लेखकः अञ्जु कार्की
‘माइती गाउँमा पुगेर आफ्नो आर्थिक औकात देखाउन राम्रा कपडा र गहना लगाउने पुरानै चलन हो । त्यतिवेला औकात देखाउन राम्रा लुगा तथा गहनाको सहारा लिनुपथ्र्यो तर सूचना तथा प्रविधिको अहिलेको युगमा राम्रा लुगा तथा गहनाले औकात देखिने होइन । त्यतिवेला मीठा मसिना खाने कुराहरू थोरै थिए, अहिले धेरै छन् । तर, धेरै छन् भन्दैमा महिनौसम्म पार्टी गरिरहनु पर्छ र ? मनोरञ्जनका नाममा रक्सी पिउनै पर्छ र ? ’
साउनदेखि कात्तिकसम्मका चार महिनालाई चाड पर्वको मौसम भन्ने गरिन्छ । नेपाल सांस्कृतिक रूपमा निकै समृद्ध छ । कुनै चाड पर्व नपरेका दिन हुँदैनन् । हरेक तिथिको छुट्टाछुट्टै धार्मिक तथा सांस्कृतिक महत्व छ ।
तर, साउनदेखि कात्तिक महिनाभित्रका धेरैजसो तिथिहरूलाई धार्मिक तथा सांस्कृतिक महत्व दिने परम्परा छ । फरक यत्ति हो कुनै तिथिलाई बढी महत्व दिइन्छ भने कुनैलाई कम महत्व दिइन्छ ।
खास गरी साउने सक्रान्ति, नागपञ्चमी, कुशे औँसी, श्रीकृष्ण जन्माष्टमी, तिज, गाईजात्रा, बडादसैँ, तिहार (यमपञ्चक) र ठूली एकादशी पर्व विशेष रूपमा मनाउने चलन नेपालको पहाडी समुदायमा छ। पहाडी समुदायमध्ये पनि खस–आर्य समुदायमा यी चाड पर्वहरूको विशेष महत्व छ । तर, मधेसी समुदायमा भने यी चाड पर्वहरूको खासै महत्व छैन ।
मधेसी समुदायमा कात्तिकको अन्तिमदेखि चाडपर्वको मौसम सुरु हुन्छ । खासगरी छठ, होली र माघी पर्वलाई मधेसी समुदायले विशेष महत्वका साथ मनाउने गरेको पाइन्छ । पहाडी समुदायले साउनदेखि कात्तिकसम्मका चाड पर्वहरूलाई विशेष महत्वका साथ मनाउने तर मधेसी समुदायले कात्तिकदेखि चैतसम्मका चाडपर्वलाई विशेष महत्वका साथ मनाउने प्रचलन देखिन्छ ।
दुवै समुदायले आफूलाई हिन्दू भन्छन् तर, चाडपर्वको महत्व भने फरकफरक छन् । किन यस्तो पृथकता ? भन्नेतर्फ संस्कृतविद्हरूले पनि खासै अध्ययन गरेको देखिँदैन । संस्कार विकसित हुँदै संस्कृति बनेको हो र संस्कृति विकसित हुँदै धर्मसम्प्रदाय बनेको हो भन्ने कुरामा दुई मत देखिँदैन ।
मानिस जुन भौगोलिक परिवेशमा बस्छ त्यहीअनुसार उसको संस्कार तथा संस्कृति निर्माण हुँदै जान्छ । त्यही भौगोलिक परिवेश अनुसारका किंवदन्तीहरू विकसित हुँदै जान्छन् । पछि तिनै किंवदन्तीहरू सांस्कृतिक ग्रन्थमा समावेश हुँदै जान्छन् । हाम्रा कतिपय धार्मिक ग्रन्थहरू यस्तै किंवदन्तीका उपज हुन् ।
त्यसैले, वेदमा उल्लेख गरिएका बाहेक अरू ग्रन्थमा उल्लेख गरिएका धार्मिक प्रावधानमा मतान्तर रहेको पाइन्छ । यस्ता, विवाद र मतमतान्तर बढेको अवस्थामा वेदलाई आधार बनाएर निक्र्योल गर्नुपर्ने मान्यता योगी नरहरिनाथको थियो । उनी भन्ने गर्थे, ‘वेद भेनको फेद हो, केही अन्योलता भयो भने वेद हेरेर निक्र्योल गर्नु ।’ यतिवेला नेपाली महिलाहरूको ठूलो पर्व तिज मुखमा आइसकेको छ ।
