समृद्धिमा राजनीतिक भ्रष्टाचार बाधक ।

 अर्थनीतिद्वारा निर्देशित राजनीतिक गन्तव्यले सम्बन्धित मुलुकको भविष्य निर्धारण गर्नेछ । प्रस्तुत अवस्था पश्चात् प्राप्त हुन आउने नतिजाको सही मूल्याकंनको आधारमा सम्बद्ध राष्ट्र सफल वा असफल के हो भन्न सकिने अवस्था प्रार्दुभाव हुनेछ । राजनीतिमा होमीने समूहलाई निश्चित् रूपमा अर्थको आवश्यकता पर्ने देखिन्छ ।

किनकि, अर्थनीति र राजनीतिबीचको सह–सम्बन्धको विकासबाट प्राप्त हुने प्रतिफल आर्थिक समृद्धिको आधारभूमिसमेत हो । लोकतन्त्रको आत्मा भनेको सफल निर्वाचन पद्धति नै हो । यस पद्धतीय व्यवहारलाई आत्मसाथ गर्दै सम्बद्ध मुलुकको शासकीय सत्तामा पुग्न सफल रहने लोकतान्त्रिक समूहले जनविश्वासमाथि कुठाराघात गर्दै निर्वाचनको समयमा प्रकट गरिएको द्विविधायुक्त चारित्रिक विशेषतालाई मूलरूपमा राजनीतिक भ्रष्टाचारको सूत्रधार मान्न सकिनेछ ।

नागरिक राज्यबीच जनमतको अभिमतद्वारा निर्देशित प्राप्त भएको शक्तिको उन्मादले लोकतान्त्रिक समूहको नैतिक इमानदारीको प्रश्नमा अपवादबाहेक अन्य अवस्थामा गतिरोध उत्पन्न भएकै कारण सम्बद्ध राजनीतिक समूहले अनैतिकता, आर्थिक अपराध एवं समाज विरोधी अन्य तत्वलाई प्रोत्साहन दिने प्रयत्न गर्छन् भने त्यहाँ निश्चित् रूपमा राजनीतिक भ्रष्टाचारको गन्ध आउनेछ । जसका कारण जनविश्वासमा तुषारापात हुनेछ ।

यो हुनु भनेको जनघाती कार्य हुनुका साथै राजनीतिक वेइमानीसमेत हो । प्रस्तुतः तथ्यको सन्दर्भमा लोकतान्त्रिक समूहलाई प्रस्ट ज्ञात रहँदा रहँदै पनि आफ्नो समूहको लाभहानीको खातिर उक्त कार्य गर्न हौसिने प्रवृतिको विकासले मुलुकमा चरम राजनीतिक भ्रष्टाचारको जन्म हुनेछ । नेपालको राजनीतिक भ्रष्टाचारको ऐतिहासिक पृष्ठभूमिलाई नियालेर हेर्ने हो भने निश्चित् रूपमा प्रस्तुत विषयले उच्च प्राथमिकता हासिल गरेको देखिन्छ ।

यसै तथ्यगत विशेषताले गर्दा मुलुकको राजनीतिक क्षेत्रमा भ्रष्टाचारले शून्यता हासिल गर्न नसकेको हो । जसबाट मुलुक एवं नागरिक समाजप्रति कर्तव्य पथमा लिन रहने कसम खाँदै राज्य सञ्चालनको प्रमुख अभिभारा बोकेका समूहमा नैतिक गरिमाको क्षेत्रमा प्रश्न चिन्ह लाग्न गई परिणाम यती भनायक हुन्छ कि, नागरिक समाजले निश्चित् रूपमा विद्रोही स्वभाव देखाउने चेष्टा गर्नेछन् ।

नेपालको परिपेक्षमा तारन्तर जनमतले असन्तुष्ट भई क्रान्तिगत व्यवहारको प्रदर्शन गर्नुको प्रमुख कारक तत्वको रूपमा राजनीतिक भ्रष्टाचार एवं आर्थिक विकासको मन्द गतिलाई लिन सकिन्छ । राजनीतिक क्षेत्रमा कायम रहेको भ्रष्टाचारजन्य अपराधलाई वास्तवमै न्यूनीकरण गर्ने हो भने त्यसका लागि निःसन्देह स्थायी सरकारको आवश्यकता पर्ने विश्वव्यापी प्रचलित मान्यता हो ।

