अमूल्य निधिको रक्षा आवश्यक

प्रदीप उप्रेती

राष्ट्रको गरिमालाई अक्ष्युण्ण राख्ने काम वास्तवमा भन्ने हो भने अत्यन्तै कठिन काम हो । यस्ता गतिविधि त्यस्ता समूह वा व्यक्तिले मात्र गर्दछन्, जसले मुलुकलाई अगाध माया गर्छन् । अविरल रूपमा सिर्जनशील कार्य गर्नु भनेको राष्ट्रप्रति असीम निष्ठा राख्नुसरह नै हो । मुलुकको इतिहास, कला, धर्म–संस्कृति तथा साहित्यिक धरोहरको रूपमा रहेको बहुमूल्य कला–साधनाको सिर्जना तथा रक्षार्थ अहोरात्र साधनारत रहनु वास्तविक अर्थमा राष्ट्रहितमा छ ।

मुलुकको ऐतिहासिक रत्नको रक्षार्थ महत्वपूर्ण जिम्मेवारी बोकी अहोरात्र परिश्रम गर्र्ने समूहलाई नष्ट हुनबाट जोगाइराख्ने कार्यमा कहिले, कहीँकतैबाट पनि कुनै प्रकारको कमीकमजोरीको महसुस हुनुहँुदैन । यदि गरिन्छ भने निश्चित रूपमा हामीले हाम्रो ऐतिहासिक धरोहरको रूपमा रहेको कलासंस्कृतिको संरक्षण गर्ने कार्यमा विलम्ब ग¥यौँ कि, भन्ने प्रश्नसमेत उठ्न सक्छ । यो हुनु भनेको मुलुकले आफ्नो स्रष्टाको उचित संरक्षण तथा संवद्र्धन गर्न नसकेको मान्न सकिन्छ ।

ऐतिहासिक कालखण्डमा सिर्जित कलाकृति तथा साहित्यिक कृतिहरूलाई आजपर्यन्त अजरअमर बनाइराख्न तात्कालीन स्रष्टाहरूले समयानुकूल मेहनत नगरिदिएको भए आज हामी हाम्रो इतिहास वा संस्कृतिबारे नै अनभिज्ञ रहने थियाँै । यिनै प्रयत्नका कारण नै आजको पुस्ताले पुरातात्विक सम्पदा तथा साहित्यिक कृतिलाई यथावस्थामा नै अवलोकन, अध्ययन तथा विश्लेषण गर्ने सुवर्ण अवसर प्राप्त गर्नुका साथै तत्कालीन समयको वस्तुस्थितिकोे बारेमा ज्ञान हासिल गर्न पाएको हो ।

तत्कालीन अवस्थामा रहेका सर्जकहरू राष्ट्रको बहुमूल्य सम्पत्ति संवद्र्धन गर्ने अविस्मरणीय कार्यमा नलागेका भए आज पुर्खाको नासोस्वरूप रहेका ती ऐतिहासिक सम्पदाहरू माटोमा त्यसै विलिन भएर जाने थिए । यी सम्पत्ति सुरक्षित राख्न सम्भव भएकै कारण आज हामीले विभिन्न विदेशी पाहुनालाई मुलुकको पौराणिक तथा मूल्यवान् ऐतिहासिक वस्तुस्थितिको बारेमा अवलोकन तथा अध्ययन गर्न लगाएबापत बर्सेनि करौडौँको विदेशी मुद्रा आर्र्जन गर्न सकेका हौँ । अतः, पर्यटन उद्योगको संवद्र्धन तथा प्रवद्र्धनमा साधकहरूको विशेष योगदानलाई भुल्नुहँुदैन ।

लोपोन्मुख साहित्यिक सिर्जनाका अलावा अभिलेख, शिलालेख, ताम्रपत्र आदिमा कँुदिएका ती महत्वपूर्ण कलाकृति तथा दस्ताबेजहरूलाई चिरकालपर्यन्त जोगाइराख्नुका साथै आफ्ना भावी पुस्ताको लागि पारितोषिकको रूपमा आज कसैले केही दिएको छ भने त्यो श्रेय पक्कै पनि तिनै स्रष्टालाई जाने निश्चित छ ।

मुलुकको बृहत्तर हितका खातिर महत्वपूर्ण पौराणिक सामग्रीको रक्षार्थ लाग्ने स्रष्टाको सम्मान गर्न कदापि मुलुक पछि पर्नुहँुदैन । यिनीहरू भनेका राष्ट्रका गरिमा हुन्, जसको उपस्थितिविना राष्ट्रले आफ्नो इतिहास, धर्म–संस्कृति, कलाकृति, रीतिथिति भेषभूषाका साथै साहित्यिक कृति आदिको जगेर्ना गर्न पनि सक्दैन । इतिहासलाई नजिकबाट नियाल्ने हँुदा यस्ता व्यक्ति वा समूहलाई द्रष्टाको उपमासमेत दिन सकिन्छ ।