चाडपर्व र संस्कृतिमा भौगोलिक क्षेत्रले पार्ने प्रभावका सन्दर्भमा तिज पर्वलाई नै केन्द्र मानेर विश्लेषण गर्नु सान्दर्भिक हुनेछ । तिथिका आधारमा मनाइने धेरैजसो पर्व कहिले कुनै महिनामा र कहिले कुनै महिनामा पर्छन् तर तिज र तिहार यस्ता, पर्व हुन् जो निश्चित महिनामा पर्छन् । तिज पर्व सधैँ भदौमा पर्छ । तिहार पर्व सधैँ कात्तिकमा पर्छ । तिज र तिहार महिलाका विशेष चाड हुन् ।
यी दुवै पर्वले महिलाहरूलाई कर्मघर र जन्मघरसँग जोड्छन् । तिजका चारदिन विवाह भएका छोरीलाई अनिवार्य रूपमा माइती लैजाने चलन छ । माइती पक्षले मीठो मसिनो खान दिने, नयाँ कपडा किनिदिने चलन छ । अघिपछि एक्लै माइती जान सकिने भए पनि तिजको वेलामा भने माइती पक्ष लिनै आउनुपर्छ । लिन आउनु भनेको ठूलो सम्मान हो ।
विवाह भएर टाढा–टाढा पुगेका छोरीचेलीहरू माइती गाउँमा जम्मा भएर गीत गाउँदै मनोरञ्जन गर्ने परम्परा पनि छ । तिजमा गाइने गीतहरू भगवान्को भक्ति आराधानाका अतिरिक्त दुःखसुखसँग पनि सम्बधित हुन्छन्। एक गाउँको चालचलन तथा संस्कार र अर्को गाउँको चालचलन तथा संस्कारको समिश्रण हुने मौका यस्ता गीतहरूले प्रदान गर्छन् ।
साथै तिजको अवसरमा भगवान् शिवजीको आराधना गर्दै आफ्ना पति तथा सन्तानको दीर्घायुको कामना गरेर व्रत बस्ने प्रचलन पनि छ । तिजको अन्तिम दिन रजस्वला निवृत्त नभएका महिलाहरूले सप्तऋषिहरूको विशेष पूजा गर्ने प्रचलन पनि छ । तिज पर्व मनाउने संस्कृति कहिलेदेखि सुरु भयो ? भन्ने एकिन छैन तर हजारौँ वर्ष पुरानो हो, भन्ने सहज अनुमान लगाउन सकिन्छ ।
हजारौँ वर्ष पहिले जुन परिवेशको समाज थियो त्यही परिवेशमा मनाउन थालिएको चाड पर्व अहिले पनि जस्ताको त्यस्तै मनाउँदै आइएको अवश्य पनि छैन होला । मनाउने विधि तथा तौरतरिका परिवर्तन हुँदै आएका छन् र आउनु पनि पर्छ । पशुपालनबाट खेतीपातीको युगमा नेपालीहरू आइपुगेको हजार वर्षभन्दा बढी भएको छैन । तिज पर्व खेतीपातीको युग सुरु नहुँदैदेखि मनाउन थालिएको हो।
हिमाली क्षेत्रमा पशुपालन गर्नेहरूका लागि सबैभन्दा फुर्सदिलो र उत्पादन दिने समय भनेकै साउनदेखि कात्तिकसम्म हो ।त्यतिवेला उच्च पहाडी तथा हिमाली क्षेत्रमा मात्रै बसोवास थियो । साउनदेखि कात्तिकसम्म हिमाली तथा उच्च पहाडी क्षेत्रमा प्रशस्त घाँस पलाउँछ । भेडाबाख्रा, गाईभैँसीका लागि घाँसको जोहो गर्नु पर्दैन, खर्कमा लगेर छाडिदिए हुन्छ । गाईभैँसी ब्याउने समय भएकाले दूध घिउ पनि यो मौसममा प्रशस्त हुन्छ ।