तर, नेपालमा राजनीतिक चेतनाको शून्यता रहेको समाजमा स्थायी सरकारको उपस्थितिले मात्रै पूर्ण रूपमा जनविश्वासी कार्य गर्दै राजनीतिको क्षेत्रमा कायम रहेको भ्रष्टाचारलाई अन्त्य गर्न सक्षम रहन्छ भन्ने कुराको प्रत्याभूति कायम गर्न गाह्रो पर्नेछ । किनकि, स्थायी सरकारको आगमनले मात्र राजनीतिक भ्रष्टाचार पूर्ण रूपमा शून्यतामा झार्छ भन्न सकिने प्रस्ट आधार कहीँ कतै भेटिँदैन ।

यस कुराको पूर्ण निक्र्योल त्यती वेलागर्न सकिन्छ, जुन वेला सम्पूर्ण जनप्रतिनिधिहरू खरो रूपमा राजनीतिक भ्रष्टाचारको विपक्षमा खडाभई जनउत्तरदायी कार्य गर्नमा उन्मुख रहने व्यवहारहरू प्रस्तुत गर्नेछन् । यसको विपरीत सत्तासिन राजनीतिक समूहको व्यवहारमा नकारात्मक ऊर्जा प्रवाहका कारण जनउत्तरदायी रहनुपर्ने अवस्थामा पनि ऋणात्मक व्यवहारहरू सतहमा देखापर्छ भने त्यहाँ भ्रष्टाचारको जन्म हुने प्रवल सम्भावना रहन्छ ।

किनकि, जनपहरेदारको अभावमा राजनीतिक समूह अनुशासनहीन बन्न गई आपराधिक मनोवृत्तिको अत्यधिक बाहुल्यता कायम रहने छ भन्दा त्यती फरक नपर्ला । भ्रष्टाचार गर्ने नियतवश नेपाललगायत समस्त दक्षिण एसिया जहाँ जनचेतनाको अभाव एवं असान्दर्भिक राजनीतिक मोहको कारण वेला वखतमा मुलुकको प्रशासनयन्त्रमा समेत प्रभाव पार्ने कुचेष्टा गरिन्छ ।

आर्थिक एवं सामाजिक अपराधलाई सहजै दबाउने उद्देश्य प्रेरित समूहले गैह्रकानुनी रूपमा मुलुकको सुरक्षा तथा प्रशासनयन्त्रलाई आफू अनुकूलको प्रयोग गर्ने व्यवहार अन्ततः राजनीतिक भ्रष्टाचारको प्रमुख कारक तत्व हुन् ।  यस प्रकारको अनैतिक क्रियाकलापले समाजमा अत्यधिक जनविश्वासभन्दा पनि दलीय हैसियतले प्राथमिकता प्राप्त गरेजस्तो देखिने भएको हुँदा भ्रष्टाचारजन्य अपराधलाई मौलाउन थप मद्दत मिल्नेछ ।

प्रस्तुत अव्यवहारिक अवस्था त्यो वेलासम्म जीवन्त रहन्छ, जब राजनीतिकको क्षेत्रमा भ्रष्टाचारको व्यापकता कायमै रहन्छ । प्रस्तुत नकारात्मक ऊर्जाको दूरगामी प्रभावका कारण मुलुकको भविष्यसमेत भ्रष्टाचारको दलदलमा फस्न गई जनविश्वास गुमाउनुपर्ने बाध्यकारी अवस्था सिर्जना हुनेछ । यस अवस्था पश्चात् नागरिक र राज्यबीचको सह–सम्बन्धमा नकारात्मक प्रभावपरी समस्या समाधानमा सहजताभन्दा व्यवधान चुलिने प्रवल सम्भावना रहन्छ ।