इतिहासका प्रत्यक्ष साक्षीसमेत रहेका यस्ता साधकहरू नेपाली संस्कृतिका संवाहक हुन् । इतिहासको कालखण्डदेखि आजसम्म तथा भावी पुस्ताको लागिसमेत उल्लेख्य कार्यमा लाग्ने समूह वा व्यक्तिलाई कहीँकतैबाट कुनै पनि प्रकारले अवमूल्यन गर्नुहुँदैन । यदि गरिन्छ भने मुलुकले आफ्नै ऐतिहासिक सम्पदाहरूको अवमूल्यन गरेसरह हुनेछ । राष्ट्रको अमूल्य निधिको जर्गेना गर्नु भनेको मुलुकको सान बढाउनुसरह हो ।

यदि सर्जकहरूको सम्मान यथोचित रूपमा हुन सकेन भने राष्ट्रले आफ्नो अमूल्य रत्न गुमाउनाका साथै कला संस्कृतिबाट हात धुनुपर्ने अवस्था सिर्जना हुन सक्छ । यसैले, यसको संरक्षणका खातिर भए पनि सर्जकलाई आत्मसम्मान मिल्ने गरी सम्मानित गरिराख्नु मुलुकको दायित्व हो भन्न सकिन्छ ।

स्रष्टाहरूको सम्बन्धमा कहिलेकाहीँ कस्तो परिस्थिति सिर्जना हुन्छ भने भौतिक शरीर जीवित भएसम्म अमूल्य विभूति सर्जक तथा साधक वर्गहरूको योगदानको त्यती कदर नभएको अवस्था देखिन्छ । यसको विपरीत मृत्युवरण गरेपश्चात् सम्मान दिने परिपाटी जबसम्म कायम रहन्छ, तबसम्म सर्जकले उचित सम्मान पाएको अनुभूति हुँदैन । वास्तवमा भन्ने हो भने विश्वका अधिकांश मुलुकमा सर्जकहरूको सम्मानबाट नै त्यहाँका आम–नागरिकहरूले आत्मगौरवको अनुभूति गर्नुका साथै सम्बन्धित राष्ट्रले समेत गौरवान्वित भएको महसुस गर्दछ । तर, नेपालको परिप्रेक्षमा हालसम्म यस प्रकारको परिस्थितिको त्यति राम्रो विकास हुन सकेको पाइँदैन ।

हुन त सिर्जनात्मक कृतिसँग प्रत्यक्ष रूपमा सरोकार राख्नेहरूको विशेष हेक्का राख्ने उद्देश्यले यस्ता समूहको विकास तथा विस्तार गर्न मुलुकले प्रयासै नगरेको पनि होइन, तर आजको आवश्यकताअनुसार बृहत्तर रूपमा स्रष्टाहरूको हितको लागि आवश्यक कदम चाल्न वाञ्छनीय देखिन्छ । यदि मुलुकमा यस प्रकारको वातावरण तयार गर्न सकिएन भने निश्चित रूपमा स्रष्टावर्गलाई अन्याय पर्न जानेछ ।

स्रष्टाको योगदानअनुसार उचित मूल्याकंन गर्दै सोही आधारमा निर्धारित मापदण्डसमेत तयार गरेर गरिने सम्मानले मात्र मुलुकका अमूल्य रत्न ती सर्जकहरूलाई वास्तविक संरक्षण गरिएको अनुभूति दिन्छ । राज्यद्वारा गरिने यस्ता कार्यहरूले सिर्जनात्मक गतिविधिहरूमा थप निखार आई राष्ट्रको समेत मान–प्रतिष्ठा बढ्न जाने कुरामा दुईमत हुन सक्दैन । तसर्थ, सेवा सहयोगका लागि सदैव जागरुक हुने वातावरण तयार पार्न सम्बन्धित निकायलाई सधैँ नै घचघच्याउनुपर्ने हुन्छ । अमूल्य निधिहरूको संरक्षण गर्ने कार्यमा राज्यपक्षले कहिल्यै कन्जुस्याइँ नगर्ने नीति अवलम्बन गर्नु नै वास्तविक रूपमा स्रष्टाप्रति सम्मान गर्नु हो ।

[email protected]

प्रतिक्रिया