपरेको छ । महिनौँ नधोएको कन्दनी मात्र लगाएर भान्सा पस्ने ब्राह्मणहरूलाई यो थाहा छैन कि, लुगा फुकालेर खाना खानुको मतलब खेतबारीमा काम गर्दा लुगामा लागेको फोहोर खानामा पर्नसक्छ भनेर त्यसो गरेको । उनीहरूलाई त खालि लुगा खोल्नुपर्छ भन्ने मात्र थाहा छ, तर महिनौँ नधोएको कन्दनी अरू केही महिना नधोए पनि फरक पर्दैन ।

के यस्तो कुराहरूमा धर्म गुरुहरूले कहिले बोल्नुपर्छ भनेर सोचेका छन् ? यदि, धर्मले एक अर्कामा विभेद गर्न सिकाउँछ, अरू छुट्टै धर्म मान्ने मान्छेहरूलाई घृणा गर्न सिकाउँछ भने ती विभेदकारी कुराहरूलाई चाहिँ उखेल्नै पर्छ ।हाम्रा पण्डितहरू श्रीकृष्णले सबै जनजनहरूमा पे्रम फैलाएको वर्णन त मजाले गर्छन् तर व्यवहारमा लागू कहिल्यै पनि गर्न सक्दैनन् ।

न त आफ्ना स्रोताहरूलाई श्रीकृष्णजस्तै असल प्रेमी बन्नका लागि अभिप्रेरित गर्न सक्छन् । पढेरलेखेर मात्रै कुनै मान्छे विद्वान हुन सक्दैन, विद्वान हुन बुद्धि हुनुपर्छ । हाम्रा पण्डितहरू छोराछोरी भेट्न विमान चढेर अमेरिका पुग्छन् । अमेरिका घुमेपछि ठुल्ठूला बिल्डिङ, फराकिला सडकहरू र चिल्ला कारहरू त सबैले देख्छन् तर नेपालमा यसो हुन नसक्ने कारण के हो भनेर बुझ्नसक्ने धेरै कम नै हुन्छन् । ती अबुझहरूका लागि अमेरिकनहरू म्लेच्छ नै हुन् ।

तर, तीनै म्लेच्छले गोरुगाडाको युगबाट विमान चढ्ने युगसम्म विश्वलाई कसरी पुर्याए ? भन्नेतर्फ सोच्दैनन् । उनीहरू धर्म संस्कृतिभित्रका कालोमैलो फाल्नेतर्फ भन्दा त्यही फोहोरलाई जीवित राख्दा मात्रै आफ्नो पेसा सुरक्षित हुने सपना देख्छन् । सनातन धर्म संस्कृति संकटमा पर्नुको मुख्य कारण यही हो । वास्तवमा म्लेच्छ भनेका त कुसंस्कार जीवितै राख्न खोज्ने पण्डितहरू हुन् । जो गोरुगाडाको युगलाई नै निरन्तरता दिन चाहन्छन् ।

प्रतिक्रिया