जसले सम्बद्ध राजनीतिक समूहको भावी निर्वाचनजन्य गतिविधिमा ऋणात्मक प्रभाव पार्ने निश्चित छ । यस देखिनबाहेक मुलुकको बृहत्तर हितभन्दा पनि राजनीतिक संरक्षकत्वबाट प्राप्त हुने लाभहानि अत्यधिक हुन्छ भन्ने विकृत मनस्थितिको प्रभाव स्वरूप व्यक्तिगत स्वार्थ हाबी भई इमानदार रहनुपर्ने प्रशासन र सुरक्षायन्त्रको ध्यान अनेत्र मोडिन गई विकासका लागि लिइएको लक्ष्यमा राजनीतिक भ्रष्टाचारजन्य कुप्रभाव स्वरूप बिलम्ब उत्पन्न भई मुलुकको विकासमा समेत अवरोध सिर्जना हुनेछ ।

शून्य सहनशीलतामा रहनुपर्ने राजनीतिक क्षेत्रको भ्रष्टाचारले अत्यधिकता प्राप्त गर्ने अवस्था तयार भए मुलुकले हासिल गर्ने भनिएको १० वर्षे आर्थिक समृद्धिको यात्रामा समेत वाधा आउने निश्चित् छ । राजनीतिक संरक्षणको बलमा कुनै पनि आयोजना, परियोजनाको लागत खर्च रकम बढाएरै भए पनि आफू समर्पित राजनीतिक समूहलाई मुलुकको शासन सत्तामा यथास्थितिमा राख्ने प्रयत्न गरिने भएको हुँदा विकृतिले पराकाष्टा निम्ताउन सक्ने अवस्था कायमै रहन्छ ।

यसका अतिरिक्त गरिबी, वेरोजगारी एवं राजनीतिक भ्रष्टाचारको अत्यधिक प्रभावको कारण मानव सहायता वितरण गर्ने कार्यमा समेत आघात उत्पन्न भई राज्य पक्षबाट सहज रूपमा प्राप्त हुनुपर्ने आधारभूत आवश्यकता प्राप्तिमा शून्यता छाउने छ । नागरिक र राज्यकोबीचमा कायम रहदै आएको अन्योन्यास्रित सह–सम्बन्धको विकासमा व्यवधान उत्पन्न भई दुवै पक्षमा अविश्वासको दूरी बढ्नेछ जानेछ ।

जसले राजनीतिक भ्रष्टाचारलाई वृद्धि गर्न सहयात्रीको भूमिका निभाउने छ, किनकि यस अवस्थामा नागरिक खबरदारीको पूर्ण अभाव रहन्छ ।कानुनी रूपमा प्राप्त हुन आउने छिद्रलाई राजनीतिक प्रभावमा आफू अनुुकूलको द्विविधायुक्त व्याख्या गर्ने परिपाटीको विकासले मूलतः भ्रष्टाचारलाई संरक्षकत्व प्रदान गर्ने कार्यमा दक्षता अभिबृद्धि हुनेछ ।

तसर्थः सम्पूर्ण न्यायप्रेमी जनतालगायत राजनीतिक कर्मीहरूले कुनै पनि हालतमा भ्रष्टाचारको सन्दर्भमा आउने मुद्दालाई राजनीतिक संरक्षण प्रदान गरिने छैन भन्ने प्रतिबद्धता सहितको कार्यगत एकताले नै भ्रष्टाचारजन्य व्यवहारलाई तहगत आधारमा न्यूनीकरण गर्न सघाउ पु¥याउने देखिन्छ ।

अतः राजनीतिक सहनसिलताको जगमा आर्थिक अपराधका दरहरूलाई क्रमशः न्यूनीकरण गर्नु आजको आवश्यकता हो । जसको लागि सर्वपक्षीय साझा प्रयासको साचो अर्थमा खाँचो रहन्छ । जसको पूर्ण कार्यान्वयन पश्चात् राजनीतिको क्षेत्रमा विद्यमान अवस्थामा कायम रहेको भ्रष्टाचारको तगाराहरू बिस्तारै हट्न गई सुशासनको सुखानुभूति नागरिक समाजले गर्न सक्षम रहनेछ ।

प्रतिक्रिया