भेडाबाख्राका पाठापाठीहरू पनि यही मौसममा हर्लक्क बढ्छन् । चाडपर्व मनाउन र माइत जान सबै दृष्टिकोणले अनुकूल हुने, समय मिलाएर तिज पर्व रोजिएको हुनुपर्छ । पत्नीले पतिको दीर्घायुको कामना गर्दै भोकै बस्नुपर्ने तर पतिले पत्नीको दीर्घायुको कामना गरेर भोकै बस्नु किन नपर्ने ? यो त महिलामाथिको विभेद भएन र ? भन्ने प्रश्न हिजोआज उठ्ने गरेका छन् । यस्ता, प्रश्न उठ्नु पनि पर्छ ।
यस्ता प्रश्न उठेनन् भने हाम्रा सांस्कृतिक कुप्रथाहरू अन्त्य हुन सक्दैनन् । तर, यस्ता प्रश्न उठाएर चाडपर्वको महत्वमाथि नै धावा बोल्नु भने हुँदैन । तिज पर्व मनाउन सुरु हुँदा ताकाको परिवेश कस्तो थियो होला ? भन्ने अनुमान दिमागमा लगाउनुपर्छ । पशुपालन र सिकारको त्यो युगमा महिलाले आफ्नो पति र सन्तानको दीर्घायुको कामना गर्दै भगवान्को आराधाना गर्नु अस्वाभाविक थिएन ।
घरपालुवा जनावरलाई खर्कमा छाडेर पुरुषहरू हिउँदका लागि खानेकुरा र शरीर ढाक्ने तथा जुत्ता बनाउने छालाको जोहो गर्न जंगली जनावरको सिकारमा जान्थे । महिलाहरू घरमा छोराछोरीको संरक्षण गरेर बस्थे । पुरुषहरू सिकार गर्न जाँदा हिंस्रक जनावरको आक्रमणमा पर्ने सम्भावना हुन्थ्यो । एउटा समुदायका सिकारी र अर्को समुदायका सिकारीबीच लडाइँँको सम्भावना हुन्थ्यो ।
सिकार खेल्ने क्रममा भीरबाट लड्ने सम्भावना पनि त्यत्तिकै हुन्थ्यो । त्यसैले, घरमा बसेकी पत्नीले पतिका लागि भगवान्को आराधना गर्दै मेरो पतिलाई तलमाथि नहोस् भनेर पुकार गर्नुबाहेक अर्को विकल्प के पो हुन्थ्यो, होला र ? तर, अहिले युग परिर्वतन भइसकेको छ । पशुपालनको युगबाट खेतीपातीको युगलाई पार गर्दै आधुनिक युगमा हाम्रो समाज पुगिसकेको छ । त्यसैले, तिज पर्व मनाउने संस्कार तथा तौरतरिकामा परिर्वतन आउन थालेको छ ।
तर, यो परिर्वतन सकारात्मक दिशामा हुनुपर्छ । छोरीचेली चार दिनका लागि माइत गएर बस्न व्यावहारिक रूपमा सम्भव छैन । तर, एक दिनका लागि जान त सकिन्छ, नि । मनोरञ्जनका लागि सुख–दुःखका गीत गाउनुको सट्टा आधुनिक म्युजिकले ठाउँ ओगटेको छ । तर, तिजकै मौलिक परम्परागत तथा भाकालाई समय सान्दर्भिक बनाउन त सकिन्छ, नि ।
माइती गाउँमा पुगेर आफ्नो आर्थिक औकात देखाउन राम्रा कपडा र गहना लगाउने पुरानै चलन हो । त्यतिवेला औकात देखाउन राम्रा लुगा तथा गहनाको सहारा लिनु पथ्र्यो तर सूचना तथा प्रविधिको अहिलेको युगमा राम्रा लुगा तथा गहनाले औकात देखिने होइन । सामान्य लुगा तथा गहना लगाए भइहाल्छ, नि । त्यतिवेला मीठा मसिना खाने कुराहरू थोरै थिए, अहिले धेरै छन् । तर, धेरै छन् भन्दैमा महिनौसम्म पार्टी गरिरहनु पर्छ र ? मनोरञ्जनका नाममा रक्सी पिउनै पर्छ र ?
प्रतिक्रिया